सर्लाहीको चन्द्रनगर गाउँपालिकाले नेपालमै पहिलो सजिवन (मोरिंगा) सम्मेलन आयोजना गरेको छ।औषधिजन्य वनस्पति सजीवनको खेती विस्तार र यसको गुणबारे प्रचार–प्रसार गर्ने उद्देश्यले सजिवन सम्मेलन आयोजना गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए।उनका अनुसार चन्द्रनगर गाउँपालिका–२, पर्ती बजारमा शनिबारदेखि सुरु भएको सजिवन सम्मेलन आइतबार सम्पन्न भएको छ ।
“स्वास्थ्य,सुपोषित,समृद्ध र सुन्दर परिवारको लागि सजिवनःदेश,हरित अर्थतन्त्र,पर्यावरण र प्रकृतिका लागि सजिवन”भन्ने मूल नारासहित चन्द्रनगर गाउँपालिकाले सम्मेलनको आयोजना गरेको हो।सजिवन खेतीको विस्तार र यसको उपयोगिताबारे बुझाउन चन्द्रनगर गाउँपालिकाले वर्सेनि अभियान संचालन गर्दै आइरहेको छ ।स्थानीयलाई निःशुल्क रुपमा सजिवनको विरुवा समेत उपलब्ध गराउँदै आएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ।सजिवनको पातबाट पाउडर बनाएर उपयोग गर्न थालेपछि स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थालेको स्थानीयले बताएका छन् ।
सम्मेलनमा शनिबार मधेश प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंह, कोशी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला,मधेश प्रदेशका पूर्व अर्थ सचिव किरण रुपाखेती,सजिवन अभियन्ता हेमन्तराज काफ्ले लगायतले सजिवनको फाइदा र यसको खेतीको सम्भाव्यताबारे प्रस्तुति दिएका थिए ।
सम्मेलनमा सातवटै प्रदेशबाट विद्यार्थी,सजिवन अभियन्ता र व्यवसायीलगायत सहभागी भएका चन्द्रनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साहले बताए।कार्यक्रममा व्यवसायीले सजिवनबाट बनाइएको औषधिजन्य वस्तु बिक्रीका लागि प्रदर्शनीमा राखेका छन् ।सजिवनमा भिटामिन ए,सी र इ,पोटासियम,आइरन,कुपोषण न्यूनिकरण,रक्तचाप नियन्त्रण, मधुमेह व्यवस्थापन,पाचन सुधार,जोर्नी दुखाइ कम गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने जस्ता गुण रहेको चिकित्सकहरुले बताएका छन् ।