धनकौल स्थित अन्नपुर्ण चिनी उद्योगका सञ्चालक साह र गुप्ता पक्राउ

214 Shares

सर्लाहीको धनकौलस्थित रहेको अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रा.लि.का सञ्चालक पक्राउ परेका छन्।उत्त उद्योगलाई उखु बेचेका उखु उत्पादक किसानहरुको भुक्तानी नगरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार उक्त चिनी उद्योगले लामो समयदेखि उखु उत्पादक किसानहरुको बक्यौता रकम भुक्तानी नगरेको,पटक–पटक किसान आन्दोलित हुनु परेको तथा चिनी मिलका सञ्चालकद्वारा भुक्तानी गर्ने मिति समेत पटक–पटक सारिएपछि उक्त उद्योगका सञ्चालकद्वय विनोद साह कलवार र सैलेन्द्र गुप्तालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको हो ।
किसानहरुले भुक्तानी नपाएको उजुरी दर्ता गरेपछि चिनी मिलका सञ्चालकहरु साह र गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढेकाले उखुको भुक्तानी लिन बाँकी रहेका किसानहरुलाई रकमको विवरणसहित जाहेरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले आग्रह समेत गरेको छ ।
अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रा.लि.बाट उखुको भुक्तानी लिन अझै बाँकी रहेका किसानलाई आफूले पाउनुपर्ने रकमको विवरण,सम्बन्धित कागजात तथा प्रमाण सहित यथाशीघ्र जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीमा उपस्थित भई जाहेरी दर्ता गराउन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक गौतमले बताए ।
उखु किसानहरुको भुक्तानी विवादका कारण अन्नपूर्ण सुगर एण्ड जनरल इन्डस्ट्रिज प्रा.लि.विगत लामो समयदेखि नै विवादको चर्चामा रहँदै आएको थियो।उक्त उद्योगलाई उखु बेचेका किसानहरुले पटक–पटक आन्दोलन गर्दै समयमै भुक्तानीको माग गरेका भएपनि उद्योगले विभिन्न समयमा भुक्तानी गर्ने प्रतिबद्धता जनाएर भुत्तानी नगरेको किसानहरुको गुनासो छ ।

सम्बन्धित समाचार