आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गराउने उद्देश्यले सर्लाहीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।यसका लागि शुक्रबारदेखि एक हप्तासम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको जिल्लास्तरिय सुरक्षा समितिका संयोजक एवम सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले मिति २०८२ फागुन १५ गते शुक्रबारदेखि २२ गतेसम्म भारतीय नम्बर प्लेटका दुई पाङ्ग्रे्रे र चार पाङ्ग्रे्रे सवारी साधन सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो।
निर्णय उल्लंघन गरी सवारी साधन सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिने प्रमुख जिल्ला अधिकारी कडरियाले बताए।उनका अनुसार नेपाल भारत खुल्ला सीमाना रहेका कारण पनि सर्लाही सहित मधेश प्रदेशका जिल्लाहरुमा भारतीय नम्बर प्लेटका मोटरसाइकल र चार पाङ्ग्रे्रे सवारी साधनहरुको प्रयोग उल्लेख्य रहेको भन्दै निर्वाचन सुरक्षामा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो ।
बैठकले निर्वाचन आचार संहिता,२०८२ जिल्लास्थित सबै राष्ट्रसेवक र राजनीतिक दलले इमान्दारिताका साथ पालना गर्ने निर्णय गरेको छ।साथै,निर्वाचनलाई स्वच्छ,निष्पक्ष,पारदर्शी तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दलले प्रशासनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका जिल्लास्तरिय सुरक्षा समितिले जनाएको छ ।
त्यसैगरी चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन रहेको सर्लाहीको क्षेत्र नं. ४ अन्तर्गत पर्ने बलरा नगरपालिका १ स्थित कृषि सेड मिर्जा हथिऔल मतदान केन्द्रमा सुरक्षित भौतिक पूर्वाधारको अभाव देखिएकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले स्थानीय जनप्रतिनिधिहरु सहित सरोकारवालासँग छलफल गरी आवश्यक निर्णय गर्ने सहमति भएको छ।जिल्लास्तरिय सुरक्षा समितिको निर्णयलाई स्वीकार गर्दै सर्लाही भन्सार कार्यालयले शुक्रबार देखि भन्सार कार्यालयका बाह्य काम कार्बाही समेत बन्द गर्ने सूचना जारी गरेको छ ।