नदीजन्य पदार्थमा अनियमितता भए पालिका जिम्मेवार रहने प्रमुख जिल्ला अधिकारी कडरियाको भनाई

198 Shares

नदीजन्य पदार्थको ठेक्का लगाउने स्थानीय तहहरुलाई उत्खन्न कार्यमा कडाइका साथ अनुगमन र नियमन गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले ध्यानाकर्षण गराएको छ।सर्लाहीका २० वटै पालिकालाई पत्र पठाउँदै नदीजन्य पदार्थमा अनियमितता भए पालिका नै जिम्मेवार हुने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।
उनका अनुसार पालिकाहरूले आफ्नो क्षेत्राधिकारभित्र रहेका नदीजन्य पदार्थको उत्खन्न कार्य मापदण्ड विपरीत गरिरहेको,त्यस्तो उत्खन्नबाट भू–क्षय,बाढी,पहिरो,पुल भासिने,मानवीय क्षति पुग्ने तथा वातावरणमा नकारात्मक असर पर्ने विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएको र जनगुनासो समेत प्राप्त भएको प्रति जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।
प्रमुख जिल्ला अधिकारी कडरियाले सर्लाहीका सबै पालिकालाई पठाएको पत्रमा नदीजन्य पदार्थको व्यवस्थापन पालिकाबाट हुने भएकाले जिम्मेवार निकाय पनि पालिका नै हुने उल्लेख गरेका छन्।नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानमा नियमित अनुगमन गरी अनियमितता भए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउन प्रमुख जिल्ला अधिकारी कडरियाले जारी गरेको पत्रमा उल्लेख गरिएको छ।
नदीजन्य पदार्थको उत्खन्न,संकलन,बिक्री–वितरणमा अनियमितता भए त्यस्तो सम्झौता गरी अनुमति दिने पदाधिकारी स्वयं जिम्मेवार हुने प्रमुख जिल्ला अधिकारी कडरियाले बताए ।यस्ता अनियमितता रोक्न तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायबाट आवश्यक सहयोग तथा समन्वय रहने पनि उनले बताए ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,सचिव तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई समेत बोधार्थ पठाई सर्लाहीका सबै पालिकालाई पत्र पठाईएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।
तर मापदण्ड विपरित रहेका सर्लाहीका नदीजन्य पदार्थहरुको उत्खन्न र नदीजन्य तथा खानीजन्य उद्योगहरुबाट मापदण्ड विपरित उत्खन्न भई राखेको छ।सर्लाहीका कुनैपनि नदीहरुमा मापदण्ड विपरित उत्खन्नका साथै  नदी तथा खानीजन्य उद्योगहरुले“ढुङ्गा,गिट्टी,बालुवा उत्खन्न तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७”विपरित सञ्चालित रहेका भएपनि सरोकारवाला निकाय मौन बसेको स्रोतको आरोप छ ।

सम्बन्धित समाचार