राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरीले सर्लाहीका नाकाहरुमा कडाई सुरु गरेकाे छ । सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु,लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले स्थानीय बजार सुस्ताएकाे र मुलुकले राजस्व गुमाइरहेको गुनासोपछि सीमा सुरक्षामा खटिएकाे सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडाई सुरु गरेको हो ।

सशस्त्र प्रहरीले सर्लाहीकाे ५१ किलाेमिटर सीमानाकामा रु एक सयभन्दा बढी मूल्यको सामान भारतबाट ल्याउँदा अनिवार्य भन्सार महसुल बुझाउन आग्रह गरिरहेको छ । भने भन्सार नहुने मालवस्तुहरु नल्याउन पनि र ल्याएकाे खण्डमा परिमाण हेरेर फिर्ता पठाउने गरेकाे छ ।

भन्सार महसुल नुबुझाए कानुनबमोजिम कारबाही अघि बढाइने भन्दै सूचित गर्ने काम पनि भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीले जनाएको छ ।बाहिनीका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार राजस्व चुहावट नियन्त्रण गर्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रम पनि सुरु भएको छ ।

सीमानाकाबाट हुने अवैध आयात र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले सर्लाहीका नाकामा झैँ देशैभरकै नाकामा निगरानी बढाइरहेको जनाइएको छ ।