निर्माण सम्पन्न भएको छ महिना नपुग्दै कलभर्टमा भ्वाङ

162 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–११ बाहुनीहुँदै लालबन्दी नगरपालिका–१६ परवानीपुर जोड्ने सडकको सापकोटा टोल नजिकैको कलभर्ट निर्माण भएको छ महिना नपुग्दै भ्वाङ परेको छ ।गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग र निर्माण कम्पनीको लार्पवाहीका कारण उक्त सडकको कलभर्ट निर्माण सम्पन्न भएको छ महिना नपुग्दै भ्वाङ परेको स्थानीयको आरोप छ ।
मधेश प्रदेश सरकारको “एक निर्वाचन क्षेत्र,एक सडक”कार्यक्रम अन्तर्गत लालबन्दी नगरपालिका–११ बाहुनी हुँदै लालबन्दी नगरपालिका–१६ परवानीपुर चोक सम्मको छ किलोमिटर सडक अन्र्तगतको लालबन्दी नगरपालिका–११ स्थित सापकोटा टोल नजिकैको कलभर्ट निर्माण कै चरणमा गुणस्तरहिन भएको भन्दै कमलामाई मिडिया प्रा.लिले समाचार प्रकाशन गरेको भएपनि निर्माण कम्पनी बागमती नगरपालिका–१२ को एस.आर.कन्स्ट्रक्सनले निर्माण कार्यमा सुधार नगरेपछि निर्माण सम्पन्न भएको छ महिना नपुग्दै कलभर्टमा भ्वाङ परेको हो ।
 पुर्वाधार विकास कार्यालय मलंगवा सर्लाहीले २०८२ असार ४ गते बागमती नगरपालिका १२ को एस.आर.कन्स्ट्रक्सनले १३ करोड १२ लाख ३७ हजार पाँच सय तीन रुपैँयाँ २३ पैसामा छ किलोमिटर सडक तथा त्यसमा पर्ने कलभर्ट निर्माण गर्ने भन्दै ठेक्का सकार गरेको भएपनि हतारमा काम सकाउने र भुक्तानी लिने कार्यमा सक्रिय भएको निर्माण कम्पनीले गुणस्तरमा ध्यान नदिँदा कलभर्टमा भ्वाङ परेको हो ।
उक्त सडकमा पर्ने नाला निर्माण कार्यमा गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरिएको,सडक निर्माणस्थलमा सूचना बोर्ड नराखेको,कलभर्टमा ढलान गर्दा भाईब्रेसन नदिएको र प्राविधिकको अनुपस्थितिमा निर्माण कार्य गरिएको स्थानीयको आरोप थियो।जुन अहिले पुष्टि भएको छ ।
उक्त क्षेत्रमा कालोपत्रे सडक निर्माण भएपछि खुसी भएका स्थानीय गुणस्तरहिन निर्माण कार्य हुँदा फेरी निराश भएका छन्।विकास निर्माणका नाममा करोडौं रुपैयाँ खर्च भए पनि कामको गुणस्तर कमजोर हुनु तथा मापदण्ड अनुसार निर्माण सामाग्री प्रयोग नगरिनु र प्राविधिक अनुगमन कमजोर हुनु दुर्भाग्यपूर्ण रहेको स्थानीयको गुनासो छ।
निर्माण सम्पन्न भएको मेही महिना मै सडक र कलभर्टहरू भ्वाङ पर्न थाल्नु साथै सडकको विचमा ठूला दुई वटा सालका रुखहरु राखिनु गुणस्तरहिन निर्माण कार्य र दिर्घकालीन विकास योजना विपरित रहेको जानकारहरु बताउँछन् ।निर्माण व्यवसायीहरुले लागत घटाउन गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरेको साथै चाँडो भुक्तानी लिन हतार हतारमा काम गर्दा सडकको पिच उक्कीन थालेको छ भने कलभर्टमा भवाङ परेको छ ।
विकास निर्माणका लागि बजेट विनियोजन गर्ने तर अनुगमन कमजोर हुनु,निर्माणस्थलमा प्राविधिक उपस्थित नहुनु र काम सम्पन्न भएपछि मात्रै कागजी प्रक्रिया पूरा गर्ने गरिदा निर्माण व्यवसायीहरुको मनोवल बढी रहेको स्थानीय जानकारहरु बताउँछन्।जनप्रतिनिधि, कर्मचारी तथा निर्माण व्यावसायीहरु बीचको मिलेमतोका कारण गुणस्तरमा सम्झौता भएको हुन सक्ने आशंका गरिएको छ।
यता,उक्त निर्माण कार्यमा गुणस्तरीयतामा कुनै किसिमको सम्झौता नगरेको र गुणस्तरिय काम गरेको निर्माण कम्पनीका प्राविधिहरुले दाबी गरेका छन्।“ठेक्का सम्झौता अनुसार नै काम गरिएको हो।प्राविधिकको स्वीकृति बिनाको कुनै काम गरिएको छैन।”निर्माण कम्पनीले जनाएको छ ।
निर्माणस्थलमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न र दीर्घकालीन रूपमा टिकाउ हुने गरी कलभर्ट पुनःनिर्माण गर्न स्थानीयले माग गरेका छन्।गुणस्तरहिन विकासले जनधनको क्षति मात्र नभई जनताको विश्वासमा समेत असर पर्ने भन्दै उनीहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।

सम्बन्धित समाचार