करिब साँढे २१ हजार कागजात मधेशको ट्राफिक कार्यालयमा थन्किए

129 Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशमा साँढे २१ हजार सवारी चालक अनुमति पत्र,सवारी दर्ता किताब(ब्लुबुक)र अन्य सवारी सम्बन्धी कागजात लामो समयदेखि थन्किएर बसेका छन्।ट्राफिक नियम उल्लंघनका क्रममा नियन्त्रणमा लिइएका ती कागजात सवारी चालकहरु तथा सवारी धनीहरु फिर्ता लिन नआएपछि कार्यालयले अब कडाइ गर्ने संकेत गरेको छ।
कार्यालयका अनुसार हालसम्म २१ हजार पाँच सय ६४ वटा कागज पत्र ट्राफिक प्रहरीको अभिलेखमा थन्किएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए।
उनका अनुसार तीमध्ये धेरैजसो कागजात सवारी चालक तथा धनीले तोकिएको समयभित्र जरिवाना नतिरेपछि फिर्ता लिन नआएका हुन्।अब भने सम्बन्धित व्यक्तिलाई १० दिनभित्र कागजात अनिवार्य रूपमा फिर्ता लैजान आग्रह गरिएको कार्यालयले जनाएको छ ।
ट्राफिक नियम उल्लंघन गरेपछि चौबीस घण्टे पूर्जी दिइन्छ।तर धेरैजसोले त्यसको पालना गर्दैनन्।जरिवाना नतिरेपछि कागजात यत्तिकै थन्किनुका साथै सरकारी राजश्वमा समेत प्रभाव परेको ट्राफिक प्रहरी अधिकारीहरुले बताएका छन् ।
यसका साथै सवारी चालकहरु तथा सवारी धनीहरु ट्राफिक प्रहरीको नियन्त्रणमा रहेका कागजातहरु लिन नआउने र यातायात कार्यालयमा कागजात हराएको भनी जाने गरेका पाइएकाले यातायात कार्यालयहरुलाई ट्राफिक प्रहरीको सिफारिस विना कागजातहरुको प्रतिलिपि नदिन पनि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले अनुरोध गरेको छ ।
“ट्राफिक भायोलेसन रेकर्ड सिस्टम”पछि बढ्यो कडाइ"
वि.सं २०८० देखि ट्राफिक प्रहरीले “ट्राफिक भायोलेसन रेकर्ड सिस्टम”लागू गरेसँगै ट्राफिक नियम उल्लंघनको विवरण डिजिटल रूपमा अभिलेखीकरण हुन थालेको छ।यस प्रणालीले सवारी चालकको विगतको व्यवहार,उल्लंघनको प्रकृति र पुनरावृत्ति सबैलाई ट्र्याक गर्ने व्यवस्था गरेको छ।यसअघि कागजात नियन्त्रणमा लिएपछि चालकले जरिवाना तिरेर सहजै फिर्ता लैजाने प्रचलन थियो।तर नयाँ प्रणाली लागू भएपछि जरिवाना नतिर्ने र बेवास्ता गर्ने प्रवृत्ति स्पष्ट देखिएको ट्राफिक प्रहरी अधिकारीहरुको भनाइ छ।उनीहरुका अनुसार,“अहिले ट्राफिक भायोलेसन रेकर्ड सिस्टमले सबै विवरण देखाउँछ।कसले कति पटक नियम उल्लंघन ग¥यो भन्ने स्पष्ट हुन्छ।त्यसैले अब कागजपत्र लिन नआउनेलाई थप कारबाही गर्नुपर्छ।”
चौबीस घण्टे पूर्जी “कागजको खोस्टो”बनाउँदै चालक
ट्राफिक प्रहरीको सवारी चेक जाँचका क्रममा नियम उल्लंघन गर्ने सवारी चालकलाई २४ घण्टे पूर्जी दिइन्छ,जसअनुसार चालकले निश्चित समयभित्र जरिवाना तिर्नुपर्छ।तर व्यवहारमा भने धेरै चालकले यसलाई गम्भीर रूपमा लिँदैनन्।मधेश प्रदेशका आठ जिल्लाका विभिन्न स्थानमा गरिएको अनुगमनमा भेटिएका सवारी चालकहरूका अनुसार,“समय अभाव,प्रक्रिया झन्झटिलो हुनु र कतिपय अवस्थामा जरिवाना रकम धेरै लाग्ने भएकाले”उनीहरू कागजात लिन ढिला गर्ने गरेका छन्।तर ट्राफिक प्रहरीका अनुसार यो तर्क व्यवहारिक भए पनि कानुनी रूपमा मान्य छैन।नियम उल्लंघन गरेपछि तोकिएको प्रक्रिया पूरा गर्नु अनिवार्य हुन्छ।
कागजात हराउने,नष्ट हुने जोखिम
लामो समयसम्म कार्यालयमै थन्किएर बसेका कागजातमा क्षति पुग्ने जोखिम पनि उत्तिकै बढेको छ।कतिपय अवस्थामा आगलागी,चिस्यान वा अन्य कारणले कागजात नष्ट हुने सम्भावना रहेको मधेश प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले जनाएका छन् । कार्यालयहरुका अनुसार केही कागजात भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनका क्रममा आगलागी हुँदा नष्ट भइसकेका छन्।यद्यपि त्यस्ता कागजातका लागि सम्बन्धित सवारी धनीलाई नयाँ कागजात बनाउन सिफारिस गरिने व्यवस्था रहेको छ।“यदि कागजात नष्ट भएको अवस्थामा पनि हामी सिफारिस दिन सक्छौँ।तर त्यसका लागि पनि सम्बन्धित व्यक्ति कार्यालयमा सम्पर्कमा आउनुपर्छ,”ट्राफिक प्रहरी अधिकारीहरुले स्पष्ट पारे।यो अवस्था केवल मधेश प्रदेशमा मात्र सीमित नभई अन्य प्रदेशहरुमा पनि देखिएको ट्राफिक प्रहरी स्रोत बताउँछ।नियम उल्लंघनपछि जिम्मेवारी बहन नगर्ने प्रवृत्ति बढ्दै गएकोप्रति सरोकारवाला चिन्तित छन्।
मधेश प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले चेतावनी दिँदै कागजपत्र नलगे सवारी चालक अनुमति पत्र निलम्बन गरिने बताएका छन्।सवारी तथा यातायात व्यवस्था ऐन,२०४९ को दफा १६४ (५) अनुसार जरिवाना नतिर्ने र कागजात फिर्ता नलिने चालकलाई एक महिनासम्म लाइसेन्स निलम्बन गर्न सकिने व्यवस्था छ।“अब हामी कानुन अनुसार अघि बढ्छौँ।बारम्बार सूचना दिँदा पनि अटेरी गर्नेहरूलाई निलम्बन बाहेक अर्को विकल्प हुँदैन।”ट्राफिक प्रहरी अधिकारीहरुले बताए ।
त्यसैगरी,जनचेतनाको अभाव र लापरवाहीका कारण यस्तो समस्या देखिएको जानकारहरु बताउँछन् ।एकातिर धेरै सवारी चालकलाई नियम उल्लंघनपछि के–के प्रक्रिया पूरा गर्नुपर्छ भन्ने स्पष्ट जानकारी हुँदैन भने अर्कोतर्फ,जानकारी हुँदाहुँदै पनि बेवास्ता गर्ने प्रवृत्ति पनि उत्तिकै रहेको देखिन्छ।यातायात क्षेत्रका जानकारहरूका अनुसार“डिजिटल प्रणाली लागू भए पनि त्यसको प्रभावकारिता जनतामा पुग्न सकेको छैन।सूचना प्रवाह र जनचेतना दुवै पक्षमा अझै काम गर्नुपर्ने देखिन्छ।”
छिमेकी देश भारसंग खुल्ला सीमाना जोडिएका मधेशका जिल्लाहरुमा भारतिय सवारी साधनहरुको अनाधिकृत आवागमनले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।सवारी साधनको संख्या तीव्र रूपमा बढ्दै जानु तथा भारतिय सवारी साधनहरु अनाधिकृत रुपमा नेपाल प्रवेश गर्नुले मधेशका जिल्लाहरुमा ट्राफिक नियम उल्लंघनका घटनाहरू पनि बढिरहेका छन्।यस्तो अवस्थामा ट्राफिक प्रहरीलाई कडाइका साथ नियम कार्यान्वयन गर्नुपर्ने दबाब बढेको छ।तर जनसहयोग बिना यो सम्भव नहुने पूर्व प्रहरी अधिकारीहरुको भनाइ छ।
यता,सम्बन्धित सबै सवारी चालक तथा धनीलाई समयमै कागजात फिर्ता लिन अन्तिम पटक आग्रह गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशले जनाएको छ।“कागजात तपाईंको सम्पत्ति हो।यसलाई समयमै लिनुहोस्,जरिवाना तिर्नुहोस् र कानुनी झन्झटबाट बच्नुहोस्,”भन्दै कार्यालयले सवारी धनीहरुसंग आग्रह गरेको छ।

सम्बन्धित समाचार