राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम सर्लाही क्षेत्र नम्बर ३ बाट फागनु २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ। कर्जा सूचना केन्द्रको विवरण अनुसार कलवारलाई पछिल्लो पटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो।जुन अहिलेसम्म कायमै रहेको देखिन्छ।निर्माण व्यवसायमा सम्बद्ध उनीमाथि ठेक्का लिएका विभिन्न आयोजना अलपत्र पारेको आरोप समेत लागेकोे छ ।
यसअघिको निर्वाचनमा नेकपा(माओवादी केन्द्र)बाट उम्मेदवार रहेका उनी नेकपा(एमाले)का हरि प्रसाद उप्रेतीसँग झिनो मतान्तरले पराजित भएका थिए।अहिले उनले रास्वपाबाट उम्मेदवारी दिएका छन् । यता,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाही जिल्ला समितिले आफ्ना उम्मेदवार कलवारको विषयमा केही सञ्चार गृहहरुले भ्रामक समाचार प्रकाशन गरेका भन्दै खण्डन गरेको छ ।सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार कलवारलाई कालोसूचीमा राखिएको भन्दै केही सञ्चार गृहहरुले भ्रामक समाचार प्रकाशन गरेका प्रति गम्भीर ध्यानाकर्षण भएको रास्वपा सर्लाही जिल्ला समितिले जनाएको हो ।
सर्लाही क्षेत्र नम्बर ३ का रास्वपा उम्मेदवार कलवार कालो सूचीमा शीर्षकमा प्रकाशित समाचार भ्रामक र तथ्यहीन भएको रास्वपाले दाबी गरेको छ। “रास्वपाको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ को प्रत्यक्ष तर्फका उम्मेदवार कलवारले आफ्नो मनोनयन दर्ता गरेको दिन २०८२ माघ ६ गते नै कर्जा सूचना केन्द्र लिमिटेडले पत्र संख्या ५८७/०८२/०८३ मार्फत उनी कालोसूचीमा नरहेको जानकारी गराएको थियो।तर,केही सञ्चार गृहहरुले २०८१ भदौ ५ गते नै उम्मेदवार कलवारलाई कालोसूचीमा राखिएको भन्दै समाचार प्रकाशन गरेको र सो सामाग्री झुठो रहेको हो।”विज्ञप्तीमा भनिएको छ ।
निर्वाचनको पूर्व सन्ध्यामा आएको यस्तो भ्रामक समाचारको रास्वपा सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ समिति र जिल्ला कार्य समितिले घोर भत्सर्ना गरेको छ।पार्टीले सम्बन्धित भ्रामक समाचार प्रकाशन गर्ने सञ्चार गृहलाई उक्त समाचार यथाशीघ्र सच्याउन राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाही क्षेत्र नं. ३ का सभापती रत्न प्रसाद भट्टराई र जिल्ला सभापती सरोज बानियाँले हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तीमा अनुरोध गरिएको छ।साथै,रास्वपाले क्षेत्रवासी मतदाताहरू र सर्वसाधारणलाई यस्ता भ्रामक समाचारको पछि नलाग्न समेत आग्रह गरेको छ।
कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दिएका रास्वपाका नेता किशोरी साह(कमल)को उम्मेदवारी खारेज भएको बेला कलवार पनि सोही सूचीमा पर्दा रास्वपामा सन्नाटा छाएको छ।अधिकांश उम्मेदवाहरु दागी छानेको रास्वपा निर्वाचनको पूर्व सन्ध्यामा आफ्ना उम्मेदवाहरु धमाधम विवादमा आउँदा छटपटिएकोे हो ।