सरकारले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको समस्या नियन्त्रण गर्न देशव्यापी पहललाई तीव्रता दिएको छ।गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई औपचारिक सर्कुलर जारी गर्दै अतिक्रमित संरचना हटाउने कार्यमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।
मन्त्रालयद्वारा जारी पत्रमा प्रमुख जिल्ला अधिकारीहरूलाई आ–आफ्नो कार्यक्षेत्रभित्र रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी व्यवस्थित विवरण संकलन गर्न आग्रह गरिएको छ।साथै,ती स्थानहरूमा निर्माण गरिएका अवैध संरचनाहरू हटाउन सम्बन्धित निकायहरूसँग समन्वय गरी स्पष्ट कार्ययोजना तयार गर्न र उक्त योजना मन्त्रालयमा पठाउन परिपत्रमा भनिएको छ ।
गृह मन्त्रालयका अनुसार अतिक्रमण नियन्त्रणका लागि प्रशासन,सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयबीच प्रभावकारी सहकार्य अपरिहार्य रहनेछ।यस कार्यमा स्थानीय तह, वन, नापी तथा भूमि व्यवस्थापनसँग सम्बन्धित निकायहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न पनि निर्देशन दिइएको छ ।
सार्वजनिक सम्पत्तिको संरक्षण राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै मन्त्रालयले अतिक्रमण हटाउने क्रममा सम्भावित विवाद र तनावलाई ध्यानमा राखी सुरक्षा संवेदनशीलता अपनाउन जोड दिएको छ।आवश्यक परेमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन मार्फत शान्ति–सुरक्षा कायम गर्दै कार्य अघि बढाउन पनि सुझाव दिइएको छ।सोही अनुसार देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुका साथै सात सय ५३ वटै सथानीय तहहरुले पनि धमाधम सूचना जारी गर्न थालेका पाइएको छ ।
यस प्रकारका कार्यले सार्वजनिक सम्पत्तिको दीर्घकालीन संरक्षण र व्यवस्थित उपयोगतर्फ सरकारको प्रतिबद्धताका रूपमा हेरिएको छ।पछिल्लो समय देशका विभिन्न स्थानहरूमा सार्वजनिक जग्गा अतिक्रमण गरी नीजि प्रयोजनका संरचना निर्माण हुने क्रम बढ्दै गएकाले यसको नियन्त्रणका लागि कडा नीतिगत हस्तक्षेप आवश्यक रहेको जानकारहरु बताउँछन् ।