Close This

सर्लाहीमा कोरोना संक्रमितको संख्या ११९९,समुदाय स्तरमा कोरोना भयावह बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-४ गते   ४४४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबार २४ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।मंगलबार २२८ जना नयाँ र आईसोलेसनमा बसिरहेका ४ जनाको गरी २३२ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि नगरपालिकाले काठमाडौंको टेकु अस्पताल पठाएको थियो । ‘२२८ जना मध्ये बुधबार राती नै २४ जनाको पोजेटिभ रिपोर्ट आएको नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनु भयो । आइसोलेसनमा रहेका ४ जनाको स्वाबको रिपोर्ट आउन बाँकी र ५ जनाको रिपोर्टमा भने नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । संक्रमित २४ जना मध्ये १८ जना पुरुष तथा ६ जना महिला रहेका छन ।
त्यस्तै २४ जना मध्ये एकजना हरिपुर नगरपालिका–७ निवासी भएकाले उतै तथा एकजना वीरगंज निवासी ग्लोबल आईएमई बैंकका कर्मचारी घर गईसकेकाले उतै आईसोलेसनमा बस्ने र २२ जना लालबन्दी निवासी नै रहेको नगर प्रमुख खड्काले जानकारी दिनु भयो । ‘२२ जनामध्ये हालसम्म ११ जनाले होम आईसोलेसनमै बस्ने ईच्छा जाहेर गरेका छन भने ११ जनालाई नगरपालिकाले तयार पारेको कृषि सामग्री कम्पनी लिमिटेडको भवनको आईसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ ।
पछिल्लो २४ संक्रमित मध्ये वडा नं. ७ का मात्र १२ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर २ का २ जना,वडा नम्बर १ का २ जना, वडा नम्बर ६ का १ जना, वडा नम्बर ८ का २ जना,वडा नम्बर १० का १ जना र  वडा नम्बर १७ का १ जना रहेका लालबन्दी नगरपालिका स्वास्थ्य सह–संयोजक सुरेन्द्र कुमार खतिवडाले  बताउनु भयो । स्वास्थ्य सह–संयोजक खतिवडाका अनुसार यो सहित लालबन्दी घर भएका कोरोना संक्रमित ४९ जना पुगेका छन् त्यसैगरी  बागमती नगरपालिकाका ५२ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ । बागमती नगरपालिकाले गत सोमबार जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सहकारीकर्मी, बैंकका कर्मचारी लगायत २४२ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु पठाएको थियो ।
२४२ जना मध्ये २३४ जनाको परीक्षण रिपोर्ट आउँदा ५२ जना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखा उपसंयोजक पदम रायमाझीले जानकारी दिए । ८ जनाको रिपोर्ट पनि आजसाँझसम्म आउने बताईएको छ । ५२ जना संक्रमितमा ८ जना स्वास्थ्यकर्मी, होटलव्यवसायी, बैंकका कर्मचारी, नगरपालिकाकै कर्मचारी लगायत परेको स्वास्थ्यक शाखाका उपसंयोजक रायमाझीले जानकारी दिनु भयो ।यो सहित बागमतीमा मात्र कोरोना संक्रमित संख्या ६० पुगेको छ ।
बिहीबार ईश्वरपुर नगरपालिकाका १५ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।ईश्वरपुर नगरपालिका कार्यालयले गत सोमबार उद्योगी, व्यापारी, जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, बैंक तथा सहकारीका कर्मचारी, स्वास्थ्यकर्मी लगायत ३२८ जनाको थ्रोट स्वाब संकलन गरेर काठमाडौंको टेकु पठाएको थियो । जसमध्ये आज (विहिबार) दिउँसोसम्म २५३ जनाको परीक्षण सकिँदा १५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज देवकोटाले जानकारी दिए । नगर प्रमुख देवकोटाका अनुसार कोरोना पोजेटिभ हुनेहरुमा वडाध्यक्ष, स्वास्थ्यकर्मी, विदेशबाट आएर क्वारेन्टिनमा बसेका दुईजना, व्यापारी लगायत रहेका छन् ।
अब  सर्लाही जिल्ला भर १ हजार १ सय ९९ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech