सर्लाही क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरु विजयी भएका छन्। सर्लाही क्षेत्र नम्बर १ मा रास्वपाकी नित्तिमा कार्की(भण्डारी)भारी मतान्तरले विजयी हुँदा सर्लाही क्षेत्र नम्बर २ मा रास्वपाका रविन महत्तो पनि भारी मतान्तरले विजयी भएका छन् ।
पुराना दलहरुको दम्भका कारण हैरान भएका नेपाली जनताले पछिल्लो समय रास्वपालाई छान्दा सर्लाही क्षेत्र नम्बर १ मा रास्वपाकी नित्तिमा ४४ हजार एक सय ८१ मत प्राप्त गर्दै विजयी हुँदा सोही क्षेत्रबाट २०६९ सालमा नेकपा(एमाले)का झलनाथ खनाललाई पराजीत गर्दै निर्वाचित भएका नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार आठ सय ७१ मत ल्याएका छन् ।नेकपा(एमाले)का नेता मनोजकुमार देवकोटाले छ हजार एक सय एक मत ल्याउँदा टिकट नपाउँदा पार्टी फेर्दै हिड्ने नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता प्रमोद साहले पाँच हजार चार सय ९८ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी(जसपा) नेपालका राम प्रकाश चौधरीले तीन हजार नौ सय ९१ मत प्राप्त गरेका छन् ।रास्वपाकी नित्तिमा ३६ हजार तीन सय १० मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा
सोही क्षेत्रबाट निर्वाचित भएका तीन जना निवर्तमान सांसदहरु कांग्रेसका श्रेष्ठ,नेकपाका साह र जसपाका चौधरी यस पटक अनुहार देखाउनै नसक्ने गरी पराजीत भएका छन् । ४९ वटा वडा रहेको सर्लाही क्षेत्र नम्बर १ मा २८ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।एक लाख ३० हजार आठ सय ७१ मतदाता रहेकामा ७९ हजार चार सय छ जनाले मतदान गरेका थिए ।
त्यसैगरी,सर्लाही क्षेत्र नम्बर २ मा रास्वपाका महतोले ४२ हजार पाच सय १२ मत प्राप्त गर्दै जित निकाल्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का महिन्द्र राय यादवले आठ हजार पाच सय २३ मत मात्र पाएका छन्।नेकपाका यादव यसै निर्वाचन क्षेत्रका निवर्तमान सांसद समेत हुन् ।
त्यस्तै नेपाली कांग्रेस सर्लाहीका सभापति समेत रहेका डा.सरोज कुमार राय यादवले सात हजार ३९,राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष समेत रहेका राजेन्द्र महतोले पाँच हजार नौ सय ९२ र नेपाल संघीय समाजवादी पार्टीका रजी अहमद्ले दुई हजार दुई सय ८३ मत पाउँदा नेकपा(एमाले)का उम्मेदवार नागेश्वर साहले एक हजार छ सय ६३ मत प्राप्त गरेका छन् ।रास्वपाका महत्तोले ३४ हजार ८९ मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुँदा
सोही क्षेत्रबाट निर्वाचित भएका निवर्तमान सांसद नेकपाका यादव सहित अर्का निवर्तमान सांसद राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष समेत रहेका महतोले यस पटक अनुहार देखाउनै नसक्ने गरी पराजीत भएका छन्।४९ वटा वडा रहेको सर्लाही क्षेत्र नम्बर २ मा ३१ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए।एक लाख २५ हजार नौ सय ३५ जना मतदाता रहेकामा ७८ हजार दुई सय दुई जनाले मतदान गरेका थिए ।
त्यसैगरी सर्लाही क्षेत्र नम्बर ३ मा रास्वपाका नरेन्द्र साह कलवार र क्षेत्र नम्बर ४ मा रास्वपाकै डा.अमरेश कुमार सिंहले जारी मतगणनामा अग्रता कायम गरि राखेका निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएका छन् ।सर्लाही क्षेत्र नम्बर ३ मा नेकपाका नेता तथा निवर्तमान गृह मन्त्री नारायण काजी श्रेष्ठ सहित एमालेका नेता एवम नितर्वमान रक्षा मन्त्री हरि प्रसाद उप्रेती र क्षेत्र नम्बर ४ मा कांग्रेसका केन्द्रीय सभापति गगन कुमार थापा मैदानमा छन् ।