सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न नौ वटा वडामा गरी दुई हजार भन्दा बढी भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका रहस्य फेला परेको छ।१७ वटा वडा रहेको लालबन्दी नगरपालिकाको वडा नम्बर ४,६,९,१०,११,१४,१५,१६ र १७ मा गरी नौ वटा वडामा दुई हजार ९६ भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका रहस्य फेला परेको हो ।
लालबन्दी नगरपालिका सर्लाहीका २० वटा पालिकाहरु मध्ये भूगोलको हिसाबले सबै भन्दा ठूलो भूगोल भएको नगरपालिका रहेको र यस क्षेत्रको वडा नम्बर ४ मा सडकको तथा वडा नम्बर १५ मा खोला छेउको सार्वजनिक जमिन भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले प्रयोग गरेका र बाँकी रहेका सात वटा वडामा वन क्षेत्रको जमिन भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले प्रयोग गरेका रहस्य फेला परेको हो ।
स्रोतका अनुसार लालबन्दी नगरपालिका ४ को मुसरी टोलमा २० भूमिहीन सुकुम्बासी र दुई अव्यवस्थित बसोबासी रहेका छन्।उनीहरु विगत करिब ४२ वर्षदेखि बसोबास गरी रहेका हुन ।लालबन्दी नगरपालिका ६ को वन कार्यालय टोलमा एक सय ५० भूमिहीन सुकुम्बासी र ५० अव्यवस्थित बसोबासीले करिब ३२ वर्षदेखि र लालबन्दी नगरपालिका ६ कै नयाँबस्ती राजघाट क्षेत्रमा १० भूमिहीन दलित,१५ भूमिहीन सुकुम्बासी र ५५ भूमिहीन अव्यवस्थित बसोबासीहरुले करिब २० वर्षदेखि सो क्षेत्रमा बसोबास गरि रहेका हुन्।लालबन्दी नगरपालिका ९ का सुन्दरबस्ती क्याम्पस चोकको वन क्षेत्रको जमिनमा २४ भूमिहीन दलित,१३ भूमिहीन सुकुम्बासी र तीन अव्यवस्थित बसोबासीहरु विगत करिब ४२ वर्षदेखि बसोबास गरि रहेका फेला परेको छ ।
लालबन्दी नगररपालिका १० को चन्द्रपुर क्षेत्रको वन क्षेत्रको जमिनमा ५० भूमिहीन दलितहरु विगत २२ वर्षदेखि बसोबास गरी रहेका छन्।लालबन्दी नगरपालिका ११ को वन क्षेत्रमा ५० भूमिहीन सुकुम्बासी तथा १० अव्यवस्थित बसोबासीहरु करिब करिब २७ वर्षदेखि बसोबास गर्र्दै आएका पाइएको छ ।
लालबन्दी नगरपालिका १४ को पुरै वडा वन क्षेत्रको जमिनमा रहेको पाइएको छ।लालबन्दी नगरपालिका १४ मा करिब ९२ वर्षदेखि एक हजार तीन सय भूमिहीन बसोबासी र दुई सय ४० अव्यवस्थित बसोबासी रहेका पाइइएको हो।लालबन्दी नगरपालिका १५ को तिनतले क्षेत्रमा फुलजोर खोलाको छेउमा आठ भूमिहीन दलित र दुई अव्यवस्थित बसोबासीहरु करिब २० वर्षदेखि बसोबास गरि रहेका पाइएको हो ।
त्यसैगरी लालबन्दी नगरपालिका १ को जंगल टोल सागरनाथ वन विकास परियोजनाको क्षेत्रमा २१ भूमिहीन दलित र सात अव्यवस्थित बसोबासीहरु करिब ३० वर्षदेखि र लालबन्दी नगरपालिका १६ कै महादेव स्थान क्षेत्रको वनको जमिनमा १३ भूमिहीन दलित,२३ भूमिहीन सुकुम्बासी र चार अव्यवस्थित बसोबासीहरु रहेका पाइएको छ ।
या,लालबन्दी नगरपालिका १७ को पानीट्यांकी क्षेत्रको वनको जमिनमा नौं भूमिहीन दलित,१३ भूमिहीन सुकुम्बासी र पाँच अव्यवस्थित बसोबासीहरु विगत करिब १८ वर्षदेखि बसोबास गरि रहेका स्रोतले जनाएको हो । १७ वटा वडा रहेको लालबन्दीका नगरपालिकाका नौ वटामा एक सय ३५ भूमिहीन दलित,एक हजार पाँच सय ८४ भूमिहीन सुकुम्बासी र तीन सय ७७ अव्यवस्थित बसोबासीहरु विगत १८ वर्ष भन्दा बढी समयदेखि बसोबास गरि रहेका पाइएको हो ।