सर्लाहीको हरिवन नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दीगोपना नगरपालिका घोषणा गरिएको छ।हरिवन नगरपालिकाको ११ वटै वडामा १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाको सर्भेक्षण गर्दा सम्पूर्णले आवश्यक खोप प्राप्त गरेको पाइएसँगै पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीको अध्यक्षता तथा जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमख डा.नवलकिशोर झा,हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलान र प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयाल लगायतको उपस्थितिमा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
प्रत्येक वडामा घरधुरी सर्भेक्षण गरी बालबालिकाले पाउनुपर्ने खोप लगाए/नलगाएको विवरण संकलन गरिएको र छुट भएका बालबालिकालाई बैशाख महिनामा पूर्णरुपमा खोप लगाएर पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हरिवन नगरपालिकाले जनाएको छ ।नगरपालिकाका अनुसार सरकारले बनाएको मापदण्ड अनुसार नगरभित्र १५ महिनासम्मका एक हजार एक सय २० जना बालबालिकाले पूर्णरुपमा खोप प्राप्त गरिसकेका छन् ।