प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सर्लाही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ अत्यन्त लोकप्रिय मत प्राप्त गरेको छ।समानुपातिकतर्फको मतगणना सकेर सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार रास्वपाले सर्लाही क्षेत्र नम्बर १ बाट ४६ हजार चार सय ४१ मत प्राप्त गरेको हो।समानुपातिकमा रास्वपाले प्राप्त गरेको मत प्रत्यक्षतर्फ निर्वाचित पार्टीका उम्मेदवार नीतिमा कार्की(भण्डारी)ले प्राप्त गरेको मत भन्दा दुई हजार दुई सय ६० मतले बढी हो ।
सर्लाही क्षेत्र नम्बर १ मा कार्कीले ४४ हजार एक सय ८१ मत प्राप्त गर्दै निर्वाचित हुँदा सोही क्षेत्रबाट समानुपातिकतर्फ दोस्रो धेरै मत नेपाली कांग्रेसले प्राप्त गरेको छ ।कांग्रेसले यस क्षेत्रबाट समानुपातिकमा छ हजार तीन सय ६५ मत प्राप्त गरेको छ।जुन मत पार्टीका उम्मेदवार शम्भुलाल श्रेष्ठले प्राप्त गरेको भन्दा एक हजार पाँच सय छ मतले कम हो ।
समानुपातिकतर्फ सर्लाही क्षेत्र नम्बर १ मा नेकपा(एमाले)ले चार हजार छ सय २९ मत, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले चार हजार एक सय ९१ मत, कुलमान घिसिङको उज्यालो नेपाल पार्टीसँग सहकार्य गरेको बाँसुरी चुनाव चिन्ह भएको राष्ट्रिय परिवर्तन पार्टी नेपालले तीन हजार चार सय ७२ मत,जनता समाजवादी पार्टी(जसपा)नेपालले दुई हजार आठ सय ३२ मत,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक हजार दुई सय ३० मत,जनमत पार्टीले एक हजार ९० मत प्राप्त गरेका छन्।सर्लाही क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ ७९ हजार चार सय ९० मत खसेकोमा तीन हजार चार सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी,सर्लाही क्षेत्र नंम्बर २ को अन्तिम मत परिणाम अनुसार रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको छ।प्रत्यक्ष उम्मेदवार रविन महतोले प्राप्त गरेको मत भन्दा पाँच हजार एक सय ३७ ले बढी अर्थात ४७ हजार छ सय ४९ मत पाएको हो।ठूला दलहरु नेपाली कांग्रेस,नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा)लगायत अन्य केही पार्टीले भने प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा कम मत पाएका छन् ।
त्यस्तै दोस्रो स्थानमा नेपाली कांग्रेसले छ हजार ३६ मत पाएको छ।कांग्रेसका प्रत्यक्ष उम्मेदवार डा.सरोज कुमार राय यादवले सात हजार ३९ मत ल्याएका थिए।नेपाली कम्युनिष्ट पाट(नेकपा)ले पाँच हजार सात सय ९७ मतसहित तेस्रो स्थानमा छ। नेकपाका प्रत्यक्ष तर्फका उम्मेदवार महेन्द्र राय यादवले आठ हजार पाँच सय २३ मत प्राप्त गरेका थिए ।
चौथो स्थानमा एकल चुनाव चिन्ह जाँतोले चार हजार पाँच सय ७६ मत पाएको छ।राष्ट्रिय मुक्ति पार्टी नेपाल÷जनता समाजवादी पार्टी÷नागरिक उन्मुक्ति पार्टी,नेपाल मिलेर जाँतो चुनाव चिन्हमा प्रत्यक्ष उम्मेदवार राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले पाँच हजार नौ सय ९२ मत पाएका थिए ।
एकल चुनाव चिन्ह बसले तीन हजार चार सय ४१ मत ल्याएको छ।नेपाल संघीय समाजवादी पार्टी÷बहुजन एकता पार्टी नेपाल÷नेपाल जनजागृति पार्टी मिलेर बस छापका प्रत्यक्ष उम्मेद्वार रजी अहमद्ले दुई हजार दुई सय ८३ मत हाँसिल गरेका थिए ।नेपालका लागि नेपाली पार्टीले एक हजार नौ सय ६३ मत पाएको छ।उसको प्रत्यक्ष उम्मेदवार कृष्ण यादवले दुई हजार दुई सय २७ मत प्राप्त गरेका थिए ।
नेकपा(एमाले)ले एक हजार आठ सय सात मत सहित सातौं स्थानमा रहेको छ।एमालेका प्रत्यक्ष उम्मेदवार नागेश्वर साहले एक हजार चार सय ६३ मत ल्याएका थिए।मधेशवादी दलको रुपमा परिचित जनता समाजवादी पार्टी नेपालले एक हजार दुई सय नौ मत मात्र पाएको छ । उसको प्रत्यक्ष उम्मेदवार भरत चौधरीले पाँच सय १८ मत मात्र ल्याएका थिए ।
अर्को मधेशवादी दलको रुपमा २०७९ को निर्वाचनबाट उदाएको जनमत पार्टीले आठ सय ९२ मत मात्र पाएको छ।उसका प्रत्यक्ष उम्मेदवार विपीन कापरले सात सय ५६ मत पाएका थिए ।मधेशवादको नारा उरालेर २०६४ सालको संविधान सभा निर्वाचनबाट उदाएको जसपा नेपाल र २०७९ को निर्वाचनबाट उदाएको जनमतले “कोर”मधेश क्षेत्रबाट आठौं र नवौं स्थानमा मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चार सय आठ मत प्राप्त गरेको छ।उसको प्रत्यक्ष उम्मेदवार राजकिशोर राय यादवले एक सय ४३ मत ल्याएका थिए।यसै निर्वाचनमा पहिलो पटक सहभागि भएपनि चर्चामा रहेको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले ५३ मत पाएको छ भने कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले मत मागेको बाँसुरीमा २६ मत परेको छ।यस क्षेत्रबाट विभिन्न ५७ राजनैतिक दलले चार मत देखि ४७ हजार छ सय ४९ मत पाएका छन् ।
साथै,सर्लाही क्षेत्र नम्बर ३ मा रास्वपाले सबैभन्दा बढी मत प्राप्त गरेको छ।अन्तिम मत परिणाम अनुसार उसले ४८ हजार सात सय ६५ मत पाएको हो । निर्वाचन अघिका ठूला दलहरु नेपाली कांग्रेस,नेकपा(एमाले),नेपाली कम्युनिष्ट पार्टी(नेकपा)लगायत अन्य केही पार्टीले भने प्रत्यक्ष उम्मेदवारले पाएको भन्दा कम मत पाएका छन्।यसै निर्वाचनमा पहिलो पटक भाग लिएका उज्यालो नेपाल पार्टीका नेताहरुले मागेको बाँसुरी चिन्हमा उसको प्रत्यक्ष उम्मेद्वार भन्दा झण्डै दोब्बर बढी मत परेको छ।हर्क साम्पाङको श्रम संस्कृति पार्टीले तेहेरो अंकको मत पाएको छ ।
नेकपा र एमालेले क्रमशः दोस्रो र तेस्रो मत पाएका छन्।नेपाली कांग्रेसलाई उछिन्दै उज्यालो नेपाल पार्टीका उम्मेद्वारले मागेको बाँसुरी चिन्हमा चौथो बढी मत परेको छ ।यस क्षेत्रबाट विभिन्न ५७ राजनैतिक दलले पाँच मत देखि ४८ हजार सात सय ६५ मत पाएका छन्।समानुपातिकमा ८१ हजार नौ सय १६ मत खसेकामा ७९ हजार ९३ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ३ ले जनाएको छ ।
यता,सर्लाही क्षेत्र नम्बर ४ मा समानुपातिकतर्फ पनि रास्वपाले लोकप्रिय मत पाएको छ ।रास्वपाले यहाँ प्रत्यक्षतर्फबाट निर्वाचित आफ्ना सांसद डा.अमरेश कुमार सिंहले प्राप्त गरेको भन्दा समानुपातिकमा १० हजार बढी मत प्राप्त गरेको छ।यहाँबाट समानुपातिकमा रास्वपालाई ४५ हजार पाँच सय १६ मत परेको हो । जबकी प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सिंहलाई ३५ हजार छ सय ८८ मत प्राप्त भएको थियो ।
यहाँ नेपाली कांग्रेसले भने समानुपातिकतर्फ आफ्ना उम्मेदवार एवम पार्टी सभापति गगन कुमार थापाले प्राप्त गरेको भन्दा चार हजार कम मत प्राप्त गरेको छ।कांग्रेसले सर्लाही क्षेत्र नम्बर ४ बाट समानुपातिकमा १८ हजार ८१ मत प्राप्त गरेको छ।पार्टीका प्रत्यक्षतर्फका उम्मेदवार थापाले भने २२ हजार आठ सय ३१ मत प्राप्त गरेका थिए ।
सर्लाही क्षेत्र नम्बर ४ मा समानुपातिकतर्फ एमालेले पाँच हजार पाँच सय ३६,जनमत पार्टीले एक हजार पाँच सय ९० र नेकपाले एक हजार दुई सय १५ प्राप्त गरेको देखिन्छ । समानुपातिकतर्फ सर्लाही क्षेत्र नम्बर ४ मा ७८ हजार ८१ मत खसेकोमा ७५ हजार चार सय ६३ मत मात्र सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।