सर्लाहीका ९४ जना उम्मेदवारहरुले खोले छुट्टै बैंक खाता

178 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले बैंक खाता खोल्न अटेर गरेका पाईएको छ।अनिवार्य रुपमा छुट्टै बैंक खाता खोल्नका लागि उम्मेदवारहरुलाई निर्वाचन आयोगले आग्रह गरेपनि सर्लाहीका एक सय ३१ जना मध्ये ९४ जना उम्मेदवारहरुले मात्रै खाता खोलेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
सर्लाहीको क्षेत्र नम्बर १ का २८ जना मध्ये २१ जना उम्मेदवारले खाता खोल्दा सात जना उम्मेदवारले खाता नै खोलेका छैनन्।क्षेत्र नम्बर २ का ३१ जना उम्मेदवारहरु मध्ये २१ जनाले खाता खोल्दा १० जनाले खाता नखोलेका हुन।क्षेत्र नम्बर ३ का ३४ जना उम्मेदवारहरु मध्य २८ जनाले खाता खोल्दा छ जनाले खाता नखोलेका र क्षेत्र नम्बर ४ का ३८ जना उम्मेदवारहरु मध्ये २४ जनाले खाता खोल्दा १४ जना उम्मेदवारहरुले खाता नखोलेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
सर्लाहीका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा विभिन्न २६ राजनैतिक दलका र स्वतन्त्र गरी एक सय ३१ जनाको उम्मेदवारी रहेको छ।एक सय ३१ जना उम्मेदवारहरु मध्ये सोमबार सम्म ९४ जना उम्मेदवारहरुले छुट्टै बैंक खाता खोलेको विवरण पेश गरेका जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिए।उनका अनुसार अझै ३७ जना उम्मेदवारहरुले छुट्टै बैंक खाता खोलेका छैनन् ।
प्रत्येक उम्मेदवारहरुलाई बैंक खाता खोल्नका लागि फोनमार्फत पटक पटक ताकेता गरिएको कोष तथा लेखा नियन्त्रक पदम् पौडेलले जानकारी दिए।उनका अनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राजनीतिक दल तथा उम्मेदवारहरूले प्रचार प्रसारका लागि आवश्यक रकम अनिवार्य रूपमा छुट्टै बैंक खातामार्फत जम्मा र खर्च गर्न निर्देशन दिएको छ ।

सम्बन्धित समाचार