मधेश प्रदेश स्थित पर्साको वीरगन्ज भन्सारको सेवा प्रवाह एक सातादेखि प्रभावित भएको छ । मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने भन्सार विन्दु वीरगन्जमा आउने वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न खोज्दा एक सातादेखि अत्यावश्यक पेट्रोलियम पदार्थ,औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल बाहेक अन्य वस्तु तथा सामानको भन्सार जाँचपास प्रभावित भएको छ ।
गत १५ वैशाखदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी नभएका कारण भारतको रक्सौलतर्फ मालवाहक सवारीसाधन रोकिने क्रम बढ्दो रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले बताए।उनका अनुसार दैनिक दुई सय भन्दा धेरै मालवाहक सवारीसाधन थपिने भएकाले पनि औसतमा एक हजार चार सय भन्दा बढी सवारीसाधनहरुको जाँच प्रक्रिया रोकिएको छ ।
भन्सार कार्यालय भन्सार जाँचपासको प्रक्रिया गराउन तयार भएपनि आयातकर्ता भन्सार जाँचपास गर्र्ने फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सहभागि नहुँदा भन्सार जाँचपास रोकिएको भन्सार कार्यालय स्रोतले जनाएको छ।कार्यालय स्रोतका अनुसार भन्सार विभागले आवश्यक समन्वय गरिरहेको र छिट्टै यो समस्या अन्त्य हुने छ ।
गत १५ वैशाखदेखि आयातित एवम निर्यात गरिने सामाग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) लागु गर्ने निर्णय भएको थियो।तर,सो प्रावधानको आर्यातकर्ता तथा निर्यातकताले विरोध जनाउँदै आइरहेका छन्।भन्सार जाँचपास नहुँदा भारतीय सडकमा समेत मालवाहक सवारीसाधनको लाइन लागेको वीरगञ्जको एकीकृत सुरक्षा भन्सार जाँचचौकीको व्यवस्थापनको जिम्मेवारी पाएको टीआरएस हिमालयन लर्जी पार्क प्रा.लिका इन्चार्ज गणेश घिमिरेले बताए ।
वीरगञ्ज भन्सार कार्यालयले दैनिक करिब रु ६० करोड राजस्व संकलन गर्दै आएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले बताए।उनका अनुसार यो समस्या लामो समयसम्म रहँदा राज्य र व्यवसायी दुवैलाई फाइदा नहुने भएकाले आवश्यक समन्वय गरेर टुङ्ग्याउनु आवश्यक छ ।