विभिन्न मुद्धाका १८ जना सर्लाही प्रहरीको नियन्त्रणमा

118 Shares

सर्लाही प्रहरीले तोडफोड र हुलदंगाका घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।सर्लाही ईश्वरपुर नगरपालिका–१५,सुकुनाहाका २८ वर्षीय बिनोद चौरसिया, बरहथवा नगरपालिका–३ का ३२ वर्षीय जय प्रसाद गौतम र सोही ठाउँका ३६ वर्षीय केशव गौतमलाई तोडफोड र हुलदंगाका घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
कार्यालयका अनुसार,ईश्वरपुर नगरपालिका–०६ बयलवास बस्ने देवी प्रसाद कोइरीयाको जग्गाको विषयमा स्थानीय रामलाल मण्डलले दिएको उजुरीका आधारमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।कोइरीयाको जग्गामा बनाइएको घर तोडफोड गरेको र हुलदंगा मच्चाएको आरोप उनीहरू माथि छ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम आपराधिक उपद्रव मुद्दामा सर्लाही जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।उक्त घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यता, अदालतबाट विभिन्न मुद्धामा दण्ड सजाय तोकिए पनि फरार रहेका १५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतमले जनाकारी दिए ।उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्धाका एक जना,जालसाजी मुद्धाका नौ जना,अनुचित लेनदेन मुद्धाका एक जना,ज्यान मार्ने उद्योगका दुई जना र घर भत्काई जग्गा खिचोला चलन मुद्धाका दुई जना गरी १५ जनालाई पक्राउ गरी सर्लाही जिल्ला अदालत मलंगवामा दाखिला गरिएको हो ।

सम्बन्धित समाचार