सिन्धुलीको कमलामाई नगरपालिका १४ ले बालबालिकाको हक,हित तथा अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ वडास्तरीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेको छ।स्थानीय तहमा बालमैत्री वातावरण निर्माण गर्दै समावेशी र उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने लक्ष्यसहित उक्त समिति गठन गरिएको कमलामाई नगरपालिका १४ का वडा अध्यक्ष राजन न्यौपानेले जानकारी दिए ।उनका अनुसार बिहीवार एक कार्यक्रमको आयोजना गरि बालबालिकाको संरक्षण,सहभागिता, विकास र बाँच्न पाउने अधिकारलाई स्थानीय तहबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल समेत गरिएको छ ।
बालमैत्री स्थानीय शासनको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सबै सरोकारवाला बीच सहकार्य र एकता आवश्यक रहेको सहभागीहरुले बताए।विशेषगरी बालश्रम न्यूनीकरण, बाल विवाह अन्त्य,गुणस्तरीय शिक्षा सुनिश्चितता तथा सुरक्षित वातावरण निर्माणका लागि स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको कार्यक्रममा सहभागीहरुले बताए।
बालमैत्री वडा निर्माण केवल नीतिगत घोषणा मात्र नभई व्यवहारिक कार्यान्वयन मार्फत प्राप्त गर्नुपर्ने लक्ष्य रहेका कमलामाई नगरपालिका १४ का वडा अध्यक्ष न्यौपानेले बताए।उनले बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न वडा कार्यालय निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गरे।साथै,नवगठित समितिहरूलाई प्रभावकारी रूपमा परिचालन गर्दै बालअधिकार संरक्षणका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने उनले बताए ।
आगामी दिनमा बालमैत्री सूचकहरू पूरा गर्ने,बाल सहभागिता अभिवृद्धि गर्ने, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने कार्यमा केन्द्रित रहने समितिहरूले जनाएको छ । वडाको यस प्रकारको पहलले स्थानीय तहमा बालमैत्री शासन प्रणालीलाई संस्थागत गर्दै बालबालिकाको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास लिईएको छ ।
कमलामाई नगरपालिका १४ का वडा अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडाका जनप्रतिनिधिहरु,कमलामाई नगरपालिकाको महिला,बालबालिका तथा समाज कल्याण शाखाका प्रतिनिधिहरुका साथै कर्मचारीहरू र वडाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा सामाजिक संघ÷संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।