मलंगवाका ११ वटा अवैध स्वास्थ्य संस्था शिल,कमिसनको चलखेल आरोप

237 Shares

सर्लाहीको मलंगवा नगरपालिका क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका ११ वटा स्वास्थ्य नीजि स्वास्थ्य संस्था शिल गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाही,कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाही, स्वास्थ्य कार्यालय सर्लाही,मलंगवा नगरपालिका र प्रादेशिक अस्पताल सर्लाहीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा दर्ता नै नभएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थ केयर लगायतका नीजि स्वास्थ्य संस्था शिल गरिएको हो । 
सर्लाहीका विभिन्न स्थानमा अवैध स्वास्थ्य संस्थाको बिगबिगी रहेको जनगुनासो बढेपछि संयुक्त रूपमा अनुगमन समिति बनाई गरिएको अनुगमनको क्रममा सर्लाही पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर,ठाकुर सेवा उपचार ,कल्याण हेल्थ केयर,सिद्धि गणपति पोलिक्लिनिक,प्रेमा हेल्थ केयर सेन्टर,अन्जली पोलिक्लिनिक, महतो क्लिनिक÷निलम फार्मेसी, माली मेडिकल,जय माँ सुनैना हेल्थ केयर,लाइफ लाइन मेडिकेयर पोलिक्लिनिक र नाम नभएको एउटा अल्ट्रासाउन्ड गर्ने क्लिनिकलाई शिल गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार शिल गरिएकामध्ये चार वटा नीजि स्वास्थ्य संस्था दर्ता नै नभएका पाइएको छ भने अन्य सात वटा स्वास्थ्य संस्था अनुगमन टोली आएको थाहा पाएपछि बन्द गरेर सञ्चालक फरार भएका थिए।तर सञ्चालक नभेटिएको तथा बन्द अवस्थामा रहेका स्वास्थ्य संस्थामा पनि अनुगमन टोलीले शिल गरेको छ ।मलंगवा नगरपालिका १६ वटा नीजि स्वास्थ्य संस्थाहरु को अनुगमन गरिएकोमा पाँच वटा स्वास्थ्य संस्थाहरुको नवीकरण वा अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्ने अवस्था देखिएकाले एक साताभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको अनुगमन समितिले जनाएको छ ।
यसअघि २०८१ फागुन अन्तिम साता मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतीश कुमार सिंहले गरेको अनुगमनमा मलंगवाका अधिकांश पोलिक्लिनिक तथा अस्पताल अवैध रहेको पाइएपछि बन्द गराइएको थियो।त्यसबेला मलंगवामा १९ वटा स्वास्थ्य संस्थाको अनुगमन गर्दा दर्ता नभएका तथा मापदण्ड पूरा नगरेका १५ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिइएको थियो ।अवैध रूपमा सञ्चालनमा रहेका क्लिनिक तथा अस्पतालहरूले बिरामीलाई मनपरी उपचार गर्ने,चर्को शुल्क असुल्ने,अदक्ष स्वास्थ्य कर्मी राख्ने र बिरामीको स्वास्थ्यमा खेलवाड गर्ने गरेको गुनासो आउने गरेको छ।एक वर्षअघि तत्कालीन मुख्यमन्त्री सिंहले सर्लाहीका मलंगवा, लालबन्दी,नवलपुर,हरिवन,नयाँरोड र बरहथवा लगायतका स्थानमा यस्ता स्वास्थ्य संस्था बन्द गराइएको भएपनि क्रमैसंग पुनःसञ्चालनमा आउन थालेका छन् ।
समय समयमा देखाउनका लागि अनुमगन गर्ने र समसया देखिएका नीजि स्वास्थ्य संस्थाहरु बन्द गरिएपनि क्रमैसंग खुल्नुको कारण समितिले असुली चलाउने गरेको स्थानीयको आरोप छ।अनुगमनको क्रममा वन्द गरिएका नीजि स्वास्थ्य संस्थाहरु रातरात खुल्नुको रहस्य अनुगमन समिति माथि आशंका गर्नुपर्ने स्थानीयको आरोप छ ।अनुमगनको वाहनामा कमिसन असुली चर्किने गरेको स्थानीय जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार