सर्लाहीको बागमती नगरपालिकाले २८ करोडको लागतमा सुविधा सम्पन्न फनपार्क निर्माण गर्ने भएको छ । प्रदेशकै पहिलो र सुविधा सम्पन्न फनपार्क निर्माण गर्ने बागमती नगरपालिकाले जनाएको छ ।
फनपार्कको लागि जग्गा अधिग्रहण लगायतका पहिलो चरणका सम्पुर्ण काम सम्पन्न भईसकेको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिनुभयो । ठेक्का प्रकृया समेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाउको छ । फनपार्क निर्माणको कामको काम सुरु भई सकेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विमल कुमार पोख्रेलले बताउनु भयो ।

फनपार्क बागमती नगरपालिका ११ स्थित बागमती नदि किनार बागमती सिंचाईको ब्यारेज उत्तर हरिहर क्षेत्रमा निर्माण हुन लागेको हो। ६७ रोपनी क्षेत्रफलमा निर्माण हुने फनपार्कको अनुमानित लागत २८ करोड रहेको नगरपालिकाले जनाएको छ।
फनपार्कमा सुविधा सम्पन्न अतिथि गृह देखि स्विमिङ पुल, पार्क भित्र बालवालिकाको लागी खेल्ने सामग्री सहितको चिल्ड्रेन पार्क, पिकनिक स्पट, आकर्षक झर्ना, रेस्टुरेन्ट, तथा बागमती किनारमा नदि सयरको समेत ब्यवस्था रहने नगर प्रमुख थापाले बताउनु भयो ।
पहिलो चरणमा पार्क निर्माणको लागि २४ करोडको बजेट तयार भएको नगरपालिकाले जनाएको छ। यस पार्कको निर्माणले बागमती नगरपालिकाको मात्र नभएर प्रदेश नम्बर २ को पर्यटकिय विकास र स्थानीयको आर्थिक उपार्जनमा ठुलो महत्व राख्ने नगर उप प्रमुख लिला मोक्तानले बताउनुभयो ।
आन्तरीक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्नका लागि फन पार्कले महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको छ ।