कमलामाई मिडिया प्रा.लिको समाचार प्रभाव नालाको विचमा पर्ने विद्युतका पोल सारियो

150 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–९ स्थित बस्तीपुरबाट पुरानो राजमार्ग तर्फ जाने सडकको नाला निर्माणका क्रममा नालाको बीच भागमा परेका चार वटा विद्युतका पोल सारिएको छ।केही दिन पहिला“चार सय मिटरको नालाको बीचमा चार वटा विद्युतका पोल,प्राविधिक स्टिमेट गलत”भन्दै कमलामाई मिडिया प्रा.लि.ले समाचार प्रकाशन गरेपछि सरोकारवाला निकायले नालाकोे विचमा परेका चार वटा विद्युतका पोलहरु सारेको हो ।
लालबन्दी नगरपालिकाको ३० लाख ६७ हजार दुई सय ४२ रुपैँया ९० पैसामा करिब चार सय मिटर अधुरो नाला तथा कल्भर्ट निर्माण गर्न हरिपुरको लक्ष्मी नारायण महादेव निर्माण सेवा प्रा.लि.ले ठेक्का पाएर निर्माण सुरु गरेको उत्त नालाको विषयमा कमलमाई मिडिया प्रा.लि.लाई स्थानीयले गुनासो गरेपछि स्थलगत गर्दा चार सय मिटरको नाला निर्माणस्थलमा चार वटा विद्युतका पोलहरु नालाको विचैमा परेका पाइएपछि लालबन्दी नगरपालिकाको प्राविधिक शाखाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउँदै समाचार प्रकाशन गरेको थियो ।
स्थानीयका अनुसार सडक किनारमा निर्माण गरिएको पक्की नालाको बीचमै विद्युतका चारवटा पोलहरु परका थिए जसका कारण पानीको सहज निकासमा समस्या हुने देखिएको थियो।वर्षायाममा पानीको बहाव अवरुद्ध हुँदा सडक जलमग्न हुने तथा आसपासका घरहरुमा समेत असर पुग्न सक्ने चिन्ता व्यत्त गरेका स्थानीयले पोलहरु पारेपछि खुसी व्यक्त गरेका छन्।
निर्माण कार्य अघि बढाउँदा विद्युत प्राधिकरणसँग आवश्यक समन्वय नगरी स्टिमेट तयार पारिएको वा पोल स्थानान्तरणको व्यवस्था नगरी निर्माण कार्य गरिएको हुन सक्ने साथै स्थलगत नै नगरी प्राविधिक स्टमेट तयार पारिएको स्थानीयको आरोप थियो।विकास निर्माणका योजनामा प्रारम्भिक सर्वेक्षण,डिजाइन र लागत अनुमान तयार गर्दा विद्यमान संरचनाको अवस्था बारे विस्तृत अध्ययन गर्नुपर्ने भए पनि सम्बन्धित प्राविधिकले त्यसतर्फ ध्यान नदिएका स्थानीयको आरोप छ ।
करोडौँ खर्च गरेर निर्माण गरिने योजनामा यस्ता सामान्य त्रुटि हुनु दुर्भाग्यपूर्ण मात्रै नभई प्राविधिकको गम्भीर लापरबाही भएको स्थानीयको आरोप छ।“नाला बनाइसकेपछि पोल बीचमै देखिन्छ भने डिजाइन कसरी पास भयो?प्राविधिकले फिल्ड अध्ययन गरेकै थिएनन् भन्ने स्पष्ट हुन्छ,”स्थानीयले बताए ।
पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड अनुसार नाला,सडक तथा अन्य सार्वजनिक संरचना निर्माण गर्दा अवरोध सिर्जना गर्ने संरचनालाई व्यवस्थापन गरी सुरक्षित तथा दीर्घकालीन उपयोग हुने गरी निर्माण गर्नुपर्छ।तर सम्बन्धित योजनामा यी पक्षलाई बेवास्ता गरिएको जानकारहरु बताउँछन् ।निर्माणस्थलमा सूचना बोर्ड समेत नराखिनु सार्वजनिक खरिद नियमावलीको धज्जी उडाउनुका साथै सूचना लुकाउने काम भएको उनीहरु बताउँछन् ।विकास निर्माणका योजनामा हुने यस्ता कमजोरीले सरकारी बजेटको दुरुपयोग मात्र नभई नागरिकको दैनिक जीवनमा समेत प्रत्यक्ष असर पार्ने छ।

सम्बन्धित समाचार