सर्लाहीको हरिपुर्वा नगरपालिकाले बालबालिकाको अधिकार सुनिश्चित गर्दै समग्र विकासका लागि आफूलाई तीन वर्ष भित्रमा बालमैत्री तथा पोषणमैत्री पालिका घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।बागमती सेवा समाज हरिवन सर्लाहीको आयोजना तथा वल्ड भिजन ईन्टरनेस्नल नेपालको सहयोगमा बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजनाले सञ्चालन गरेको एक कार्यक्रममा बाल अधिकार संरक्षण,बाल सहभागिता,शिक्षा,स्वास्थ्य,सरसफाइ तथा पोषण सुधारलाई प्राथमिकतामा राख्दै आवश्यक सूचकहरू पूरा गर्ने लक्ष्यका साथ २०८६ असार मसान्त सम्ममा हरिपुर्वा नगरपालिकालाई बालमैत्री तथा पोषणमैत्री पालिकाक घोषणा गर्ने प्रतिबद्धता जनाईएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद कुमार साह तेलीले जानकारी दिए ।उनका अनुसार बालमैत्री स्थानीय शासन सञ्चालन कार्यविधि तथा पोषण मैत्री स्थानीय शासनका मापदण्ड अनुसार आवश्यक पूर्वाधार निर्माण,जनचेतनामूलक कार्यक्रम तथा संस्थागत सुधारका कार्यलाई तीव्रता दिदैँ लगिएको र २०८६ असार मसान्त सम्ममा हरिपुर्वा नगरपालिकालाई बालमैत्री तथा पोषणमैत्री पालिका घोषणा गर्ने प्रतिवद्धता जनाईएको हो ।

बालबालिकाको सर्वाङ्गीण विकास नै समृद्ध समाज निर्माणको आधार भएकाले पालिकाले बालमैत्री तथा पोषणमैत्री घोषणा प्रक्रियालाई उच्च प्राथमिकतामा राखेको र विद्यालय भर्ना अभियान,खोप कार्यक्रम,बाल क्लब गठन,किशोरी स्वास्थ्य कार्यक्रम,सरसफाइ अभियान तथा कुपोषण न्यूनीकरणका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेका नगर उप प्रमुख सुमित्रा देवी गुहारनीले बताईन् ।
पालिका भित्रका विद्यालयहरूमा बालमैत्री सिकाइ वातावरण निर्माण,शुद्ध खानेपानीको व्यवस्था, शौचालय निर्माण तथा बाल सहभागिता अभिवृद्धिका कार्यक्रम सञ्चालन भई रहेको बालबालिकाको पोषण अवस्थालाई सुधार गर्न स्वास्थ्य संस्थामार्फत नियमित परामर्श,पोषण शिक्षा तथा अनुगमनलाई निरन्तरता दिइएको उनले बताईन।हरिपुर्वा नगरपालिकाले वडा तहसम्म बाल संरक्षण समिति गठन गरी बाल अधिकार उल्लंघन,बालविवाह,बालश्रम तथा विद्यालय छाड्ने दर न्यूनीकरणका लागि अभियान सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत जगदीश अर्यालले बताए।स्थानीय समुदाय,विद्यालय व्यवस्थापन समिति,महिला समूह तथा सरोकारवाला निकायसँगको सहकार्यमा बालमैत्री वातावरण निर्माणका गतिविधिहरू अगाडि बढाइएका उनले बताए।
बालमैत्री तथा पोषणमैत्री पालिका घोषणा गर्न आवश्यक सूचकहरूको मूल्याङ्कन,तथ्याङ्क संकलन तथा प्रमाणीकरणको काम भई रहेको नगरपालिकाले जनाएको छ।निर्धारित मापदण्ड पूरा भएपछि औपचारिक रूपमा बालमैत्री तथा पोषण मैत्री पालिका घोषणा गर्ने तयारी गर्दै बालमैत्री तथा पोषण मैत्री पालिका घोषणा गर्न प्रतिवद्दता हस्ताक्षर गरिएको हो।यता,बालमैत्री तथा पोषणमैत्री घोषणा मात्र नभई दीर्घकालीन रूपमा बालबालिकाको हितमा कार्यक्रम सञ्चालन हुनुपर्नेमा स्थानीयले जोड दिएका छन्।
हरिपुर्वा नगरपालिकाले बाल अधिकारको संरक्षण,पोषण सुधार तथा बालमैत्री वातावरण निर्माणलाई संस्थागत गर्दै बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको बागमती सेवा समाज नेपाल हरिवन सर्लाहीका भरत कुमार कार्कीले बताए।उनका अनुसार बालमैत्री र पोषण मैत्री पालिका घोषणा तर्फको यो अभियान सफल भएमा स्थानीय तहमा बाल अधिकार र पोषण सुधारका क्षेत्रमा नमुना अभ्यासका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।
सर्लाहीको लालबन्दीमा तीन दिनसम्म चलेको बाल मैत्री स्थानीय शासन सम्बन्धि क्षमता अभिबृद्धि तालिम समापनमा हरिपुुर्वा नगरपालिकाले तीन वर्ष भित्रमा बाल मैत्री तथा पोषण मैत्री पालिका घोषणा गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरेको बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्चका संयोजक एवम बालमैत्री स्थानीय शासन विज्ञ तथा कार्यक्रमका प्रशिक्षक अशोक खनालले बताए ।