बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । सर्लाहीका चार वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुको निर्वाचनको तयारी पुरा भएको जिल्ल निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।जिल्लाभरका छ सय १२ वटै मतदान केन्द्रमा बुथ बनाउने सहित बिहीबार हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीमा तीन सय १२ मतदानस्थल र छ सय २८ मतदान केन्द्र कायम गरिएको छ।निर्वाचन गराउन जिल्लाभर तीन हजार सात सय ६८ कर्मचारी परिचालन भएका छन्।निर्वाचनका लागि जिल्लाभरको सुरक्षा व्यवस्था समेत कडा पारिएको जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए।उनका अनुसार निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भयरहीत र शान्तिपूर्णरुपमा सम्पन्न गर्न जिल्लाभर नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।
निर्वाचनलाई लक्षित गरी प्रत्येक पालिकामा सादा पोसाकमा समेत व्यापक संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीले जनाएको छ।बुधबार दिउँसो मतपत्रसमेत पुगेसँगै प्रत्येक मतदान केन्द्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
शान्ति,सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मतदानमा सहभागी जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी कडरियाले अनुरोध गरे।“सबै मतदान केन्द्रहरुमा सुरक्षा व्यवस्था चुस्त पारेका छौँ,“हामी आम मतदातालाई कुनै डर,त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आग्रह गछौँ।”जिल्ला सुरक्षा समिति सर्लाहीका संयोजक एवम प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।
प्रतिनिधि सभा सदस्य चयन गर्न बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ।मतदान सकिएपछि मतगणना गर्न सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणना स्थलसमेत तयार पारिसकिएको छ ।सर्लाहीका चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई लाख ७८ हजार आठ सय ३७ जना पुरुष,दुई लाख ३२ हजार सात सय ५८ महिला र अन्य ११ जनासहित पाँच लाख ११ हजार छ सय छ जना मतदाता रहेका छन् ।
नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी सहित कर्मचारी र कैदीबन्दीका लागि जिल्लाभर चारवटा अस्थायी मतदान केन्द्रसमेत तोकिएको छ । ३४ जना कैदीबन्दी सहित कर्मचारी,सेना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरेर छ हजार ८७ जनाले समानुपातिकतर्फ मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।