जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा असारमा १३० वटा उजुरी र ४१ वटा अपराधका मुद्धा दर्ता भएको छ।असारमा सुरक्षा,अपराध अनुसन्धान तथा सेवा प्रवाहसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गर्दै जिल्लामा असारमा ४१ वटा अपराधका मुद्धा दर्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार असारमा दर्ता भएका ४१ वटा अपराधका मुद्धा मध्ये २० वटा मुद्धा फछ्र्योट भएका छन् भने २१ वटा मुद्धा अनुसन्धानकै क्रममा रहेका छन्।दर्ता भएका मुद्धाहरुमा झुण्डी आत्महत्या,लागूऔषध,सवारी ज्यान,ज्यानसम्बन्धी कसुर तथा भवितव्य ज्यान,बैंकिङ कसुर,अभद्र व्यवहार तथा बहुविवाह,महिला बालबालिका तथा जेष्ठ नागरिक,सवारी अंगभंग,विष सेवन गरी आत्महत्या उद्योगका मुद्धाहरु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अपराधमा संलग्न वा प्रभावित ४१ जना रहेका छन् ।विशेषत ४६ देखि ५९ वर्ष समुहका बढी रहेका पाइएको छ ।
घरेलु हिंसासम्बन्धी १३ वटा उजुरी परेका मध्ये सात वटा शारीरिक र छ वटा मानसिक हिंसा सम्बन्धी रहेका छन्।तीमध्ये १२ वटा मिलापत्रबाट टुंग्याइएको छ भने एउटा अदालत पठाइएको प्रहरीको विवरणमा उल्लेख छ।स्थानीय तहगत रूपमा कमलामाई नगरपालिकाबाट आठ,मरिण गाउँपालिकाबाट तीन, तिनपाटन गाउँपालिकाबाट एक तथा अन्य क्षेत्रबाट एक उजुरी परेको छ।जिल्ला प्रशासन कार्यालय मार्फत आएका १२ उजुरीमध्ये १० फछ्र्योट भएका सिन्धुली प्रहरीले जनाएको छ ।
असारमा लागूऔषध सम्बन्धी आठ मुद्दामा नौ जनालाई कानुनी कारबाही गरिएको छ । प्रहरीले एक सय ११ दशमलव ८२ ग्राम खैरो हेरोइन र ६८ वटा ट्याब्लेट बरामद गरेको जनाएको छ ।असारमा १६ वटा सवारी दुर्घटना हुँदा २२ वटा सवारीसाधन संलग्न रहेका छन् । दुर्घटनामा चार जनाको मृत्यु,२२ जना घाइते भएका छन् भने २६ जनाको उद्धार गरिएको छ ।
सवारी चेकजाँचका क्रममा एक हजार दुई सय २८ वटा कारबाही गरी रु १२ लाख ५६ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।साथै एक नाल भरुवा बन्दुक बरामद गरिएको,घरेलु मदिरा नष्ट गरिएको तथा लागू पदार्थसम्बन्धी कारबाही कानुनबमोजिम गरिएको प्रहरीले जनाएको छ ।
बाढी,पहिरो तथा अन्य विपद्का घटनामा उद्धार र राहतका लागि प्रहरी परिचालन गरिएको, विद्यालयस्थानीय तह र समुदायसँगको सहकार्यमा ट्राफिक सचेतना,लागूऔषध दुव्र्यसन नियन्त्रण, साइबर अपराध तथा बालविवाह नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिंहले जानकारी दिए ।
उनका अनुसार मातहत कार्यालयहरूको निरीक्षण,फरार प्रतिवादी पक्राउ अभियान,खोजतलास तथा गस्ती सुदृढीकरण,सार्वजनिक सुनुवाइ,अन्तरक्रिया र नागरिकमैत्री सेवा प्रवाहलाई पनि प्राथमिकतामा राखिएकोे छ । आगामी दिनमा शान्ति सुरक्षा,अपराध नियन्त्रण,समुदाय–प्रहरी साझेदारी,फरार प्रतिवादी पक्राउ, सेवा प्रवाह र मातहत कार्यालयको अनुगमनलाई अझ प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।