मधेश प्रदेशका मुख्य राजमार्गहरूका साथै सहायक सडक खण्डहरुमा रात पर्नासाथ ट्राफिक व्यवस्थापनको स्वरूप बदलिने गरेको पाइएको छ।दिनभर नियमित चेकजाँच,कागजात परीक्षण र सडक सुरक्षामा केन्द्रित देखिने ट्राफिक गतिविधि रातिको समयमा भने फरक ढङ्गले सञ्चालन हुने गरेको पाइएको छ ।
विशेषगरी कुखुरा ढुवानी गर्ने सवारीसाधनदेखि भारतबाट आउने मालवाहक सवारी साधनहरू सम्मलाई लक्षित गरेर हुने असुलीको विषयले मधेश प्रदेशमा ट्राफिक व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।स्रोतका अनुसार राति ८ बजेपछि पूर्व पश्चीम राजमार्गको मधेश प्रदेशको पूर्वको सप्तरीदेखि पश्चीमको बाराको अमलेखगन्ज सम्मका प्राय सबै ट्राफिक चेकपोइन्टहरू सक्रिय हुन्छन् तर ती चेकपोइन्टहरूको उद्देश्य सडक सुरक्षा भन्दा पनि “अनौपचारिक रकम उठाउने”केन्द्रजस्तै बन्ने गरेको छ ।
कुखुरा,तरकारी,फलफूल,राँगा भैसीका साथै गोरु र भारतिय मालवाहक सवारी साधनहरु लगायत नाशिने वस्तु ढुवानी गर्ने सवारी साधनहरुलाई ट्राफिक प्रहरीले विशेष रूपमा रोक्ने र “कागजात मिलेन”,“ओभरलोड छ”वा“समय सीमा नाघ्यो”जस्ता बहानामा रकम माग्ने गरिएको सवारी चालकहरुको आरोप छ।समयमै गन्तव्यमा नपुगे सामान बिग्रने जोखिम भएकाले बाध्य भएर मागिएको रकम दिनु परेको नाम नबताउँने सर्तमा एक चालकले बताए ।
एउटा ट्रकले मधेश प्रदेश पार गर्दा रातिको समयमा दर्जनौँ स्थानमा रोकिनुपर्छ।प्रत्येक स्थानमा रु सयदेखि रु दुई हजार सम्म असुली हुने गरेको उनीहरूको दाबी छ।यसरी एक रातमा एउटा सवारी साधनबाट ट्राफिक प्रहरीले हजारौँ रुपैयाँ उठ्ने गरेका उनीहरुको आरोप छ।दैनिक करिब एक हजार सवारीसाधन गुड्ने राजमार्गमा यस्तो असुलीले ठूलो रकमको अनियमित कारोबार हुने स्रोतको दाबी छ ।
भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनहरू पनि यसबाट अछुतो छैनन्। सीमावर्ती नाकाबाट प्रवेश गरेका भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई रातिको समयमा बढी लक्षित गरिने गरिएको छ।कतिपय अवस्थामा ती सवारीसाधनलाई अनावश्यक रूपमा रोक्ने,लामो समयसम्म चेकजाँँचको नाममा राख्ने र अन्ततःरकम लिएपछि मात्र छाड्ने गरिएको गुनासो व्यापक रुपमा आएको छ। यसले दुई देशबीचको यातायात सहजतामा समेत असर पार्ने जानकारहरु बताउँछन् ।
स्थानीय बासिन्दाहरूले पनि रातिको समयमा ट्राफिक प्रहरीको व्यवहार दिनको तुलनामा फरक हुने गरेको बताए।“दिनमा नियम लागू गरिरहेको देखिन्छ,तर राति पैसा नदिएसम्म गाडी चल्न दिइँदैन,”पर्साका एक स्थानीयले बताए ।उनका अनुसार यस्तो गतिविधिले ट्राफिक प्रहरी प्रतिको विश्वास घटाएको छ।
ट्राफिक व्यवस्थापनको उद्देश्य सडक दुर्घटना न्यूनिकरण,ट्राफिक नियमको पालना र सुरक्षित यात्रा सुनिश्चित गर्नु हो।तर जब यही निकायमाथि अनियमित असुलीको आरोप लाग्छ,तब यसको विश्वसनीयता गम्भीर रूपमा प्रभावित हुन्छ।मधेशका विभिन्न जिल्लामा देखिएको यो प्रवृत्तिले राज्यको कानुनी संयन्त्रप्रति नागरिकको भरोसा कमजोर बनाइरहेको जवानकारहरु बताउँछन्।
यस विषयमा ट्राफिक कार्यालयका केही अधिकारीहरू भने आरोपलाई पूर्ण रूपमा अस्वीकार गर्छन्।“हामीले नियम अनुसार चेकजाँच मात्र गरिरहेका हुन्छौं।यदि कसैले गैरकानुनी रूपमा रकम असुलेको प्रमाण छ भने उजुरी दिनुपर्छ।”एक ट्राफिक प्रहरी अधिकारीले बताए ।तर व्यवहारमा भने चालकहरूले उजुरी दिन डराउने गरेका छन्,किनभने त्यसले भविष्यमा झन् बढी समस्या निम्त्याउने आशंका उनीहरूमा छ।
भ्रष्टाचार विरोधी अभियन्ताहरूका अनुसार यस्तो समस्या समाधान गर्न कडा अनुगमन, पारदर्शिता र प्रविधिको प्रयोग आवश्यक छ।उउनीहरुका अनुसार सबै चेकपोइन्टमा सीसीटीभी क्यामेरा जडान गर्ने,ट्राफिक गतिविधिलाई डिजिटल प्रणालीमा ल्याउने र अनलाइन भुक्तानीको व्यवस्था गर्ने हो भने नगद असुलीको सम्भावना घट्न सक्छ।साथै,नागरिकबाट प्राप्त गुनासोहरूको गोप्य रूपमा छानबिन गर्ने संयन्त्र बलियो बनाउनुपर्ने उनीहरूको सुझाव छ।
राज्यले यदि समयमै यस्तो गतिविधि नियन्त्रण गर्न सकेन भने यसले आर्थिक,सामाजिक र प्रशासनिक रूपमा नकारात्मक प्रभाव पार्ने निश्चित छ।व्यवसायीहरूको लागत बढ्ने, उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र समग्र अर्थतन्त्रमा असर पर्ने देखिन्छ।साथै,प्रहरी संगठनभित्रै इमान्दार कर्मचारीहरूको मनोबल पनि घट्ने खतरा हुन्छ।
मधेशको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न दीर्घकालीन योजना आवश्यक छ।स्पष्ट कार्यविधि, कडा अनुशासन,नियमित अनुगमन र नागरिक सहभागिता मार्फत मात्र यस्तो विकृति अन्त्य गर्न सकिने जानकारहरुको सुझाब छ।जबसम्म रातिको समयमा हुने कथित असुलीको अन्त्य हुँदैन, तबसम्म ट्राफिक व्यवस्थापन प्रति जनविश्वास पुनःस्थापित हुन सम्भव छैन् ।
सडक सुरक्षा र सुशासन सुनिश्चित गर्न जिम्मेवार निकायले गम्भीरतापूर्वक कदम चाल्नु आवश्यक छ।मधेशका राजमार्गहरू केवल यातायातका माध्यम मात्र नभई ती क्षेत्रीय आर्थिक जीवनरेखा पनि हुन्।त्यसैले ती मार्गहरूमा हुने हरेक गतिविधि पारदर्शी,जिम्मेवार र कानुनी दायराभित्र हुनुपर्ने जानकारहरु बताउँछन् ।
यता,मधेश प्रदेश भन्दा बाहिर दरवन्दी भएका र मधेशमा काजमा बसी प्रहरी संगठनको आचरण विपरितका गतिविधिहरु गर्ने प्रहरी कर्मचारीहरुका कारण नेपाल प्रहरी संगठन बद्नाम भएको पूर्व प्रहरी कर्मचारीहरु बताउँछन्।नेतृत्वले मात्रै चाहेर प्रहरी संगठन सुधार नहुने त्यसका लागि जरैदेखि सुधार गर्नुपर्ने उनीहरुको सुझाब छ ।