लालबन्दीका होटलमा गृहमन्त्री महतोको आकस्मिक अनुगमन

256 Shares

सर्लाहीको लालबन्दी बजारका विभिन्न होटलहरूको मधेस प्रदेशका गृह,सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले आकस्मिक अनुगमन गरेका छन्।मन्त्री महतोले लालबन्दी बजारका होटलहरूको भान्सा मै प्रवेश गरेर अनुगमन सुरु गरेका हुन्। 
अनुगमनका क्रममा अधिकांश होटलहरूले सेवाग्राहीलाई गुणस्तरहीन खाना खुवाउने गरेको तथा खाना पकाउने भान्सामा सरसफाइ प्रति पर्याप्त ध्यान नदिएको पाइएको मन्त्री महतोले बताए।उनका अनुसार केही होटलमा खाद्य सामाग्रीको व्यवस्थापन र सरसफाइको अवस्था सन्तोषजनक नरहेको भेटिएको छ।
बजारमा मन्त्री स्वयं उपस्थित भएर अनुगमन गरेपछि स्थानीयवासीले यसको स्वागत गरेका छन्।यद्यपि,केहीले नियमित अनुगमन र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्।“अनुगमन गर्नु राम्रो कुरा हो,तर यसको कार्यान्वयन कति हुन्छ भन्ने मुख्य विषय हो।समय–समयमा अनुगमनसँगै प्रभावकारी कार्यान्वयन पनि हुनुपर्छ।”स्थानीयले बताए ।
त्यस्तै,उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्न नहुने भन्दै होटलहरूले सरसफाइमा ध्यान नदिएको र समय–समयमा बासी खाना समेत बिक्री हुने गरेको स्थानीयको गुनासो छ।मन्त्री महतोको पहलको प्रशंसा गर्दै स्थानीय सरकारले समेत यस्ता अनुगमनलाई निरन्तरता दिई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने स्थानीयले बताएका छन् ।सर्लाहीमा मात्र नभई मधेस प्रदेशभरिका होटल तथा खाद्य व्यवसायमा अनुगमन अभियान सञ्चालन गरिएको मन्त्री महत्तोले बताए ।

सम्बन्धित समाचार