सिन्धुलीका ८ कार्यालय सूचना लुकाउँदै गर्दैनन् स्वतःप्रकाशन

177 Shares

सिन्धुलीमा रहेका ४४ वटा सरकारी कार्यालयहरु मध्ये आठ वटा कार्यालयहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक स्वतःप्रकाशन नगरेका पाईएको छ।नौ वटा स्थानीय तहहरु मध्ये सुनकोसी गाउँपालिका,१४ वटा प्रादेशीक कार्यालयहरु मध्ये यातायात व्यवस्था कार्यालय खुर्काेट र बागवानी विकास केन्द्र सिन्धुलीमाडी गरी दुई वटाका साथै सुरक्षासंग सम्बन्धीत तीन वटा र न्यायसंग सम्बन्धीत दुई वटा गरी पाँच वटा कार्यालयहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक स्वतःप्रकाशन नगरेका सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीले जनाएको छ ।
नेपालको सूचनाको हक सम्बन्धी  ऐन तथा नियमावली अनुसार कुनै पनि सरकारी तथा सार्वजनिक निकायले आफुले गरेका काम कार्बाहीको स्वतःप्रकाशन मार्फत हरेक तीन÷तीन महिनामा आम नागरिकलाई जानकारी गराउनु पर्ने भएपनि सिन्धुलीका आठ वटा कार्यालयहरुले संविधानत सूचनाको हक सम्बन्धी आम नागरिकहरुको अधिकार खोस्ने काम गरेका पाइएको हो ।
सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुली र सिन्धुलीका कार्यालय प्रमुखहरुको चैत्र पहिलो साता बसेको बैठकमा माघ १५ गते भित्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक स्वतःप्रकाशन गर्नु पर्नेमा सो नगरेका कार्यालयहरुलाई यथासिघ्र स्वतःप्रकाशन गरी आ–आफ्नो कार्यालयको वेभसाईट तथा फेशबुक पेजमा राख्न प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठबाट निर्देशन भएको भएपनि यी कार्यालयहरुले यो समाचार तयार पर्दा सम्म प्रमुख जिल्ला अधिकारी एवम सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुलीका संयोजकको आदेशको अवज्ञा गरेको पाइएको हो ।
सह सचिव दिनेश सागर भुसाल प्रमुख जिल्ला अधिकारी भएर सिन्धुली आएपछि केही तातेका सिन्धुलीका स्थानीय तहहरु,प्रादेशीक र संघीय कार्यालयहरु फेरी सुस्ताउन थालेका पाइएको हो ।सबै कुराको अनुगमन तथा समन्वयको जिम्मा पाएको जिल्ला समन्वय समिति तथा सूचनाको हक सम्बन्धी जिल्ला अनुगमन ईकाई सिन्धुली र कर्मचारीहरुका जिल्लाका प्रमुख प्रमुख जिल्ला अधिकारीका साथै सम्बन्धीत कार्यालयका कर्मचारीहरुको गैर जिम्मेवारीपनाका कारण सिन्धुलीका आम नागरिकहरुले संविधानत पाउने सूचनाको हकबाट बञ्चित हुनु परेको गुनासो गरेका छन् ।
लोकतान्त्रिक शासन व्यवस्थाको आधार मानिने सूचना प्राप्त गर्ने नागरिकको अधिकार व्यवहारमा भने धेरै कार्यालयहरु अझै पनि कमजोर देखिएका छन्।सरकारी कार्यालयहरूको ढिलासुस्ती,पारदर्शिताको अभाव र कानुनी प्रावधान प्रति उदासीनताका कारण नागरिकहरू आफ्नो मौलिक अधिकार प्रयोग गर्नबाट वञ्चित भइरहेका छन्।सूचनाको हक सम्बन्धी ऐन २०६४ को व्यवहारमा भने धेरै कार्यालयहरूले आनाकानी गर्ने, प्रक्रियागत झन्झट देखाउने तथा अनावश्यक ढिलाइ गर्ने प्रवृत्ति बढ्दो देखिन्छ।
सिन्धुलीका नागरिकहरूले विकास निर्माण,बजेट खर्च,सेवा प्रवाह तथा कर्मचारीहरुको जिम्मेवारी सम्बन्धी सूचना माग्दा स्पष्ट जवाफ पाउन सकेका छैनन्।कतिपय कार्यालयहरूले “माथिबाट निर्देशन छैन”,“कागजात तयार हुँदै छ।”लगायतका बहाना बनाउँदै सूचना दिन तथा स्वतः प्रकाशन गर्न पन्छिने गरेका छन्।
प्राय सबै सरकारी कार्यालयहरुका साथै स्थानीय तहमा समस्या गम्भीर देखिएको छ। जनप्रतिनिधि र कर्मचारीबीच समन्वय अभाव हुँदा सूचना प्रवाह प्रभावकारी हुन सकेको छैन। कतिपय पालिकाहरूका साथै कार्यालयहरुमा सूचना अधिकारी तोकिए पनि उनीहरूलाई आवश्यक तालिम र अधिकार नदिँदा सूचनाको पहुँच झन् कठिन बनेको छ।
सूचना पाउन नसक्दा नागरिकहरूमा असन्तोष बढ्दै गएको छ।पारदर्शिताको अभावले भ्रष्टाचार र अनियमितता बढ्ने जोखिम पनि उत्तिकै देखिन्छ।नागरिक समाजका अगुवाहरूका अनुसार सूचना लुकाउने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने मात्र नभई जनविश्वास समेत गुमाउने खतरा बढाउँछ।
सूचना आयोगले पटक–पटक निर्देशन दिए पनि त्यसको प्रभावकारिता न्यून देखिएको छ। आयोगमा उजुरी परेपछि मात्र केही निकायहरू सक्रिय हुने गरेका छन्।जुन दिगो समाधान होइन। सूचना सहज रूपमा उपलब्ध गराउने संस्कार विकास गर्न जरुरी देखिन्छ।
यस सन्दर्भमा सरोकारवाला निकायहरूले सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। सूचना अधिकारीहरूलाई जिम्मेवार बनाउने,सेवा प्रवाहमा प्रविधिको प्रयोग बढाउने तथा नागरिकलाई आफ्नो अधिकारबारे सचेत गराउने काम आवश्यक छ।यदि यस्ता समस्या समाधान गरिएन भने “सूचनाको हक” केवल कागजमै सीमित रहने खतरा छ।लोकतन्त्रको सार नै पारदर्शिता र उत्तरदायित्व भएकाले नागरिकलाई सूचना पहुँचबाट वञ्चित गर्ने प्रवृत्ति तत्काल अन्त्य गरिनु आवश्यक छ।

सम्बन्धित समाचार