सिन्धुलीको दुधौली नगरपालिका ६ हर्साही जगाडीस्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहले किर्ते हस्ताक्षर गरेर जंगल सखाप पार्ने गरेको रहस्य फेला परेको छ ।सामुदायिक वनले अहिले जंगलमा धमाधम सालका रुख काटिरहेको सूचनाको आधारमा वन कर्मीहरु र स्थानीयले अनुगमन समेत गरेका थिए ।
स्थानीय उपभोत्ताहरुलाई जानकारी नै नदिई धमाधम सालका रुख काट्न थालेको थाहा पाएपछि स्थानीयले वन कार्यालयमा उजुरी गरेका थिए।सव डिभिजन वन कार्यालय डकाहाका कर्मचारीसहित करिब तीन दर्जन स्थानीयले रुख काटिएको स्थानको अनुगमन गरेपछि वन कार्यालयले अनुमति अनुसार कटान भएको भन्दै किर्ते कागजात खडा गरिएको पाइएको हो ।
वन कार्यालयलाई सामुदायिक वनले बुझाएको माइन्युट हेर्दा आफ्नो नाम उल्लेख भए पनि आफूले हस्ताक्षर नगरेको स्थानीयले देखेपछि उनीहरू झस्किएका छन्।त्यसपछि सामुदायिक वनले किर्ते हस्ताक्षर गर्दै रुख काट्ने तथा बेच्ने गरेको रहस्य सार्वजनिक भएको हो।जनशक्ति सामुदायिक वन उपभोक्ता समूहबाट यसपटक चार हजार दुई सय क्युफिट काठ कटानको अनुमति लिईएको र सोही अनुमति अनुसार जंगलमा धमाधम रुख कटान भएको का अध्यक्ष टेकराज अधिकारीले बताए ।
केही व्यक्ति बैठकमा सहभागी भएको तर हस्ताक्षर गर्ने बेलामा उपस्थित नभएपछि अलिअलि हस्ताक्षर मिलाईएको सामुदायिक वनका अध्यक्ष अधिकारीले बताए ।तर स्थानीयका अनुसार अधिकांश हस्ताक्षर किर्ते भएको र वन समितिका सदस्यहरू समेत रुख कटानबारे जानकार नरहेको छैनन्।केही दिनअघि भएको अनुगमनकै क्रममा अधिकांश हस्ताक्षर किर्ते भएको पुष्टि भइसकेको स्थानीयको दाबी छ।
स्थानीयले नै सात सदस्यीय समिति बनाएर छानबिन गर्ने प्रतिबद्धता जनाएपछि अहिले स्थानीयको छानबिन प्रतिवेदन कुरेर बसेको सव डिभिजन वन कार्यालय डकाहाका प्रमुख मणिलाल कालदानले बताए।उनका अनुसार स्थानीय केही उपभोत्ताले कार्यालयमा उजुरी गरेपछि आफुहरुले स्थलगत अनुगमन गरेको समेत बताए ।तर स्थानीय भने अनुगमनकै क्रममा किर्ते हस्ताक्षर भएको पुष्टि भइसकेकाले वन कार्यालयले नै अनुसन्धान गर्नुपर्नेमा उल्टै स्थानीयलाई नै मिलेर आउन भनिएको भन्दै असन्तुष्टि जनाएका छन्।
यता,केही दिनमै छानविन सकिने छानविन समितिले जनाएको छ।तर निश्पक्ष छानविन गर्नुको सट्टा विभिन्न व्यक्तिलाई आर्थिक प्रलोभन देखाउँदै घटना गुपचुप बनाएर मिलाउन खोजिएको स्थानीयको आरोप छ ।
उक्त सामुदायिक वनले आफने भवन नर्मिाण गरि रहेको र सोही वाहनामा धेरै रुखहरु काटिएका र अन्यन्त्र बिक्रि गरिएको स्थानीयको आरोप छ ।स्थानीय उपभोत्ताहरुले अध्यक्ष अधिकारीले सामुदायिक वनको हिसाब कितान पनि पारदर्शी नराखेका आरोप लगाएर भने अध्यक्ष अधिकारीले जुनसुकै समयमा पनि आफु हिसाब किताब फस्र्योट गर्न तयार रहेको बताए ।
सामुदायिक वनको काठ कटान हुँदा त्यसको प्रयोग गर्ने पहिलो अधिकार स्थानीय उपभोत्तालाई हुने भएपनि स्थानीयले काठ खरिद गर्न नसक्ने गरी मूल्य निर्धारण गर्ने र अन्यन्त्र काठ बिक्रि गर्ने गरिएको स्थानीयको आरोप छ ।
रुख कटान,ढुवानी,भत्ता,खाजा पानी लगायत विभिन्न खर्च जोडेर स्थानीयले खरिद गर्न नसक्ने गरी मूल्य तय गरिने गरिएको स्थानीय उपभोक्ताहरुको आरोप छ।स्थानीयले खरिद गर्न नसकेपछि ठेकेदारलाई बिक्री गरिने गरिएको छ।ठेकेदारले नै रुख कटानदेखि सम्पूर्ण लगानी अग्रिम रूपमा गर्ने र आफु अनुकुल समितिका अध्यक्ष तथा पदाधिकारीहरु र वनकर्मीहरुलाई मिलाएर निकासी पैठारी गर्ने गरिएका घटनाहरु धेरै रहेका स्थानीय जानकारहरु बताउँछन् ।