रासायनिक मल नपाएको झोकमा किसानले गरे वडा कार्यालयमा तालाबन्दी

216 Shares

सर्लाहीको लालबन्दी नगरपालिका–१७ का वडाअध्यक्षको कार्यकक्षमा स्थानीयले तालाबन्दी गरेका छन्।धान रोपाइँको मुख्य समयमा आवश्यक रासायनिक मल उपलब्ध नभएको भन्दै आक्रोशित किसानहरूले लालबन्दी नगरपालिका–१७ का वडाअध्यक्ष विष्णुहरी अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। लामो समयदेखि मलको अभाव झेल्दै आएका किसानहरूले पटक–पटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि समस्या समाधान नभएको आरोप लगाउँदै विरोधस्वरूप वडा कार्यालयमा तालाबन्दी गरेको जनाएका छन् ।
५०÷५५ जना स्थानीय किसानहरू वडा कार्यालय परिसरमा भेला भई नाराबाजी गर्दै मलको तत्काल व्यवस्था गर्न माग गर्दै तालाबन्दी गरेपछि वडा कार्यलयबाट प्रवाह हुने सेवा प्रभावित भएको वडाअध्यक्ष अधिकारीले बताए।उनका अनुसार वडाभित्र चार वटा मलका डिलर रहेका र ती डिलरहरुमा कृषि सामाग्री कम्पनीले उपलब्ध गराएको रासायनिक मल वितरण भई रहेको भएपनि वडाको माग र आवश्यकता अनुसार मल नरहेका कारण समस्या सृजना भएको हो ।
तर किसानहरुले सरकारले प्रत्येक वर्ष खेती गर्ने समयमा मल अभाव हुने समस्या दोहोरिँदा पनि प्रभावकारी समाधान गर्न नसकेको गुनासो गरेका छन्।धान रोप्ने समय बित्दै जाँदा खेत बाँझै रहने अवस्था आएको र उत्पादनमा प्रत्यक्ष असर पर्ने भन्दै किसानहरू आक्रोशित बनेका हुन्।
प्रदर्शनमा सहभागी किसानहरूले सहकारी र कृषि सामाग्री कम्पनी लिमिटेडबाट मागभन्दा निकै कम मल आउने,कतिपय किसानले पालो नै नपाउने तथा बजारमा कालोबजारीसमेत हुने गरेको आरोप लगाएका छन्।उनीहरूले सरकारले किसानहरुको समस्या बुझ्न नसकेको भन्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन माग गरेका छन्।
तालाबन्दीपछि वडा कार्यालयको दैनिक प्रशासनिक कामकाज प्रभावित भएको छ।किसानहरूले सम्बन्धित निकायबाट स्पष्ट प्रतिबद्धता नआएसम्म तालाबन्दी जारी रहने चेतावनी दिएका छन्। उनीहरूले खेतीपातीको समयमा मल नपाउँदा वर्षभरिको मेहनत खेर जाने भएकाले सरकार गम्भीर बन्नुपर्ने बताए।
वडा अध्यक्ष अधिकारीले किसानको माग जायज रहेको स्वीकार गर्दै आफूले सम्बन्धित कृषि सामाग्री कम्पनी लि.,स्थानीय प्रशासन तथा रासायनिक मल वितरकहरुसँग समन्वय गरी मल उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए।किसानहरुको समस्या समाधानका लागि माथिल्लो निकायमा लिखित तथा मौखिक रूपमा जानकारी गराइसकिएको र यथाशीघ्र मल आपूर्ति गराउने प्रयास भइरहेको उनको भनाइ छ।यता,जिल्ला मै मागेको भन्दा कम मल उपलब्ध हुनु तथा प्रदेश सरकारबाटै कोटा निर्धारण भएर आउनु पनि समस्या रहेको कृषि सामाग्री कम्पनी लि.ले बताएको छ ।पर्याप्त मल उपलब्ध हुनेबित्तिकै प्राथमिकताका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ।
समयमा मल नपाउँदा उत्पादन घट्ने,लागत बढ्ने र किसान आर्थिक रूपमा थप मारमा पर्ने भएकाले सरकारले दीर्घकालीन समाधान खोज्नुपर्ने किसान अगुवाहरुले बताएका छन् ।किसानहरूले तत्काल पर्याप्त मात्रामा रासायनिक मल उपलब्ध गराई सहज वितरणको व्यवस्था गर्न तथा कालोबजारी नियन्त्रणमा कडा कदम चाल्न सरकारसँग माग गरेका छन्। 

सम्बन्धित समाचार