मधेसमा सुरक्षा अधिकारीहरु कै मिलेमतोमा घुमुवा परिचालन गरी कमिसन असुली

181 Shares

मधेस प्रदेशका आठवटै जिल्लाका सीमा नाकाबाट पछिल्लो समय तस्करी व्यापक रूपमा मौलाएको पाईएको छ।सीमावर्ती क्षेत्रका बासिन्दा,व्यापारी तथा सुरक्षा स्रोतहरूका अनुसार भारतबाट दैनिक उपभोग्य सामाग्रीदेखि कपडा,मोटरपाट्र्स,कस्मेटिक्स र सुर्तीजन्य र चिसो पेय पदार्थलगायतका सामग्री भन्सार छलेर नेपाल भित्र्याइँदै छ भने नेपालबाट मदिरा,चिनियाँ स्याउ, गिट्टी–बालुवासमेत भारत तर्फ पठाउने क्रम तीव्र बनेको छ।
तस्करी बढ्नुको मुख्य कारणका रूपमा प्रदेश प्रहरी कार्यालयबाट “सूचना संकलन”को नाममा खटाइएका सादा पोशाकका प्रहरी(घुमुवा)लाई लिइएको छ। स्रोतका अनुसार डिआइजी गोविन्द थपलिया सहित मधेशका आठै जिल्लाका प्रहरी उपरीक्षकहरुबीच मिलेमतोमै घुमुवाहरू परिचालन हुने गरेको छ ।
उनीहरूले सीमा नाकामा पुगेर “लाइन क्लियर”संकेत दिएपछि तस्करहरूले निर्वाध रूपमा सामान ओसार पसार गर्ने गरेका एक सूरक्षा अधिकारीले बताए।उनका अनुसार माथिल्लो तहको दबाबकै कारण आफूहरू तस्करी रोक्न नसक्ने अवस्थामा पुगेका छन्।“डिआइजी थपलियाको नाम लिएर आएपछि बाध्य भएर राति तस्करीका सामान बोकेको गाडी पास गरिदिनुप¥यो।यस्तो अवस्था मधेसका धेरैजसो नाकामा छ।”एक सुरक्षा अधिकारीले बताए ।
सर्लाही सहित,महोत्तरी,सिरहा,बारा,रौतहट र सप्तरी लगायतका जिल्लामा प्रहरुी उपरीक्षकहरु र डिआइजी थपलियाबीच राम्रो सम्बन्ध रहेको र मिलेरै रकम असुली भइरहेको स्रोतले जनाएको छ।दुवै तहबाट घुमुवालाई परिचालन गरी नाकैपिच्छे रकम उठाउने र तस्करीलाई सहजीकरण गर्ने “सिस्टम”नै बसेको स्थानीय बताउँछन्।घुमुवाको कमाण्ड वरिष्ठ सई गोपाल थापा मगरले गरेका भएपनि डिआईजी थपलियाले उनी उजुरी शाखामा कार्यरत रहेका दाबी गरे ।मधेशका जिल्लाहरुका सीमादेखि सहरसम्म सुरक्षित रूपमा भन्सार छलीको सामान पु¥याउन घुमुवा स्वयं संलग्न रहने र बाटोभर “लाइन मिलाउने”काम हुने गरेको दाबी गरिएको छ।
यता,धनुषाका सीमा नाकाहरुबाट हुने तस्करी नियन्त्रण गर्न खोज्दा प्रहरी उपरीक्षक र प्रदेश प्रहरी कार्यालय बीच नै सम्बन्ध विग्रेको र प्रहरी उपरीक्षकले प्रदेश प्रहरी कार्यालयबाटै दबाब आएको भन्दै प्रहरी प्रधान कार्यालयसम्म जानकारी गराएका पाइएको छ।
त्यस्तै पर्साका प्रहरी उपरीक्षकले स्पष्ट अडान लिँदै “प्रमाण पुगेपछि कारबाही गर्नु,नत्र हस्तक्षेप गर्न नआउनु”भन्ने जवाफ दिँदै घुमुवालाई चुनौती दिएका कारण उनीहरू खुलेर काम गर्न सकेको अवस्थामा छैनन्।त्यसपछि घुमुवाहरू पर्साका नाकामा सक्रिय रूपमा टेक्न नसकेका र तस्करी नियन्त्रणमा केही कडाइ देखिएको स्रोतको दाबी छ।
नेपाल भारत सीमा क्षेत्रमा हुने भन्सार छली र तस्करी अहिले“ओपन सेक्रेट”जस्तै बनिसकेको स्थानीय बताउँछन्।सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुँदाहुँदै पनि भन्सार छलीको सामान ओसार पसार हुनु सामान्यजस्तै भएको उनीहरू बताउँछन्। यता,कानूनी रुपमा व्यावसाय गरि रहेका व्यापारीहरू भन्सार छली र तस्करीका कारण मारमा परेका छन्।वैधानिक रूपमा भन्सार तिरेर ल्याइएका सामान महंगो पर्ने र भन्सार छली तथा तस्करीका सामान सस्तोमा बजारमा उपलब्ध हुने भएकाले बिक्री घटेको स्थानीय व्यवासायीहरुको गुनासो छ। 
त्यस्तै,मधेशका जिल्लाका सीमानाकाहरुमा हुने भन्सार छली र तस्करी नियन्त्रणका लागि प्रयास भइरहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम डिआईजी थपलियाले बताए।तर,सुरक्षा निकायकै संरक्षण बिना यति ठूलो मात्रामा भन्सार छली तथा तस्करी सम्भव नहुने स्थनीय जानकारहरु बताउँछन्। 

सम्बन्धित समाचार