सर्लाहीको लालबन्दी नगरपालिका–१३ र १४ जोड्ने नारायण खोलाको पुल निर्माण कार्य फेरी प्रभावित हुने भएको छ।संघिय सरकारको समपुरक र लालबन्दी नगरपालिकाको ५०/५० प्रतिशत लगानी गरी कुल रु छ करोड आठ लाखमा समता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. विर्तामोढ नगरपालिका–३ झापाले ठेक्का सकार गरेको उत्त पुल निर्माणको काम रनिङ्ग विल भुक्तानी नभएको भन्दै निर्माण कम्पनीले काम स्थगीत गर्ने पत्र लालबन्दी नगरपालिकामा पठाएपछि उत्त पुल निर्माण कार्य फेरी प्रभावित हुने भएको हो ।
समता कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.विर्तामोढ नगरपालिका–३ झापाले २०७९ चैत्र १७ गते २०८० चैत्र १६ गते सम्म निर्माण सम्पन्न गर्ने भन्दै ठेक्का सकार गरेको भएपनि काम सुरु गर्दा निर्माण कम्पनीले वेवास्था गरेको र अहिले धमाधम काम भएपनि भुक्तानी दिने सवालमा नगरपालिकाले वेवास्था गरेपछि पुल निर्माणको काम प्रभावित हुने भएको हो ।
“निर्माण कम्पनीले रनिङ्ग बिल भुक्तानी गर्ने सम्बन्धमा” भन्दै बैशाख १४ गते नगरपालिकामा निवेदन पेश गरेकोमा नगरपालिकाले वेवास्था गरेपछि दोस्रो पटक सोमबार निर्माण कम्पनीले “रनिङ्ग बिल भुक्तानी तथा कार्य स्थगीत गर्ने सम्बन्धमा”भन्दै नगरपालिकामा निवेदन पेश गरेपछि यस वर्षपनि पुल निर्माणको काम प्रभावित हुने देखिएको हो ।
निर्माण कम्पनीले लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी लेखेको पत्रमा“त्यस कार्यालय र यस समता कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. बिच मिति २०७९ चैत्र १७ मा सम्झौता भई हाल काम भईरहेको ठे.नं.NCB–०२–०७९/०८०,नारायण खोलामा ट्रष्ट पुलको मूल्य समायोजन सहित रनिङ्ग बिल भुक्तानी दिनु हुन बिनम्र अनुरोध छ भनि मिति २०८३ बैशाख १४ मा दिइएको निवेदन माथिको कारवाहि आजका मिति सम्म पनि कार्यालयले नगरेको साथै विगत मिति २०८१ कार्तिक २८ मा दिइएको द.नं. १०८९/२०८१ कार्तिका २८ को Variation गर्ने पत्रको पनि आजका मिति सम्म कुनै कारबाहि नगरेको हुँदा त्यस कार्यालयबाट भुक्तानी नभए सम्मका लागि मिति २०८३ जेठ १९ गतेबाट निर्माण कार्य स्थगन गरिने र कार्यलयलले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिने साथै यसको सम्पुर्ण जवाफदेहि स्वयम कार्यलय रहने व्यहोरा जानकारी साथ अनुरोध छ ।”भनिएको छ ।
निर्माण सुरु गर्दा निर्माण कम्पनीले विभिन्न वाहनामा निर्माणको काम सुस्त बनाएको भएपनि हाल निर्माणको काम तिब्र गतिमा भएको ट्रष्ट हाल्ने काम समेत करिब सकिनै लाग्दा समेत नगरपालिकाले भुक्तानी नदिएपछि आफु मारमा परेको निर्माण कम्पनीका प्रतिनिधि गोविन्द बस्नेतले गुनासो गरे ।
उनका अनुसार हालसालै करिब तीन करोडको काम सकिएको भएपनि नगरपालिकाले भुक्तानी नगर्दा काम गर्न सक्ने अवस्था नरहेपछि बाध्य भएर काम स्थगीत गर्ने पत्र नगरपालिकामा पठाउनु परेको हो ।उनका अनुसार हाल सम्म करिब पाँच करोडको काम सकिएको भएपनि करिब दुई करोड पनि भुक्तानी नगर्दा आफुहरुले घरखेत धितो राखेर काम गरि रहेको र अन्तीम अवस्थामा पनि भुक्तानीमा समस्या सृजना गरेपछि निर्माण कार्य स्थगीत गरिएको हो ।
“हामीले करिब पाँच करोडको काम सकेर लालबन्दी नगरपालिकामा भुक्तानीका लागि पटक विल पेश गरेका छौँ तर नगरपालिकाले हाम्रो विल उपर कुनै सुनुवाई गरेन्।ट्रष्ट समेत ल्याएको सवारी साधनको भाडा समेत तिर्न नपाउँदा समेत भुक्तानी नदिएपछि काम कसरी गर्न सकिन्छ ।”निर्माण कम्पनीका प्रतिनिधि बस्नेतले बताए।उनले नगरपालिकाबाट आफुहरु पीडित भएको समेत गुनासो गरे।सो विषयमा बुझ्न नगरपालिकाका इन्जिनियर रोशन पण्डीतलाई फोन सम्पर्क गर्दा उनको फोन उठेन ।
यता,लालबन्दी नगरपालिका–१४ का वडा अध्यक्ष छेनाम सिं घिसिङले अहिले भुक्तानी दिए निर्माण कम्पनी फेरी हराउने भएकाले काम सकिएपछि भुक्तानी दिने विषयमा नगरपालिकामा मौखिक सहमती भएको र सोही अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेपछि भुत्तानी दिईने बताए।
त्यस्तै,२०८० चैत्र १६ गते सम्ममा निर्माण सम्पन्न हुनु पर्ने पुलको काम कहिले निर्माण कम्पनीको तर्फबाट त कहिले नगरपालिकाको तर्फबाट विभिन्न किसिमका समस्याहरु सृजना हुँदा यस वर्षपनि वर्षामा पुलबाट पाखाको बाटो भएर लालबन्दी आउने जाने नारायण खोलाबासीको सपना साकार नहुने निश्चित भएको छ ।
“आफ्नो गाउँ जाने पाखाको बाटो निर्माण भएसंगै पुल पनि निर्माण सुरु भएपछि आफुहरुलाई वर्षाको समयमा खोलाको बाटोको विकल्प भयो भन्ने लागेको थियो तर निर्माण कम्पनी र नगरपालिकाको विचमा के कारणले?के समस्या सृजना भयो? र पुल निर्माणको काम प्रभभावित भयो?थाहा भएन तर यस वर्षपनि वर्षामा खोलाकै बाटो भएर हिड्नु पर्ने बाध्यताले छाडेन्।”स्थानीयले गुनासो गरे ।