हरेक वर्षको चैत्र र बैशाख महिना मध्यम वर्गिय नेपाली अभिभावक हरुका लागि“उत्सव होईन्, आर्थिक दशा”बनेर आउँछ।नयाँ शैक्षिक सत्रको आगमनसँगै बजारमा कापी–किताबको गुणस्तर भन्दा बढी विद्यालयका बिलहरू को त्रास फैलिन्छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक वर्ष जस्तै यस वर्ष पनि ठेलीका ठेली कागज,परिपत्र र निर्देशनहरू जारी गयो।तर,ती निर्देशन पहिले पहिले जस्तै मन्त्रालयको दराज तथा स्थानीय तहका सूचना पाटी र सामाजिक सञ्जालमा मात्र सीमित भएका छन्।शुल्क,पुस्तक र स्टेशनरीका नाममा असीमित असुली हुँदा अभिभावक मारमा परेका छन् ।
परिपत्रको बाढी–अनुगमनको खडेरी
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ चैत २२ गते एउटा“कडा”परिपत्र जारी गर्दै शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि विद्यार्थी भर्ना नगर्न र र अग्रिम शुल्क नलिन निर्देशन दियो ।शिक्षा नियमावली २०५९ को परिच्छेद १५ लाई आधार बनाएर जारी गरिएको सो परिपत्रमा स्पष्ट भनिएको थियो।“स्वीकृत भन्दा बढी शुल्क लिएको,शीर्षक परिवर्तन गरी असुली गरेको वा पटक–पटक भर्ना शुल्क लिएको पाइएमा तत्काल फिर्ता गराउनू।”मन्त्रालयको सक्रियता यतिमा मात्र रोकिएन।चैत २५ गते अर्को विज्ञप्ति जारी गर्दै शिक्षा ऐनको दफा १६ घ (६) बमोजिम गैरकानूनी शुल्क फिर्ता नगर्ने विद्यालयलाई कारवाही गर्ने चेतावनी दिइयो ।
२०८३ वैशाख ७ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पाठ्यपुस्तकको गुणस्तर,मूल्य र विद्यालयबाटै पुस्तक बिक्री गर्ने कार्य रोक्न स्थानीय तहलाई अर्को निर्देशन दियो।तर,सर्लाहीका चोक र चिया पसलमा सुनिने अभिभावकका गफ अनुसार“मन्त्रालयको निर्देशनले निजी विद्यालयका सञ्चालकलाई छोएको छैन् ।कागजमा नियम कडा छन्।तर व्यवहारमा सर्लाहीका भव्य नीजि भवनहरु कानूनलाई चुनौती दिने अखडा जस्ता देखिन थालेका छन् ।
शुल्कको“जालझेल”र अभिभावकको बाध्यता
सर्लाहीका ठूला भनिएका विद्यालयहरूले शुल्क असुलीका यस्ता“क्रिएटिभ”बाटाहरू निकालेका छन्।जसले सरकारी निर्देशनलाई गिज्याइरहेको छ।एका तर्फ स्थानीय तहहरुले नीजि विद्यालयहरुको वर्गिरकण नगर्नु तथा शुल्क निर्धारण नगर्नु र अर्काे तर्फ नीजि विद्यालयहरुले मनरपरी शुल्क असुल्नुले अभिभावकहरुको ढाड मात्र सेकी रहेको छैन।राज्यको नीति नियमलाई समेत लत्याई रहेको एक अभिभावकले बताए ।नीजि विद्यालयहरुले अभिभावकहरु लाई मनोवैज्ञानिक त्रासमा राखेर शिक्षालाई सेवाको भन्दापनि व्यापारको रुपमा विकास गरि रहेका छन्।उनीहरुका विरुद्ध बोल्दा आफ्नो बच्चालाई विद्यालयले हेला गर्ने वा निकाल्दिने डरले अभिभावक हरू ठगिएर पनि मौन छन्।नीजि विद्यालयहरुले“काठमाडौका विद्यालयको तुलनामा हामीले थोरै शुल्क लिएका छौँ।हामीले दिएको सुविधाको अगाडि यो रकम केही होइन।”“तर प्रश्न उठ्छ।“के राम्रो शिक्षा केवल धनीका लागि मात्र हो ?”
“स्थानीय सरकार नै पुग्दैन नीजि स्कूल”
स्थानीय तहलाई माध्यमिक तहसम्मको शिक्षाको पूर्ण जिम्मेवारी छ।तर,सर्लाहीका कुनैपनि पालिकाको भूमिका“नियामक”भन्दा पनि निजी विद्यालयलाई “सहजीकरण”गर्ने खालको देखिएको छ ।नीजि विद्यालयहरुको वर्गिकरण नगर्नु र शुल्क निर्धारण नगर्नुले नीजि विद्यालयहरुसंग सर्लाहीका पालिकाका शिक्षा शाखाहरुको मिलेमतो रहेको सहजै आरोप लगाउन सकिन्छ।करिब दुई सय वटा नीजि विद्यालय रहेको सर्लाहीका कुनैपनि नीज विद्यालयको वर्गिकरण गरिएको छैन भने कुनै पनि नीजि विद्यालयका शुल्क निर्धारण गरिएको छैन् ।
जिम्मेवारी अनुसार नीजि विद्यालयलाई“क”,“ख” र“ग”वर्गमा विभाजन गरी शुल्कको सीमा तोक्नु पर्नेमा सर्लाहीका कुनैपनि पालिकाले नीजि विद्यालयहरुको वर्गिकरण र शुल्क निर्धारण गरेका छैनन्।जसका कारण नीजि विद्यालयहरुले आफुखसी शुल्क असुली रहेका छन्।र्लाहीका नीजि विद्यालयहरुले मासिक शुल्क वाहेक वार्षिक अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, मर्मत र पुस्तकालय जस्ता शीर्षकमा तथा वार्षिक शुल्कको नाममा समेत शुल्क असुली रहेका छन् ।
नीजि विद्यालयहरुले लिने अतिरिक्त शुल्कहरु अभिभावकको प्रत्यक्ष सहभागिता र अनुमोदनमा मात्र तय गर्न पाइने भएपनि नीजि विद्यालयहरुले अभिभावक भेला गर्ने तथा विद्यालय व्यवस्थापन समिति तथा अभिभावक संघ समेत गठन नगर्ने गरेका समेत पाइएको छ ।नियम अनुसार विद्यालयले शुल्क प्रस्ताव गर्ने र सेवा उपभोग गर्ने विद्यार्थीका कम्तीमा दुई तिहाइ अभिभावकहरूबाट त्यसलाई अनिवार्य रूपमा अनुमोदन गराउनुपर्नेछ।”तर व्यवहारतः यो कुरा कार्यान्वयनमा आएको कतै देखिदैन ।
सर्लाहीमा ९२ वटा प्याब्सन र ३३ वटा एनप्याब्सनमा नीजि विद्यालयहरु रहेका छन्।यी विद्यालयहरुलाई भौतिक पूर्वाधार र सुविधाका आधारमा यी विद्यालयलाई“क”,“ख”र “ग”वर्गमा विभाजन गर्नु पर्नेमा सर्लाहीका पुराना भनिएका प्याब्सन अन्र्तगतका एभरेष्ट एकेडेमी ,रकभेल एकेडेमी,लालिगुराँस एकेडेमी,लर्ड व्राईट वाईजडम इन्टरनेस्नल इङ्गिलिस स्कुल, सनराईज अंग्रेजी आवासीय विद्यालयका साथै एनप्याब्सन अन्र्तगत अर्किट इङ्गिलिस बोर्डिङ, स्कुल,कम्युनिटि वेयलफेयर आवासीय विद्यालय,हरिवन मनकामना आवासीय विद्यालय, इश्वरपुर मनकामना विद्यालयका साथै एजुकेसन होम लगायतका विद्यालयहरुको समेत वर्ग निर्धारण गरिएको छैन ।नियमअनुसार वर्गिकरणमा गरि“क”वर्गका विद्यालयले“ग”वर्गको तुलनामा २५ प्रतिशत र“ख” वर्गले २० प्रतिशत बढी शुल्क लिन पाउने भएपनि अतिरिक्त सुविधाका नाममा लिइने शुल्कले यो सीमालाई सजिलै नाघ्ने गरेको छ।कम्प्युटर,खाजा,यातायात वा विशेष प्रशिक्षणका लागि शुल्क लिंदा दुईतिहाइ अभिभावकको सहमति अनिवार्य हुनुपर्ने भने पनि बास्तविकता निकै फरक छ।प्याब्सनका केही पदाधिकारी भन्छन्,“अभिभावकलाई बैठकमा बोलाउँदा नआउने र आए पनि निर्णय प्रक्रियामा सहभागी नहुने समस्याले गर्दा यो दुईतिहाइको प्रावधान केवल कागजी प्रक्रियामा सीमित छ ।”
पहुंचको राजनीतिमा ठूला स्कूल
आखिर मनपरी शुल्क असुल्ने र सरकारका निर्देशनलाई नटेर्ने निजी स्कूलहरूलाई किन कारबाही हुँदैन त?यसको जरा राजनीति र पहुँचसँग जोडिएको छ।अभिभावकहरुका अनुसार साना विद्यालयले नियम पालना गरे पनि ठूला विद्यालयका सञ्चालकहरूको पहुँच सिधै “सत्ताको केन्द्र”सम्म छ।“शिक्षा मन्त्री वा उच्च अधिकारी हरुलाई सर्लाही आउँदा स्वागत गर्नेदेखि होटलमा भोज खुवाउने सम्मको व्यवस्था प्याब्सन र एन–प्याब्सनका नेतृत्वले गर्छन्।जब नीति निर्माता र कार्यान्वयन गर्ने निकाय नै विद्यालय सञ्चालकको आतिथ्यमा रमाउँछन्,तब अनुगमनको फाइल दराजमै थन्किनु स्वाभाविक हो।”“निजी विद्यालयको महंगी सहन नसकेर कतिपय अभिभावक अचेल “राम्रा”भनिएका सामुदायिक विद्यालय तिर पनि मोडिन थालेका छन्।तर,त्यहाँ पनि राहत छैन।लालबन्दीका जनज्योती मा.वि.,जानकी मा.वि र फौदसिंह मा.वि जस्ता विद्यालयले“अंग्रेजी माध्यम” र“अभिभावक सहयोग”का नाममा राम्रै शुल्क लिने गरेका छन् ।जनज्योती माविले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग वार्षिक रु १० हजार पाँच सय देखि १३ हजार पाँच सय सम्म र फौदसिंह मा.विले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग वार्षिक रु १२ हजार पाँच सयदेखि २० हजार सम्म तथा जानकी मा.विले कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुसँग वार्षिक १२ हजारदेखि १३ हजार सम्म“अभिभावक सहयोग”भनेर शुल्क लिइरहेका छन्।
निःशुल्क शिक्षाको संवैधानिक हकलाई यी विद्यालयले पनि चुनौती दिइरहेका छन्।नीजिले खुल्लम खुला शिक्षाको “व्यवसाय”गर्दा सामुदायिक विद्यालयहरुले “अभिभावक सहयोग”को नाममा अभिभावकहरुसँग पैसा उठाइरहेका छन्। सरकारले विद्यार्थी अनुसार शिक्षक दरबन्दी र विद्यालय सञ्चालन खर्च नदिएका कारण आफुहरुले शिक्षक तथा विद्यालय व्यवस्थापनका लागि शुलक उठाउनु परेको उनीहरुको भनाई छ।उनीहरूले उठाइरहेको यस्तो“सहयोग” व्यावहारिक रूपमा केही जायज भएपनि कानूनत नजाय नै हो ।
पाठ्यपुस्तकमा अर्को ठगी
सर्लाहीका सामुदायिक विद्यालयहरुमा अध्यायन गर्ने विद्यार्थीहरुले कक्षा ४ देखि १० सम्मका केही किताबहरु किन्नुपर्छ ।सरकारले उपलब्ध गराउने पुस्तकहरूमा नपर्ने ती केही किताबहरु फरक फरक प्रकाशनका फरक फरक मुल्य रहेका हुन्छन् ।असाध्यै कम गुणस्तर र कमसल कागजमा छापिएका ती किताबहरुकोे मूल्य महंगो हुने गरेको अभिभावकहरुको गुनासो छ।उनीहरु भन्छन्,“किताब महँगो छ,भित्र त झन् पुरानो जस्तो छ।“शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयबाटै पुस्तक र स्टेशनरी बिक्री गर्न रोक लगाए पनि सर्लाहीका अधिकांश विद्यालयले निश्चित पसल तोकिदिने वा विद्यालय परिसरबाटै सेटका सेट पुस्तक भिडाउने गरेका छन्।केही प्रकाशनले त स्वीकृति नै नलिई,मूल्य नै नतोकी र न्यून गुणस्तरको कागज प्रयोग गरी बढी मूल्यमा पुस्तक बेचिरहेका छन्।सरकारको परिपत्र अनुसार“अनुगमन र कारवाही गर्ने शब्द परिपत्रमा मात्रै सीमित भएको छ।जेठ आधा सकिँदा पनि सर्लाहीका कुनै पसलहरुमा छापा मारिएको छैन भने कुनै विद्यालयहरुमा अनुगमन समेत गरिएको छैन तर शिक्षा मन्त्रालयबाट परिपत्र र निर्देशन आउने क्रम भने रोकिएका छैनन् ।