सर्लाहीको धनकौल गाउँपालिका–५ स्थित रहेको इलाका प्रहरी कार्यालय हरकठवामा स्थानीय फेकु दासमाथि प्रहरीद्वारा कुटपिट भएको रहस्य सार्वजनिक भएको छ।निजी विद्यालयको शुल्क विवादको विषयमा सोधपुछका लागि इलाका प्रहरी कार्यालय हरकठवा बोलाइएका दासमाथि प्रहरीले नै कुटपिट गरेको रहस्य सार्वजनिक भएको हो ।
दास विरुद्ध उजुरी परेपछि पक्राउ गर्न गएको प्रहरी टोली माथि दासले आक्रमणको प्रयास गरेका र सो समयमा उनलाई नियन्त्रणमा लिन खोज्दा केही चोटपटक लागेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए।उनका अनुसार पक्राउ गर्ने क्रममा चोटपटक लागेका दासलाई उपचारको लागि समन्यव गरिएको साथै छानविन टोली गठन गरेर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु भएको छ । अनुसन्धानबाट प्रहरी कर्मचारी दोषी देखिए हदै सम्मको कार्बाही गर्ने समेत जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक गौतमले बताए ।
यता,दासका दुई छोरा अघिल्लो शैक्षिक सत्रमा स्थानीय साइनिङ स्टार एकेडेमी बोर्डिङ स्कुलमा अध्ययन गर्ने गरेका र विचमा दुवै छोरालाई अर्कै विद्यालयमा भर्ना गरेपछि पनि विद्यालयमा रु १३ हजार छ सय शुल्क नतिरेको भन्दै विद्यालय सञ्चालक सञ्जय साहले जिल्ला प्रशासन कार्यालय,सर्लाहीमा निवेदन दिएका थिए।सोही निवेदनमाथि छलफल गर्न जिल्ला प्रशासन कार्यालयबाट जिल्ला प्रहरी कार्यालय हुँदै इलाका प्रहरी कार्यालय हरकठवालाई पत्राचार भएको थियो ।
त्यसपछि छलफलका लागि इलाका प्रहरी कार्यालय हरकठवा गएका दासलाई प्रहरीले केही कागजातमा हस्ताक्षर गर्न भनेपछि अटेर गर्दा प्रहरीले निर्घात कुटपिट गरेका दासका दाइ इन्दल दासले बताए । उनका अनुसार प्रहरी जवान रामजीवन पासवानले दासलाई अर्को कोठाभित्र लगेर बाँसको भाटा र बुटले कुटपिट गर्दा उनको बायाँ हात,तिघ्रा र पिठ्युँमा गम्भीर चोट लागेको छ ।
त्यस्तै,इलाका प्रहरी कार्यालय हरकठवाका प्रमुख एवम सई पदम खड्काले कार्यालय भित्र दास र प्रहरी जवान पासवानबीच विवाद हुँदा प्रतिरक्षामा जवान पासवानले लाठी चलाउनु परेकोे स्वीकार गरे ।
यद्यपि,घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमको नेतृत्वमा छानबिन समिति गठन भएर घटनाबारे छानबिन सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।साथै पटक–पटक ताकेता गर्दा पनि तिर्न बाँकी शुल्क नतिरेकाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा लिखित उजुरी दिनुपरेको निजी विद्यालयका सञ्चालक साहले बताए ।