१११९ वटा मुद्दाको फैसला,एक वर्षमै चार सय ३८ सम्बन्ध विच्छेदका मुद्दा दर्ता

125 Shares

आर्थिक वर्ष २०८२/०८३ मा सिन्धुलीमा सम्बन्ध विच्छेदका मुद्दामा बृद्धि भएको छ ।आर्थिक वर्ष २०८२/०८३ मा सम्बन्ध विच्छेदका चार सय ३८ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत सिन्धुलीका सेस्तेदार चित्रखर अधिकारीले जानकारी दए ।उनका अनुसार गत वर्षहरूको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा निरन्तर बढिरहेका छन् । दैनिक औसत तीनवटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने गरेको र अधिकांश मुद्दामा महिलाहरू नै वादी हुने गरेका छन्।वैदेशिक रोजगारीमा गएका श्रीमानले परिवारलाई बेवास्ता गर्ने, नियमित खर्च नपठाउने तथा लामो समय सम्पर्क विहीन रहने जस्ता कारणले सम्बन्ध विच्छेदका मुद्दा बढेको सेस्तेदार अधिकारीले बताए ।
आर्थिक वर्ष २०८२/०८३ मा लागूऔषध सम्बन्धी ५८,जबरजस्ती करणी सम्बन्धी ३२ तथा ज्यान सम्बन्धी कसुरका २२ वटा मुद्दा दर्ता भएका र यसबाहेक अंश,लिखत बदर,गालीगलौज, कुटपिट लगायतका मुद्दासमेत अदालतमा परेका जिल्ला अदालत सिन्धुली स्रोतले जनाएको छ । लागूऔषध सम्बन्धी मुद्दामा विशेषगरी युवाको संलग्नता बढी देखिएको सेस्तेदार अधिकारीको भनाइ छ ।
जेनजी आन्दोलनका क्रममा केही प्रमाणहरू जलेर नष्ट भएकाले पुनःप्राप्ति गर्नुपर्ने अवस्था सिर्जना हुँदा केही मुद्दाको कारबाहीमा ढिलाइ भएता पनि सबै पक्षको सहयोगका कारण जिल्ला अदालत सिन्धुलीले दुई बर्ष पुगेका मुद्दाको संख्या शून्यमा झार्न सफल भएको छ ।आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरी आएका छ सय ५९ मुद्दामध्ये हाल एक सय १५ वटा मुद्दा बाँकी अदालत स्रोतले जनाएको छ ।२०८३ साउन १ गतेसम्म १८ महिना पुगेका १९ वटा मुद्दा रहेको र आगामी पुस मसान्तसम्म १८ महिना पुग्ने मुद्दाको संख्या एक सय १५ पुग्ने अदालतका सेस्तेदार अधिकारीले बताए ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ बाट जिम्मेवारी सरी आएका छ सय ५९ तथा आर्थिक वर्ष २०८२/०८३ असार ३२ गतेसम्ममा दर्ता भएका नौ सय ७७ गरी कुल एक हजार छ सय ३६ मुद्दामध्ये २०८३ असार ३० गतेसम्म एक हजार एक सय १९ वटा मुद्दाको फैसला भएको छ । आर्थिक वर्ष २०८२/०८३  बाट पाँच सय १७ मुद्दा जिम्मेवारी सरेका छन्।अदालतले आर्थिक वर्ष २०८२/०८३ मा एक हजार दुई सय ७८ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेकोमा लक्ष्य अनुसार ८७ दशमलव ५५ प्रतिशत मुद्दा फर्छौट गर्न सफल भएको अदालत स्रोतले जनाएको छ ।
त्यसैगरी,आर्थिक वर्ष २०८२/०८३ को अवधिमा घरेलु हिंसासम्बन्धी एक सय १७ वटा उजुरी परेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कार्यालयको तथ्यांक अनुसार तीमध्ये एक सय दुई वटा उजुरी मिलापत्र मार्फत टुंग्याइएको छ भने १५ वटा अदालतमा पठाइएको छ ।
जिल्लाका नौवटा स्थानीय  तहहरुमध्ये सबैभन्दा धेरै कमलामाई नगरपालिकाबाट ७२ वटा र सवैभन्दा कम सुनकोसी र घ्याङ्लेख गाउँपालिकाबाट एक–एक वटा घरेलु हिंसाका उजुरी परेका छन्।दुधौली नगरपालिकाबाट १७ वटा,मरिण गाउँपालिकाबाट १० वटा,तीनपाटन गाउँपालिका र गोलन्जोर गाउँपालिकाबाट छ÷छ वटा तथा हरिहरपुरगढी गाउँपालिकाबाट तीन वटा उजुरी परेका छन् ।

सम्बन्धित समाचार