विशेष परिस्थितिमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका दुई जना उम्मेदवारले आफ्नो मत आफैँलाई हाल्न पाएनन्।गोरखाबाट सर्लाही क्षेत्र नम्बर ३ झरेका नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवम निवर्तमान गृह मन्त्री नारायण काजी श्रेष्ठ,काठमाण्डौँ छोडेर सर्लाही क्षेत्र नम्बर ४ झरेका नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफ्नो मत आफैँलाई हाल्न पाएनन् ।
नेपाली कांग्रेसका सभापति थापाले काठमाण्डौँमा मतदान गरेर बिहीबार दिउँसो मात्रै सर्लाही आई पुगे भने नेकपाका नेता श्रेष्ठ सर्लाही ३ मै व्यस्त रहे भने सर्लाही क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष महतोले सर्लाही क्षेत्र नं. १ स्थित चन्द्रनगर गाउँपालिका २ बबरगन्जमा रहेको दुर्गा खोभारी मा.विबाट मतदान गर ।
सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार तथा नेपाली कम्युनिष्ट पार्टीका नेता एवम पूर्व मन्त्री महेन्द्र राय यादव,सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पूर्व मन्त्री हरिप्रसाद उप्रेती,सर्लाही क्षेत्र नम्बर १ का उम्मेदवार तथा पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठलगायत अन्य उम्मेदवारले भने आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् ।
बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा ६२ दशमलव १२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतका कार्यालयहरुले बताएका छन् ।कार्यालयहरुका अनुसार यस अघिका हरेक निर्वाचनमा झै झगडा हुने सर्लाही क्षेत्र नम्बर ४ मा छिटपुटबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।
सर्लाहीको चारवटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रमा पाँच लाख ११ हजार छ सय छ जना मतदातामध्ये तीन लाख १७ हजार आठ सय ११ जना मतदाताहरुले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए।उनका अनुसार मतदान केन्द्रबाट निर्वाचन अधिकृतको कार्यालयहरुमा मतपेटिका ल्याईएको र सर्व दलिय छलफल गरेर मतगणना सुरु गरिने छ ।
एक÷दुई ठाउँमा सामान्य विवाद हुनु बाहेक जिल्लाभर शान्तपूर्वक रुपमा मतदान सम्पन्न भएको सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले बताए।सर्लाही क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका ४ जब्दीमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा दलका प्रतिनिधिबिच विवाद भएपछि केही समय मतदान रोकिएको थियो।त्यहाँ तत्कालै जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी रामुराज कडरियासहितको सुरक्षा अधिकारीको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि सामान्य ढंङ्गले मतदान कार्य सम्पन्न भएको छ ।
सर्लाही क्षेत्र नं. ४ कै बसबरिया गाउँपालिकास्थित जनता मावि भवानीपुर मतदान केन्द्रमा पनि बिहीबार बिहान दलका प्रतिनिधिबिच विवाद हुँदा केहीबेर मतदान रोकिन पुगेको थियो।क्षेत्र नं. ४ को जब्दी र भवानीपुरबाहेक जिल्लाभर रहेका छ सय २८ वटा मतदान केन्द्रमा कहिँकतै विवाद नभइ शान्तिपूर्वक रुपमा मतदान सम्पन्न भएको हो ।मतदान सम्पन्न भएसँगै चारवटै निर्वाचन क्षेत्रमा मतगणनाको तयारी अघि बढाइएको छ ।
सर्लाही क्षेत्र नं. १ को लालबन्दी १० चन्द्रपुरस्थित १० नं.वडा कार्यालय,क्षेत्र नं. २ को मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हल,क्षेत्र नं. ३ को हरिवनस्थित नापी कार्यालय हरिवन र क्षेत्र नं. ४ को गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैता बजारमा मतगणना हुने छ ।