चालु सिजनमा सर्लाहीका तीन वटा चिनी मिलहरुले करिब ६० लाख क्विन्टल उखु क्रसिङ गरेका छन् ।सर्लाहीका तीन वटा उखु मिलहरुले क्रसिङ सिजन २०८२ मा ५८ लाख क्विन्टल भन्दा बढी उखु पेलेर क्रसिङ बन्द गरेका हुन् । देशभर मै समयमै किसानहरुलाई भुक्तानी गरेर राम्रो छवी बनाएको इन्दुशंकर चिनी उद्योग हरिवनले ३३ लाख क्विन्टल उखु क्रसिङ गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार सर्लाहीमा कुल१८ हजार हेक्टरमा उखु खेती हुने र धेरै चिनी उद्योगसमेत रहेको सर्लाहीमा तीनवटै चिनी मिलले यो वर्षका लागि उखु क्रसिङ बन्द गरेका छन् ।त्यस्तै,गोडैतास्थित रहेको महालक्ष्मी चिनी उद्योग बगदहले १६ लाख दुई हजार क्विन्टल र अन्नपूर्ण चिनी उद्योग धनकौलले नौ लाख ९३ हजार क्विन्टल उखु क्रसिङ गरेर उद्योग बन्द गरेका छन् ।
उखु क्रसिङको काम सकिएपनि चिनी बनाउने काम केही बाँकी रहेको उद्योगहरुले बताएका छन् ।यो वर्षदेखि चिनी मिलहरुले आ–आफ्नो जिल्लाको उखु मात्र खरिद गर्ने निर्णय गरेसँगै प्रशस्त उखु खेती हुने सर्लाहीका चिनी मिलहरु केही दिन ढिलोसम्म सञ्चालन भएर बन्द भएका उद्योगीहरुले बताएका छन् ।
उखु क्रसिङ सम्पन्न भए पनि किसानले उद्योगमा ल्याएर बेचेको उखुको सम्पूर्ण भुक्तानी पाउन बाँकी नै रहेको छ।इन्दुशंकरले तालिका अनुसार भुक्तानी गरिरहे पनि महालक्ष्मी र अन्नपूर्णले भने ढिलो गरी भुक्तानी गरिरहेको उखु उत्पादक किसानहरुले गुनासो गरेका छन् ।
सरकारले यो वर्ष उखुको मुल्य प्रतिक्विन्टल रु छ सय २० र सरकारको तर्फबाट थप रु ७० प्रति क्विपन्टल अनुदान सहित रु छ सय ९० प्रतिक्विन्टल उखु उत्पादक किसानहरुले पाउने भनि गत मंसिर २२ गते बसेको सुशीला कार्की नेतृत्वको अन्तरीम सरकारको मन्त्रीपरिषद्ले निर्णय गरेको थियो ।इन्दु शंकरले तालिका बनाएर एक हप्ताको अन्तरमा किसानहरुलाई भुक्तानी गरि रहेको भएपनि अरु उद्योगहरुले किसानहरुलाई भुक्तानी गर्ने सवालमा चासो नराख्दा किसानहरु मारमा परेका छन् ।