रास्वपा सर्लाहीको प्रथम अधिवेशन अनिश्चितकालका लागि स्थगित,२५ जिल्लाको अधिवेशन सम्पन्न

208 Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको प्रथम जिल्ला अधिवेशन प्रक्रियागत काम पूरा नभएको भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको छ।अर्को सूचना जारी नभए सम्मका लागि अधिवेशन स्थगित गरिएको भन्दै निर्वाचन समितिले प्रेस विज्ञप्ती जारी गरेको छ ।सर्लाहीको हरिवनमा आइतबार आयोजना गरिएको अधिवेशनमा जिल्लाभरबाट प्रतिनिधि तथा कार्यकर्ताहरू सहभागी भएका भएपनि अपरान्ह करिब ४ बजे निर्वाचन समितिले सूचना जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएको हो ।
मतदाता नामावली,पालिका अधिवेशन सम्बन्धी कागजात तथा निर्वाचित प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्य पूरा नभएकाले निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको जिल्ला निर्वाचन संयोजक डा.जयप्रकाश महतोले बताए।उनका अनुसार “पालिका अधिवेशनका आवश्यक कागजातहरू अपूर्ण रहेका, निर्वाचित प्रतिनिधिहरूको विवरण केन्द्रीय डिजिटल पोर्टलमा प्रविष्ट हुन बाँकी रहेको साथै स्वीकृत कार्यविधि अनुसार कतिपय प्रक्रियामा प्राविधिक त्रुटि देखिएको छ।त्यस कारण तत्काल निर्वाचन प्रक्रिया सञ्चालन गर्न सम्भव नभएको हो।”प्रदेश अधिवेशन जेठ २८ गतेका लागि तय भएकाले राास्वपाले त्यसअघि नै सबै जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।वर्तमान जिल्ला सभापति तथा सभापति पदका उम्मेदवार समेत रहेका सरोज बानियाँले पार्टीको आधिकारिक डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा प्रक्रियागत त्रुटि भएको दाबी गरेका छन् ।उनका अनुसार“केन्द्रले छानबिन गरी जिम्मेवार व्यक्तिलाई कारबाही गर्दै विधि र विधान अनुसार विवरण अद्यावधिक गरेर जिल्ला अधिवेशन अघि बढाउनुपर्छ।” जिल्ला अध्यक्ष पदका लागि वर्तमान सभापति वानियाँ र कृष्णनन्दन यादव लगायतले उम्मेदवारी घोषणा गरेका छन् ।भने २० वटा पालिका रहेको सर्लाहीका धेरै पालिकाहरुको अधिवेशन हुन बाँकी रहेको स्रोतले जनाएको छ।रास्वपा स्रोतका अनुसार ३० प्रतिशत पालिकाहरुको अधिवेशन भएको अवस्थामा जिल्ला अधिवेशन गर्न मिल्छ ।
यता,शनिबार र आइतबार दुई दिन चलेको जिल्ला अधिवेशनमा यो समाचार तयार पार्दा सम्म २५ वटा जिल्लामा अधिवेशन सकिएको छ।यी जिल्लाहरु मध्ये केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएपनि अधिकांशमा निर्वाचन मार्फत जिल्ला कार्यसमिति चुनिएको छ।जसमा  झापा,मोरङ,सुनसरी, भोजपुर,ताप्लेजुङ,तेह्रथुम,सिन्धुली, संखुवासभा,ओखलढुङ्गा,रामेछाप ,दोलखा काभ्रे, काठमाडौं,भक्तपुर, नुवाकोट,धादिङ, मकवानपुर, कास्की, पर्वत,दाङ,हुम्ला,म्याग्दी,बैतडी,गुल्मी र रोल्पाको अधिवेशन सकिएको छ।पछिल्लो समय रास्वपामा सभापति रवि लामिछाने र नेता बालेन्द्र साह(बालेन)का साथै मनिष झा र डा.अमरेश कुमार सिंह विच आन्तरिक द्धन्द्ध सृजना भएको छ।जसको प्रभाव अधिवेशनमा परेको छ ।

सम्बन्धित समाचार