सिन्धुलीको कमलामाई नगरपालिकाले अनलाइन नागरिकता सिफारिस प्रणाली कार्यान्वयनमा ल्याएको छ।कमलामाई नगरपालिकाले नागरिक सेवा प्रवाहलाई थप प्रभावकारी,पारदर्शी र सहज बनाउने उद्देश्यसहित अनलाइन नागरिकता सिफारिस प्रणाली कार्यान्वयनमा ल्याइएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले बताए ।उनका अनुसार प्रणालीमार्फत अब नागरिकहरूले आफ्नै वडा कार्यालयबाटै अनलाइन माध्यमबाट नागरिकता सिफारिसको प्रक्रिया अघि बढाउन सक्ने छन् भने स्थानीय तहको सेवामा डिजिटल रूपान्तरणको नयाँ अध्याय सुरु भएको छ ।
नयाँ प्रणाली लागू भएसँगै नागरिकता सिफारिसका लागि आवश्यक विवरण वडा तहबाटै अनलाइन फाराम मार्फत प्रविष्ट गरिने नगरपालिकाका सूचना अधिकारी नवराज बरालले बताए ।उनका अनुसार यस प्रक्रियाले कागजी झन्झट घटाउनुका साथै सेवाग्राहीलाई पटक–पटक कागजातको फोटोकपी तयार पार्नुपर्ने बाध्यताबाट मुक्त गरेको छ।तर आवश्यक कागजातको सक्कल प्रति भने सम्बन्धित व्यक्तिले वडा कार्यालयमा उपस्थित हुँदा अनिवार्य रूपमा देखाउनुपर्नेे छ ।
सेवा प्रक्रियालाई छिटो,सरल र पारदर्शी बनाउन अनलाइन प्रणाली सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले बताए।उनका अनुसार परम्परागत प्रणालीमा देखिँदै आएका ढिलासुस्ती,अनावश्यक प्रक्रियागत जटिलता तथा खर्चको भारलाई न्यूनीकरण गर्दै सेवा प्रवाहलाई नागरिक मैत्री बनाउनेतर्फ यो कदम महत्वपूर्ण ठहरिएको छ ।
स्थानीय तहमा सूचना प्रविधिको प्रयोग विस्तार हुँदै जाँदा सेवाग्राहीको समय बचत हुनुका साथै प्रशासनिक कार्य सम्पादनमा पनि सुधार आउने अपेक्षा गरिएको कमलामाई नगरपालिकाकी उप प्रमुख मञ्जु देवकोटाले जनाएको छ।उनका अनुसार नगरबासीलाई आफ्नै वडाबाट सहज रूपमा सेवा प्राप्त हुने भएपछि जिल्ला प्रशासन कार्यालयसम्म पुग्नुपर्ने झन्झट समेत घट्ने नगरपालिकाले विश्वास लिएको छ ।
डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा प्राविधिक पूर्वाधार सुदृढीकरणमा पनि नगरपालिका सक्रिय रहेको कमलामाई नगरपालिकाले जनाएको छ।कार्यालयका अनुसार आगामी दिनमा अन्य सेवाहरूलाई समेत अनलाइन प्रणालीमा आबद्ध गर्दै “स्मार्ट स्थानीय सरकार”को अवधारणालाई व्यवहारमा उतार्ने तयारी भइरहेको छ ।