असार सकिनै लाग्दा सिन्धुलीमा करिब ७४ प्रतिशत धान रोपाईँ भएको छ।नौ वटा पालिका रहेको सिन्धुलीमा असार सकिनै लाग्दा ७३ दशमलव आठ प्रतिशत धान रोपाईँ भएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अनुप अधिकारीले जानकारी दिए ।उनका अनुसार सिन्धुलीका नौ वटा पालिकामा १३ हजार चार सय ४५ हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुने भएपनि असार सकिनै लाग्दा नौ हजार नौ सय १७ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको छ ।
६२ हजार सात सय १३ हेक्टर खेतीयोग्य जमिन रहेको सिन्धुलीको सबै भन्दा धेरै दुधौली नगरपालिकामा तीन हजार पाँच सय ५८ हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुने गरेको कार्यालयले उपल्ब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ।तथ्यांक अनुसार कमलामाई नगरपालिका मा चार हजार ४१,तीनपाटन गाउँपालिकामा एक हजार छ सय ६६,मरिण गाउँपालिकामा एक हजार चार सय ५२, सुनकोशी गाउँपालिकामा आठ सय ६२,हरिहरपुरगढी गाउँपालिकामा सात सय १४, गोलन्जोर गाउँपालिकामा पाँच सय १५ हेक्टरका साथै घ्याङ्लेख गाउँपालिकामा तीन सय ५८ र फिक्कल गाउँपालिकामा दुई सय ७९ हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुने गरेको छ ।
दुधौली नगरपालिका मा तीन हजार पाँच सय ५८ हेक्टर मध्ये दुई हजार चार सय १९ हेक्टर, कमलामाई नगरपालिकामा चार हजार ४१ हेक्टर मध्ये तीन हजार दुई सय ३३ हेक्टर,तीनपाटन गाउँपालिकामा एक हजार छ सय ६६ मध्ये एक हजार चार सय ६६ हेक्टर,मरिण गाउँपालिकामा एक हजार चार सय ५२ हेक्टर क्षेत्रफल मध्ये एक हजार एक सय ४७ हेक्टर,सुनकोशी गाउँपालिकामा आठ सय ६२ हेक्टर मध्ये पाँच सय ५२ हेक्टर,हरिहरपुरगढी गाउँपालिकामा सात सय १४ हेक्टर मध्ये दुई सय ८६ हेक्टर,गोलन्जोर गाउँपालिकामा पाँच सय १५ हेक्टर मध्ये चार सय १२ हेक्टर र घ्याङ्लेख गाउँपालिकामा तीन सय ५८ हेक्टर मध्ये दुई सय १५ हेक्टर र फिक्कल गाउँपालिकामा दुई सय ७९ हेक्टर मध्ये एक सय ८७ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको कार्यालयकी सूचना अधिकारी एवम कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताईन् ।उनका अनुसार समयमै पानी नपर्दा तथा मलखादको व्यवस्थापनमा राज्य उदासिन हुँदा करिब २७ प्रतिशत धान खेत अझै बाँझै रहेका छन् जसका कारण किसानहरुमा चिन्ता थपिएको छ।
सूचना अधिकारी श्रेष्ठका अनुसार गत वर्ष यो समयमा आठ हजार पाँच सय ५७ हेक्टर अर्थात ६३ दशमलव छ प्रतिशत खेतमा धान रोपाईँ भएको थियो ।यस वर्ष करिब १२ हजार हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुने अनुमान गरिएको भएपनि पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित बनेको छ। सिन्धुलीका धेरै ठाउँमा वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता रहेका कारण पनि अपेक्षा अनुसार रोपाईँ हुन नसकेको कार्यालयले जनाएको छ ।मनसुन राम्रो हुने अनुमान गरिए पनि धान रोपाईँका लागि आवश्यक मात्रामा वर्षा नभएकाले किसान चिन्तामा छन्।केही दिनयता जिल्लाका विभिन्न स्थानमा वर्षा हुन थाले पनि त्यसअघि लामो समयसम्म परेको चर्को घामका कारण खेतबारी पूर्ण रूपमा सुकिसकेका थिए।अहिले परेको पानीले खेतमा केही चिस्यान बढे पनि व्यापक रूपमा रोपाइँ गर्न पुग्ने अवस्था नरहेको स्थानीय किसानहरुले बताएका छन् ।
यता,कृषि सामाग्री कम्पनी लि.सिन्धुलीले समयमा नै किसानहरुलाई रासायनीक मल उपलब्ध नगराउँदा किसानहरु अर्काे मारमा परेका छन् ।मानो रोपेर मुरी फलाउँने समयमा पनि सिन्धुलीका किसानहरु रासायनीक मलको अभावमा छन् ।कृषि सामाग्री कम्पनी लि.सिन्धुलीलाई जम्मा आठ हजार आठ सय बोरा युरिया प्राप्त भएको भएपनि खेती हुने भूगोल अनुसार उक्त मल चल्लालाई चारो छरे बराबर हुने स्थानीय किसानहरु बताउँछन् ।