बागमती सिँचाइ आयोजनाले आफ्नो अतिक्रमण भएको नहरको अतिक्रमण हटाउने भएको छ। सर्लाही र रौतहट कार्य क्षेत्र रहेको आयोजनाले“नेपाल सरकारको शासकीय सुधार सम्बन्धि एक सय कार्यसूची”को (ट) कृषि, भूमि, पूर्वाधार र आधारभूत सेवा कार्य सूचीको बुँदा ९२ मा “सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण नियन्त्रण गर्ने डिजिटल अभिलेख तयार गर्ने, निगरानी प्रणाली सुदृढ गर्ने तथा अवैध कब्जा हटाउने कार्य तत्काल प्रारम्भ गर्ने,नयाँ अतिक्रमणमा कडाइका साथ रोक लगाउने र अवैध कब्जा हटाउने विषेश अभियान सञ्चालन गर्ने” योजना अनुरुप बागमती सिँचाइ आयोजनाको नहरको दुवै तर्फ २२ मिटर देखि एक सय २५ मिटर सम्मको रहेको र सो भित्र निर्माण भएका संरचनाहरु हटाउन नहरको सर्वे सुरु गरिएको बागमती सिँचाइ आयोजनाका सूचना अधिकारी सुनिल साहले जानकारी दिए ।
उनका अनुसार २०५० सालबाट नहर निर्माणको काम भएको र सो समयमा मुख्य नहर करिब दुई सय किलो मिटर रहेको थियो। उक्त क्षेत्रमा नयाँ अतिक्रमण नगर्न र पुरानो अतिक्रमण कहाँ ?के ? कति ? भएको छ भन्ने एकीन तथ्यांक निकाल्न सर्वेको काम सुरु भएको हो ।
नापी,मालपोत तथा आयोजनाको प्राविधिक टोलीले रौतहट क्षेत्रमा नहरको नापजाँचको काम सुरु गरेको र नापजाँचको काम सकिएपछि अतिक्रमण हटाउने काम सुरु हुने आयोजनाले जनाएको छ।परियोजनाका अनुसार पुरानो तथ्यांक मात्रै कार्यालयमा रहेका कारण सूचना जारी गरिएको भएपनि नयाँ नापजाँच गरेपछि एकीन तथ्यांक आउने र सोही अनुसार अतिक्रमण कहाँ र कति भएको एकिन हुने छ ।नहर अतिक्रमण गरि बनाइएको घर,टहरा तथा अन्य विभिन्न प्रयोजनका संरचनाहरु निर्माण गरेको तथा अतिक्रमण भएको साथै बागमती सिचाइ आयोजना राष्टिूय गौरवको आयोजनाको रुपमा कार्यान्वयनको प्रकृयामा रहेकाले नहरलाई थप व्यवस्थित बनाउनु पर्ने र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले थप पानीलाई यस क्षेत्रमा रहेको सिंचित हुन सक्ने क्षेत्रमा सिंचाइ सुविधा विस्तार गर्ने गरी यस बागमती सिंचाइ आयोजनाले सिंचाइ सुविधालाई पुननिर्माण एवम विस्तार गर्ने प्रक्रिया समेत अगाडि बढाई सकेकाले आयोजना क्षेत्रमा नयाँ अतिक्रमण नगर्न र नहरको दुवै तर्फ विगतमा गरिएको अतिक्रमण तत्काल हटाउन सूचना नै जारी गरिएको आयोजनाका प्रमुख सन्तोष चौधरीले बताए ।
यता,चैत्र २६ गते सात दिनको समय निर्धारण गरेर अतिक्रमण भएको नहरको क्षेत्र खाली गराउन सूचना जारी गरेको आयोजनाले करिब दुई महिना हुँदापनि अतिक्रमण खाली गराउन नसकेको पाइएको छ । जलश्रोत तथा सिंचाई विभागको २०८२ चैत्र २२ गते पत्राचार गरेपछि तातेको आयोजनासंग नयाँ तथ्यांक नरहेका कारण अतिक्रमण हटाउने काम गर्न नसकेको पाइएको छ।तर आयोजनासंग नै आयोजनाको नहरको तथ्यांक नरहेको पाइएपछि तथ्यांक संकलनको काम पहिला गरेर मात्रै वास्तविक अतिक्रमण क्षेत्र निस्कने भएपनि हतारमा सूचना जारी गरिएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ ।