Close This

भ्याक्सिनसरहका शुभकामना

पत्र पत्रिका    प्रकाशित: २०७७-५-४ गते   ६०७ पटक हेरिएको

नेपाल कम्युनिस्ट पार्टीको सर्लाही जिल्ला अध्यक्ष भएका नाताले कोरोना संक्रमण बढ्दै गएपछि आफैँ जिल्लाका कुना–कुना पुगेर चेतना जगाउने काममा सक्रिय भएँ । त्यहीक्रममा मलाई नै संक्रमण भइसकेको रहेछ ।

पूर्ण सावधानी अपनाएर कोरोनाविरुद्धको अभियानमा निरन्तर सहभागी भएको थिएँ । यस्तो वेला सक्रिय भएर मनोबल उकास्न र चेतना जगाउन जुट्नुपर्छ भनेर निस्केको थिएँ । जनताको घरदैलोमा पुगेर मास्क वितरण गर्नेदेखि हात धुन सिकाउने अभियानमा जुटेँ । त्यसका बाबजुद मलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिन थाल्यो । कसरी भयो, यकिन भन्न सक्दिनँ । साउन दोस्रो हप्ता सामान्य ज्वरो र घाँटी दुख्ने समस्या देखियो । लगत्तै उपचारका लागि काठमाडौं पुगेँ । चिकित्सकको सल्लाहमै परीक्षणका लागि स्वाब दिएँ । मनमा कोरोना हो कि भन्ने लागिरहेको थियो । नभन्दै २१ साउनमा परीक्षण रिपोर्ट पोजेटिभ देखियो ।

मनमा अनेक तर्कना आउन थाले । जति सक्यो केही हुन्न भनेर मनलाई विश्वस्त पार्ने प्रयास गरेँ । होम आइसोलेनमा बस्न मिल्ने भएकाले घरमै बस्ने निधो भयो । तर, घरमा बस्नुका आफ्नै समस्या रहेछन् । घरमा एक्लोपन बढी हुने । एक्लोपनले मानसिक तनाव बढाउँदोरहेछ । मृत्युसम्मको कल्पना आउँदा जिउभरि काँडा उम्रिन्थ्यो । तर, विश्वभरि नै धेरै संक्रमित निको भएको समाचार हेरिरहेकाले आफैँलाई सम्झाउँथेँ । एक्लोपनमा यो मन र मस्तिष्कबीचको द्वन्द्व निकैपटक चल्यो । दिमागले एकनास बाहिरको माहोललाई सूचनाको रूपमा मनमा पठाउँथ्यो, अनि मन आत्तिन्थ्योे । दुःख शरीरले पाउँथ्यो । सुरुमा मलाई केही समस्या भए पनि सामान्य ज्वरोको औषधि चलाएपछि त्यो निको भयो । मन केही शान्त देखियो । एक दिन मध्यरातमा एक्कासि बिउँझिएछु । सास फेर्न गाह्रो भएको रहेछ । एक्कासि असहज भएजस्तो भयो, मलाई । म एकदमै डराएँ । 

अब अस्पताल गएर भेन्टिलेटरमा बस्नुपर्छ भन्ने मनमनै निर्णय गरेँ । झन् सास फेर्न सकस भइरहेकोजस्तो हुँदै थियो । केही हुँदैन भनेर फेरि आफैँलाई सम्झाएँ । मन दह्रो हुनेबित्तिकै सहज भयो । मनमा सकारात्मक कुरा खेलाउन थालेँ । यसले मलाई सहज महसुस भयो । आइसोलेसनमा बस्दाको साथी भनेकै मोबाइल थियो । सामाजिक सञ्जालमा स्वास्थ्यलाभको कामना गर्ने मित्रहरूको सन्देशले मनोबल बढाउँथ्यो । मनबाट डर भाग्थ्यो, अनि अठोट र उत्साह भरिन्थ्यो । मन त्यसै पुलकित हुन्थ्यो । कोरोना जित्ने लडाइँमा म मात्र हैन, मेरो साथमा धेरै छन् भन्ने विश्वास हुन्थ्यो । 

इष्टमित्रको शुभकामना मेरा लागि कोरोनाविरुद्धको भ्याक्सिनसरह भयो । आफन्त र साथीभाइले दैनिक फोन गरेर मनोबल बढाउने काम गर्नुभयो । मलाई उत्साहित बनाउनुहुन्थ्यो । त्यसले मलाई तनावमुक्त बनाउँथ्यो । मेरो नियमित स्वास्थ्य निगरानी गर्ने स्वास्थ्यकर्मीले पनि मेरो हौसला निकै बढाउनुभयो । मैले १४ दिन आइसोलेसनमा बस्दा जन्मदेखि घाटमा चितामा जल्दै गर्दासम्मको अनुभूति गरेँ । कोरोना संक्रमण फैलँदै गएपछि धेरै समाचार नकारात्मक कोणबाट आउने गरेको देखिएको छ । नकारात्मक समाचारले मान्छेलाई झन् असहज बनाउँदोरहेछ भन्ने मैले प्रत्यक्ष भोगेँ । विश्वभरि संक्रमित भएर निको हुने धेरै छन् । अझ मृत्यु त निकै कम भएको छ । यस्ता सकारात्मक कुरा समाचारमा आइदिए हुन्थ्यो भन्ने लाग्थ्यो । मोबाइलमा आएका शुभेच्छा र स्वास्थ्यलाभको कामना देख्दा यो समाजका लागि आफूले केही गरेकोजस्तो लाग्थ्यो । तर, समाजको अर्काे पाटो पनि आइसोलेसनमै बस्दा सुन्न पाएँ– समाजले संक्रमितमाथि गरेको दुव्र्यवहार । कोरोना संक्रमितको घरतर्फ फर्केर हेर्दा पनि आँखाबाटै कोरोना सर्छ जस्तो व्यवहार गर्ने समाज पनि रहेछ । 

घरका एक सदस्य संक्रमित भएको भन्दै अन्य सदस्यलाई मानसिक यातना दिने पनि हाम्रै समाजका व्यक्ति रहेछन् भन्ने थाहा पाउँदा पीडा हुन्थ्यो । यो रोग साँच्चै निर्दयीजस्तै लाग्थ्यो । होम आइसोलेनमा बसेका कारण मलाई धेरै अनुभव भयो । यस अवधिमा मैले आफूभित्रको यात्रा गर्न पाएँ । सामाजिक सम्बन्ध, निकटता, मान्छेको सोच, कहिल्यै मरिँदैन भनेजसरी मान्छेले गर्ने व्यवहारबारे बुझ्ने र सोच्ने मौका पाएँ । 

कोरोना संक्रमित भन्नेबित्तिकै उसलाई सामाजिक हिसाबले यति टाढा पुर्‍याउँछौँ कि उसलाई आफ्नो जीवनदेखि नै वितृष्णा जागेर आउँछ । ऊ अर्को तनावमा पर्छ । अनि कसरी जित्छ उसले भाइरसलाई ? अर्को कुरा हामीले मास्क वितरण र हात धुन त सिकायौँ, अब कोरोना संक्रमणको चरण परिवर्तन भइसकेको छ । स्थानीय, प्रदेश र संघीय सरकारलाई मेरो सुझाब छ– पालिकामा जति सकिन्छ, धेरै सुविधासम्पन्न भेन्टिलेटर, आइसियूसहितको आइसोलेसन तयार गरौँ । पिसिआर गरेर यति संक्रमित उति संक्रमित भनेर समाजलाई त्रसित बनाउनुभन्दा जसलाई लक्षण देखिन्छ, उसलाई तत्काल आइसोलेसनमा राखेर उपचार गर्नु बुद्धिमानी हुन्छ । (नेकपा सर्लाही जिल्ला अध्यक्ष पन्त संक्रमणबाट निको भएका छन् ।)नयाँ पत्रिकाबाट

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech