कमलामाई मिडिया प्रा.लि. ७ औं वर्षमा प्रवेश

122 Shares

अन्याय,अत्याचार,भ्रष्ट्राचार,घुसपेठ,कालोबजारी,विकृति,विसंगतिका विरुद्ध तथा सत्य,तथ्य र निश्पक्ष सामाचार दुर दराजमा पुर्याउन  र जनताको आवाज सशक्त रूपमा प्रस्तुत गर्ने जिम्मेवारी सञ्चार माध्यमको हो।लोकतन्त्रको आधारस्तम्भका रूपमा सञ्चार क्षेत्रले नागरिकलाई सु–सूचित मात्र बनाउँदैन,राज्यका निकायलाई जवाफदेही बनाउन पनि महत्वपूर्ण भूमिका खेल्छ।यही जिम्मेवारीलाई आत्मसात् गर्दै स्थापना भएको कमलामाई मिडिया प्रा.लि.आज सफलतापूर्वक आफ्नो ६ वर्ष पार गरी ७ औँ वर्षमा प्रवेश गरेको अवसर गौरवको विषय हो।
सात वर्ष कुनै पनि सञ्चार संस्थाका लागि सामान्य समय होइन। सीमित स्रोत(साधन,आर्थिक चुनौती,विज्ञापन बजारको असन्तुलन, बढ्दो डिजिटल प्रतिस्पर्धा तथा सामाजिक सञ्जालमा फैलिने अपुष्ट सूचना बीच आफ्नो विश्वसनीयता कायम राख्दै निरन्तर अघि बढ्नु आफैँमा उपलब्धि हो।यस अवधिमा कमलामाई मिडिया प्रा.लि.ले समाचारलाई केवल व्यवसायको माध्यम होइन,सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अगाडि बढाउने प्रयास गरेको छ।
पत्रकारिता भनेको सत्ता वा कुनै समूहको पक्षमा उभिने माध्यम होइन।यसको धर्म सत्य,तथ्य र जनहितको पक्षमा दृढतापूर्वक उभिनु हो।स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्म भएका सकारात्मक कामलाई प्रोत्साहन गर्ने र कमजोरीलाई तथ्यका आधारमा उजागर गर्ने दायित्व सञ्चार माध्यमको हुन्छ।कमलामाई मिडिया प्रा.लि.ले विगतका वर्षहरूमा स्थानीय मुद्दा,विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, वातावरण,सामाजिक न्याय तथा नागरिकका समस्यामा र अन्याय, अत्याचार, भ्रष्ट्राचार, घुसपेठ, कालोबजारी, विकृति,विसंगतिका विरुद्ध तथा सत्य,तथ्य र निश्पक्ष सामाचारलाई प्राथमिकताका साथ उठाउने प्रयास गरेको छ।
आज सञ्चार क्षेत्र तीव्र परिवर्तनको चरणमा छ। सूचना प्रविधिको विकाससँगै समाचार उत्पादन र प्रसारणको शैली परिवर्तन भएको छ।तर प्रविधि जति विकसित भए पनि सत्य,विश्वसनीयता र पत्रकारिताको नैतिकता कहिल्यै पुराना हुँदैनन्।समाचार प्रकाशित गर्नुभन्दा पहिले तथ्यको पुष्टि गर्ने,सबै पक्षको धारणा समेट्ने र जनविश्वासलाई सर्वोच्च प्राथमिकता दिने अभ्यास नै असल पत्रकारिताको पहिचान हो।यही मूल्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्नु आजको आवश्यकता हो।
कमलामाई मिडिया प्रा.लि.को यात्रामा पाठक, दर्शक, स्रोत, विज्ञापनदाता, शुभेच्छुक तथा सम्पूर्ण सहकर्मीहरूको साथ र विश्वास नै सबैभन्दा ठूलो पूँजी बनेको छ।उहाँहरूको निरन्तर सहयोग बिना यो यात्रा सम्भव हुने थिएन।यस अवसरमा सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु संस्थाको दायित्व पनि हो।
सातौँ वर्षमा प्रवेशसँगै संस्थाको जिम्मेवारी अझ बढेको छ। अब समाचार मात्र होइन,अनुसन्धानमूलक पत्रकारिता,तथ्यमा आधारित विश्लेषण,डिजिटल प्रविधिको प्रभावकारी प्रयोग,युवा पत्रकारको क्षमता विकास तथा स्थानीय मुद्दालाई राष्ट्रिय बहसको विषय बनाउने दिशामा थप सक्रिय हुन आवश्यक छ।समाज परिवर्तनमा सकारात्मक योगदान दिने पत्रकारिता नै दीर्घकालसम्म सम्मानित र विश्वसनीय रहन्छ।भन्ने हाम्रो ठहर छ ।पत्रकारिता अनेक चुनौतीले घेरिएको क्षेत्र हो।समाचारका कारण दबाब,धम्की,आर्थिक अभाव वा विभिन्न प्रकारका प्रलोभनहरू आउन सक्छन्।तर यस्ता परिस्थितिमा पनि सत्य र जनहितको मार्गबाट विचलित नहुने अठोट नै पत्रकारिताको वास्तविक शक्ति हो। विश्वसनीय सञ्चार माध्यम बन्न निरन्तर आत्मसमीक्षा,व्यावसायिक दक्षता र नैतिक आचरण अपरिहार्य हुन्छ।
७ औँ वर्षमा प्रवेश गरेको यस शुभ अवसरमा कमलामाई मिडिया प्रा.लि.ले आफ्नो विगतका उपलब्धिबाट प्रेरणा लिँदै आगामी दिनमा अझ जिम्मेवार,निष्पक्ष,विश्वसनीय र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध रहने संकल्प गर्दछ।समाजको विकास, सुशासन, पारदर्शिता,सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणमा सञ्चार माध्यमको भूमिका सधैँ अग्रस्थानमा रहने छ ।
कमलामाई मिडिया प्रा.लि.को यो सातौँ वर्ष केवल वार्षिकोत्सवको उत्सव होइन,आत्ममूल्याङ्कन,नयाँ सोच,नयाँ ऊर्जा र अझ प्रभावकारी सेवाको सुरुवात पनि हो।आगामी दिनमा अन्याय,अत्याचार,भ्रष्ट्राचार,घुसपेठ,कालोबजारी,विकृति,विसंगतिका विरुद्ध तथा सत्य,तथ्य,निश्पक्ष सामाचार  र जनविश्वासलाई सर्वोच्च प्राथमिकतामा राख्दै संस्थाले अझ उचाइ हासिल गर्नै छ ।समाजको भरोसाको सञ्चार माध्यमका रूपमा आफ्नो पहिचान अझ सुदृढ बनाउने छ र जनताको आवाजलाई अझ सशक्त रूपमा बुलन्द गर्नेछ। ७ औँ वर्ष प्रवेश गर्दा सम्म शुभेच्छा र माया गर्नु हुने सबैप्रति हार्दिक नमन ।

सम्बन्धित समाचार