सर्लाहीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ।जिल्लाभर १६ महिनादेखि २३ महिनासम्मका १३ हजार दुई सय सात जना बालबालिकाको घरधुरी सर्भेक्षण गर्दा सम्पूर्ण बालबालिकाले १५ महिनाभित्र प्राप्त गरिसक्नु पर्ने खोप प्राप्त गरेको पाइएपछि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवल किशोर झाले बताए ।
उनका अनुसार गत मंसिरमादेखि फागुन महिनासम्म जिल्लाभरका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटै पालिकाहरुका दुई सय वटै वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी बालबालिकाको विवरण लिइएको थियो।त्यसक्रममा खोप लगाउन छुटेका बालबालिकालाई बैशाख महिनामा आवश्यक खोप लगाएर पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
सुरुमा वडा, त्यसपछि २० वटै पालिका पूर्णखोप सुनिश्चितता घोषणा भएपछि सर्लाहीलाई नै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको कार्यक्रमका अध्यक्ष एवम जिल्ला खोप समन्वय समिति सर्लाहीका प्रमुख एवम जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहले बताए।सिंहको अध्यक्षता तथा मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहको प्रमुख आतिथ्यतामा सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रमको आयोजना गरि पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो ।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा सर्लाहीका ११ वटा नगरपालिकाबाट एक जना स्वास्थ्यकर्मी र नौ वटा गाउँपालिकाबाट एक जना महिला स्वास्थ्य स्वयंसेविका गरी उत्कृष्ट काम गर्ने २० जना छनौट गरी नगद रु तीन हजार सहित सम्मान समेत गरिएको जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।