प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ३ मा चार पक्षीय प्रतिस्पर्धा

177 Shares

मुलुकका शीर्षस्त नेताहरु आएर चुनावी मैदानमा होमिएको सर्लाहीमा यो पटक प्रत्येक निर्वाचन क्षेत्रको मतपरिणाम बारे निकै चासो व्यक्त भइरहेको छ।सर्लाही क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहितका नेताहरु फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छन् ।सर्लाही क्षेत्र नम्बर ३ मा श्रेष्ठसँग पूर्व रक्षामन्त्री एवम नेकपा(एमाले)का नेता तथा निवर्तमान प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेती,नेपाली कांग्रेसका पुराना नेता विनोद कुमार खनाल सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार चुनावी मैदानको चर्चामा छन् ।
विभिन्न पार्टीहरु र स्वतन्त्र गरी ३४ जना उम्मेदवार चुनावी मैदानमा रहेको सर्लाही क्षेत्र नम्बर ३ मा यस अघि २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेका उप्रेती र  तत्कालीन नेकपा(माओवादी केन्द्र)का नेता हालका रास्वपाका नेता साह भिडेका थिए भने यस पटक नेकपाका श्रेष्ठ र कांग्रेसका खनाल पनि थपिएका छन् ।
एमालेका उप्रेतीसंग भिड्दा उप्रेतीले ३२ हजार नौ सय ३८ मतसहित निर्वाचित हुँदा साहले ३२ हजार एक सय ६८ मत प्राप्त गरि पराजित भएका थिए।तीन वर्षअघि माओवादी केन्द्रबाट चुनाव लड्दा सात सय ७० मतले पराजित भएका साह यो पटक रास्वपाबाट टिकट लिएर प्रधिस्पर्धामा छन्।त्यसअघि २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट तत्कालिन माओवादी केन्द्रका रामेश्व राय यादव २२ हजार तीन सय ६७ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हरेश प्रसाद महतोले १४ हजार नौ सय २९ मत प्राप्त गरेका थिए ।
अहिले रास्वपाबाट उम्मेदवार रहेका साहले २०७४ मा सर्लाही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिँदा पनि १२ हजार ८६ मत प्राप्त गरेका थिए।२०७४ मा यस क्षेत्रबाट निर्वाचित रामेश्वर राय यादव भने यो पटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले टिकट नै नदिएपछि पार्टी परित्याग गरेका छन् ।
नेकपाले नेता श्रेष्ठलाई टिकट दिएर सर्लाही ल्याएपछि यादव भने जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गरेर सर्लाही क्षेत्र नम्बर ४ मा गएर नेपाली कांग्रेसका सभापति गगन कुमार थापा,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का डा.अमरेश कुमार सिंहलगायतसँग प्रतिस्पर्धामा उत्रिएका छन् । 
पहाडे र मधेशी समुदायको मिश्रित बसोवास रहेको सर्लाही क्षेत्र नम्बर ३ मा यो पटक नेकपा, कांग्रेस,रास्वपा र एमालेबिच चारपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।गोरखा छाडेर सर्लाही आएका नेकपाका नेता श्रेष्ठले आफू लामो समयदेखि मिटरब्याज पीडित र उखु किसान लगायतको पक्षमा लागेकाले आफूलाई मतदाताले पत्याउने विश्वासका साथमा चुनावी मैदानमा छन्।“म गृहमन्त्री हुँदा मिटरब्याजी साहु (सुदखोर) को विरुद्धमा र पीडितको पक्षमा कडा रुपमा लागेकाले सर्लाही क्षेत्र नम्बर ३ का नागरिकले मलाई अनफ्नो प्रतिनिधि हुन बोलाएकाले गोरखा छाडेर सर्लाही आएको हुँ।”नेकपाका नेता श्रेष्ठले बताएका छन् ।
अघिल्लो पटक झिनो मतान्तरले पराजित भएका रास्वपाका उम्मेदवार साहले पनि सर्लाही क्षेत्र नम्बर ३ मा आफूले प्रतिनिधि नहुँदा नै समाजसेवाको काम गरेकाले मतदाताले पत्याउने भन्दे चुनावी मैदानमा छन्।यसअघि थोरै मतले पराजित भए पनि यो पटक देश नै रास्वपामय भएको दावी गदै साहले आफू निर्वाचित हुनेमा विश्वास्त रहेको बताए ।तर तीन पटक सोही क्षेत्रबाट चुनावी मैदानमा होमिएका साह तीनै पटक फरक फरक चुनाव चिन्हबाट चुनावी मैदानमा होमिदा मतदाताले विश्वा गर्ने ठाउँ छैन् ।
निवर्तमान प्रतिनिधि सभा सदस्य एवम एमालेका उम्मेदवार उप्रेतीले मतदाताले बाहिरी र धनीलाई भन्दा पनि दुःखमा सेवा गर्ने प्रतिनिधि छान्ने विश्वास गर्ने दाउमा छन् ।आफूले तीन वर्षसम्म प्रतिनिधि हुँदा सर्लाही क्षेत्र नम्बर ३ को विकासका लागि गरेको पहल र भएका विकास नै पुनःनिर्वाचित गराउन पर्याप्त रहेको उप्रेतीको तर्क छ।तर सर्लाही क्षेत्र नम्बर ३ का मतदाताले उप्रेतीलाई मत हालेर जिताएर पठाएपछि आफु रक्षा मन्त्री बन्नु बाहेक अरु केही परिवर्तन नभएको बताउँदै आएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार खनालले आफू कुनै पदमा नहुँदा पनि वर्षौसम्म सर्लाही क्षेत्र नम्बर ३ मा पुल निर्माण,विद्युतीकरण र सिँचाई लगायत क्षेत्रमा गरेको काम देखेर मतदाताले पत्याउने दाबी गर्दे आएका छन्।तर उनलाई नेपाली कांग्रेस भन्दा व्यक्तिगत पहिचानका कारण मत पाउने सम्भावना छ।तीन दशक राजनीतिक यात्रामामा म कुनै पनि पदमा नरहँदा र प्रतिनिधि नहुँदा पनि पुल,बाटोघाटो,बिजुली र सिँचाईका लागि पहल गरेको खनालले दाबी गरे ।
बागमती नगरपालिका १२ वटै,हरिवन नगरपालिका ११ वटै,चक्रघट्टा गाउँपालिका नौ वटै, बरहथवा नगरपालिकाको ५,६,७,८,९,१०,११,१२,१६,१७ र १८,हरिपुर नगरपालिका १,कविलासी नगरपालिका ३,४,५ र ६ तथा बसबरिया गाउँपालिका ४,५ र ६ गरी कूल ५१ वटा वडा रहेको सर्लाही क्षेत्र नम्बर ३ मा एक लाख ३४ हजार चार सय १२ मतदाता छन् । २०७९ को स्थानीय तह निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ का यी ५१ वडामध्ये सबैभन्दा धेरै तत्कालिन माओवादी केन्द्रले १४,कांग्रेसले १३,एमालेले ११,जनता समाजवादी पार्टी (जसपा) नेपालले १०, तत्कालिन नेपाली कम्युनिष्ट पार्टीले दुई र बहुजन एकता पार्टी नेपालले एउटा वडामा चुनाव जितेका थिए ।

सम्बन्धित समाचार