शिक्षकले नपढाएका भन्दै विद्यार्थीले मागे क्षतिपुर्ति

263 Shares

सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुर स्थित रहेको जनज्योती मा.विका कृषि संकाय तर्फका विद्यार्थीहरुले लालबन्दी नगरपालिकासँग क्षतिपुर्तिको माग गरेका छन्।जनज्योती मा.वि.को कृषि संकायमा अध्ययनरत विद्यार्थीहरुले आफुहरुको चार वर्ष बिना सिकाई खेर गएको भन्दै क्षतिपुर्ति उपलब्ध गराईदिन माग भन्दै लालबन्दी नगरपालिकाको शिक्षा शाखालाई सम्बोधन गरी निवेदन बुझाएका छन् ।
विद्यार्थीहरुले पेश गरेको निवेदनमा पाठ्यक्रम अनुसारको सिप सिक्न नपाएको र थेउरी मात्रै पढाउँदा प्रयोगात्मक सिप विकाश नभएको भन्दै उचित क्षतिपुर्तिको माग गरेका हुन।१८ जना विद्यार्थीको हस्ताक्षरसहित शिक्षा शाखा प्रमुख लक्ष्मी सिवाकोटीलाई बुझाईको निवेदनमा शिक्षक सतिश यादवले आफुहरुको भविष्यसँग खेलबाड गरेको आरोप लगाईएको छ ।
शिक्षक यादवसंग पटक पटक यो विषयमा कुरा राख्दा फेल गराईदिन्छु भनेर धम्क्याउने गरेको विद्यार्थीले शिक्षा शाखा प्रमुख सिवाकोटीसँग गुनासो गरेका छन्।उनिहरुले निवेदनमार्फत शिक्षक यादवलाई आफुहरुको भविष्य अध्यारो बनाउने अधिकार कसले दिएको भन्दै उचित छानबिन गरि न्याय दिन अनुरोध गरेका छन ।
विद्यार्थीहरुको निवेदन पाएपछि शिक्षा शाखाले पनि तीन दिन भित्र छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको शाखा प्रमुख सिवाकोटीले बताईन्।उनका अनुसार विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर पोखरेलको नाममा पत्र लेख्दै तीन दिन भित्र आवश्यक छानविन गरि प्रतिवेदन पेश गर्न भन्दै शाखाले पत्र पठाएको हो ।यता,शिक्षक यादवले आफु र विद्यार्थीहरु बिच कुनै समस्या नरहेको बताए।उनले आफुले ईमान्दारीताका साथ पढाएको, प्रयोगात्मक कक्षा पनि गराएको र कोर्ष पनि पुरा भएको प्रतिकृया दिए ।
त्यस्तै,लालबन्दी नगरपालिका भित्रको शिक्षाको अवस्था सुधार गर्ने हो भने नगर शिक्षा शाखाबाट सिवाकोटीलाई हटाउनु पर्ने स्थानीय जानकारहरु बताउँछन् ।उनी विगत लामो समयदेखि लालबन्दी नगरपालिकाको शिक्षा शाखामा कार्यरत रहेकी छन् । उनीमाथि नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुका शिक्षकहरुको आन्तरीक सरुवा गर्दा समेत रकम असुल्ने गरेका साथै नीजि(संस्थागत)विद्यालय सञ्चालनका सम्बन्धमा स्थलगत अवलोकन नगर्ने र उनीहरुबाट समेत रकम असुल्ने गरेकी समेत उनीमाथि आरोप लागेको छ ।

सम्बन्धित समाचार