४ सय मिटरको नालाको बीचमा ४ वटा विद्युतका पोल,प्राविधिक स्टिमेट गलत
225
Shares
विकास निर्माणका काममा प्राविधिक त्रुटि र लापरबाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको गुनासो बढिरहेका बेला सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित बस्तीपुरबाट पुरानो राजमार्ग तर्फ जाने सडकको नाला निर्माणमा नालाको बीच भागमै विद्युतका पोल परेको छन् ।लालबन्दी नगरपालिकाको ३० लाख ६७ हजार दुई सय ४२ रुपैँया ९० पैसामा करिब चार सय मिटर अधुरो नाला तथा कल्भर्ट निर्माण सुरु भएको भएपनि चार सय मिटर लामो नालाको वितमा चार वटा विद्युतका पोलहरु परेका पाईएपछि प्राविधिक त्रुटी रहेको रहस्य सार्वजनिक भएको हो । हरिपुरको लक्ष्मी नारायण महादेव निर्माण सेवा प्रा.लि.ले ठेक्का पाएर निर्माण सुरु गरेको उत्त नालाको विषयमा कमलमाई मिडिया प्रा.लि.लाई स्थानीयले गुनासो गरेपछि स्थलगत गर्दा चार सय मिटरको नाला निर्माणस्थलमा चार वटा विद्युतका पोलहरु नालाको विचैमा परेका पाइएपछि लालबन्दी नगरपालिकाको प्राविधिक शाखाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ।
स्थानीयवासीका अनुसार सडक किनारमा निर्माण गरिएको पक्की नालाको बीचमै विद्युतका चारवटा पोलहरु परेपछि पानीको सहज निकासमा समस्या हुने देखिएको छ।वर्षायाममा पानीको बहाव अवरुद्ध हुँदा सडक जलमग्न हुने तथा आसपासका घरहरुमा समेत असर पुग्न सक्ने स्थानीयको चिन्ता छ। निर्माण कार्य अघि बढाउँदा विद्युत प्राधिकरणसँग आवश्यक समन्वय नगरी स्टिमेट तयार पारिएको वा पोल स्थानान्तरणको व्यवस्था नगरी निर्माण कार्य गरिएको हुन सक्ने साथै स्थलगत नै नगरी प्राविधिक स्टमेट तयार पारिएको स्थानीयको आरोप छ।विकास निर्माणका योजनामा प्रारम्भिक सर्वेक्षण,डिजाइन र लागत अनुमान तयार गर्दा विद्यमान संरचनाको अवस्था बारे विस्तृत अध्ययन गर्नुपर्ने भए पनि सम्बन्धित प्राविधिकले त्यसतर्फ ध्यान नदिएका स्थानीयको आरोप छ । करोडौँ खर्च गरेर निर्माण गरिने योजनामा यस्ता सामान्य त्रुटि हुनु दुर्भाग्यपूर्ण मात्रै नभई प्राविधिकको गम्भीर लापरबाही भएको स्थानीयको आरोप छ ।“नाला बनाइसकेपछि पोल बीचमै देखिन्छ भने डिजाइन कसरी पास भयो?प्राविधिकले फिल्ड अध्ययन गरेकै थिएनन् भन्ने स्पष्ट हुन्छ,”स्थानीय सन्तोष गौतमले बताए। पूर्वाधार निर्माण सम्बन्धी मापदण्डअनुसार नाला,सडक तथा अन्य सार्वजनिक संरचना निर्माण गर्दा अवरोध सिर्जना गर्ने संरचनालाई व्यवस्थापन गरी सुरक्षित तथा दीर्घकालीन उपयोग हुने गरी निर्माण गर्नुपर्छ।तर सम्बन्धित योजनामा यी पक्षलाई बेवास्ता गरिएको जानकारहरु बताउँछन् ।निर्माणस्थलमा सूचना बोर्ड समेत नराखिनु सार्वजनिक खरिद नियमावलीको धज्जी उडाउनुका साथै सूचना लुकाउने काम भएको उनीहरु बताउँछन् । यता,ठेक्का पाएको लक्ष्मी नारायण महादेव निर्माण सेवा प्रा.लि.का सञ्चालक राजेन्द्र धामीले सो सम्बन्धमा लालबन्दी नगरपालिका–९ का वडा अध्यक्षलाई जानकारी गराएको बताए ।उनले स्थानीयले पोल नसारी काम नगर्न भनेपछि आफुलाई चिन्ता थपिएको र सो विषयमा लालबन्दी नगरपालिकाको प्राविधिकको शाखालाई समेत जानकारी गराएको बताए । त्यस्तै,लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डीतले उक्त नाला निर्माण क्षेत्रका पोलहरु लालबन्दी नगरपालिका–९ को वडा कार्यालयले हटाउने बताए ।स्थानीयले निर्माण सम्पन्न हुनुअघि नै प्राविधिक त्रुटि सच्याउन,विद्युतका पोल स्थानान्तरण गर्न तथा जिम्मेवार पक्षमाथि छानबिन गर्न माग गरेका छन्। विकास निर्माणका योजनामा हुने यस्ता कमजोरीले सरकारी बजेटको दुरुपयोग मात्र नभई नागरिकको दैनिक जीवनमा समेत प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित निकायले समयमै ध्यान दिन आवश्यक छ।लालबन्दी नगरपालिकाको अनुगमन समितिका साथै प्राविधिक शाखाले पोल स्थान्तरण गर्नुको सट्टा करिब आठ लाख भुक्तानीको तयारी समेत गरेको पाइएको छ ।