Close This

पुनःनिर्माणमा १३ अर्ब भन्दा बढी खर्च

रासस    प्रकाशित: २०७७-४-३२ गते   ४३२ पटक हेरिएको

सिन्धुलीमा वि.सं.२०७२ सालमा गएको बिनासकारी भुकम्पले ध्वस्त पारेको संरचना पुनःनिर्माण गर्न हालसमम १३ अर्ब रुपैया भन्दा बढी खर्च भएको छ । भुकम्प गएको ५ बर्षभन्दा बढी समय बित्दा पनि निजी आवास, विद्यालय, सडक, गुम्बा, झोलुङ्गेपुल निर्माण लगायतका संचरना बनाउन हालसम्म १३ अर्ब ११ करोड ९४ लाख १८ हजार ६ सय ५५ रुपैया खर्च भईसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ ।
उक्त खर्च मध्ये नीजि आवास निर्माण गर्न ९ अर्ब ३८ करोड २८ लाख रुपैया खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई, अनुदान व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख सुर्यप्रकास बिष्टले जानकारी दिनु भयो । उहाँका अनुसार नीजि आवास पुनःनिर्माण तर्फका कुल लाभग्राही ३८ हजार ६ सय १६ जना रहेका छन् । ती मध्ये नीजि आवास निर्माणका लागि सम्झौता गरी ३७ हजार २८ जनाले पहिलो किस्ता, ३३ हजार १४ जनाले दोस्रो किस्ता र २५ हजार ७ सय ९३ जनाले तेस्रो किस्ता रकम निकासा गरि सकेका छन ।
त्यस्तै प्रबलिकरण तर्फ कुल लाभग्राही १४ हजार ४ सय ४८ जना रहेका छन् । यि मध्य सम्झौता गरी १२ हजार २ सय ७६ जना लाभग्राहीले पहिलो किस्ता र १६ जनाले अन्तिम तथा दोस्रो किस्ता निकासा लिई सकेका छन् । प्रबलिकरण तर्फ अहिलेसम्म ६१ करोड ३८ लाख ८० हजार रुपैया खर्च भएको उहाँले जानकारी दिनुभयो । पुनःनिर्माण तर्फका लाभग्राहीले नीजि आवास बनाउन ३ लाख रुपैया र प्रबलिकरण तर्फका लाभग्राहीले घर मर्मत गर्न १ लाख रुपैया अनुदान पाउने कार्यालय प्रमुख बिष्टले बताउनु भयो । 
त्यसैगरी भुकम्पीय आपतकालिन सहायता आयोजना अन्तर्गत २९ किलो मिटर लम्बाईको पिपलभञ्ज्याङ–हायुटार–नेत्रकाली सडक निर्माणमा ३८ करोड २९ लाख ८९ हजार २ सय ८० रुपैया खर्च भएको कार्यालय प्रमुख विष्टले बताउनु भयो । उहाँका अनुसार सोही सडक अन्तर्गत सिम्ले खोलामा एक करोड ३२ लाख ३३ हजार ३ सय ६८ रुपैयाको लागतमा पक्किपुल निर्माणाधिन अवस्थामा रहेको छ ।
भुकम्पबाट प्रभावित १८ वटा गुम्बामध्ये १२ वटाको निर्माण कार्य अघि बढेको र ६५ लाख १६ हजार रुपैया खर्च भई सकेको छ । त्यस्तै भुकम्प पछिको पुनःनिर्माण अन्तर्गत हालसम्म ४ सय ६ वटा विद्यालयको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई अन्र्तगतको शिक्षा शाखाले जनाएको छ । भुकम्पले भत्काएको र चर्काएको विद्यालयमा नयाँ पक्कि भवन निर्माण गरी नयाँ स्वरुप दिईएको कार्यालयले जनाएको छ ।
जिल्लामा रहेका कुल ५ सय ७५ वटा विद्यालय मध्ये वि सं.२०७२ सालमा आएको बिनासकारी भुकम्पबाट ५ सय १३ वटा विद्यालय प्रभावित भएका थियो । जिल्लाका भुकम्प प्रभावित विद्यालयमध्ये ४ सय ६ वटा विद्यालयमा नयाँ भवन निर्माण गरिएको कार्यालय ईकाई अन्र्तगतको शिक्षा शाखाका  प्रमुख शिवकुमार सापकोटाले जानकारी दिनुभयो ।
अहिलेसम्म भुकम्प पछिको विद्यालय पुननिर्माणमा २ अर्ब ६६ करोड रुपैया खर्च भई सकेको छ । सापकोटाका अनुसार भुकम्प प्रभावित विद्यालय मध्ये २६ वटा एसियाली विकास बैंक(एडिबी) ३७ वटा अन्य आईएनजिओ र बाँकी नेपाल सरकारको सहयोगमा निर्माण भई रहेका छन । यो बर्ष सम्झौता भएका ५९ वटा विद्यालय भवन निर्माणमा करिब ३० करोड रुपैया लाग्ने अनुमान गरिएको कार्यालयले जनाएको छ ।
वि सं.२०७८ साउन भित्र सबै भुकम्प प्रभावित विद्यालयमा पुनःनिर्माण तथा मर्मत सकिने छ भने बाँकी विद्यालयको वास्तविकता अध्ययन गरि काम सुरु गरिने उहाँले बताउनु भयो । उक्त भुकम्पले जिल्लामा भुकम्पले जिल्लामा १२ वटा स्वास्थ्य संस्थाको भवन पुर्ण र २९ वटा स्वास्थ्य संस्थाको भवन आंशिक रुपमा क्षति भएको तथ्यांकमा उल्लेख गरिएको  छ । तीनपाटन गाउँपालिका ३ को भिमस्थान स्वास्थ्यचौकी र आम्बोटे स्वास्थ्य चौकी ,घ्याङलेख गाउँपालिका–५ को शान्तेश्वरी स्वास्थ्यचौकी, सुनकोशी गाउँपालिका ५ को बन्दिपुर स्वास्थ्य चौकी पुनःनिर्माणको भईरहेको छ ती स्वास्थ्य चौकीको कुल लागत ६ करोड रुपैया रहेको कार्यालर्यले जनाएको छ ।
प्राविधिक बिदुर खतिवडाले हरिहरपुर, वितिजोर, रतनचुरा, अमले, तामाजोर, तीनकन्या, खोलागाउँ र जिनाखु स्वास्थ्य चौकी पुनःनिर्माणका लागि गत बर्ष कार्यक्रम आएर पनि स्रोत निश्चित हुन नसक्दा अघि बढ्न नसकेको बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech