सर्लाहीको धनकौल गाउँपालिका–१ शेखौनाका एक युवालाई प्रहरीले आफ्नै श्रीमतीको हत्या प्रयास गरेको आरोपमा पक्राउ गरेको छ।बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा अन्दाजी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या गर्ने प्रयास गरेको आरोपमा धनकौल गाउँपालिका–१ शेखौनाका अन्दाजी २१ वर्षीय बसन्ता बैठा धोबीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार घटनाका क्रममा बहिनी नाता पर्ने अन्दाजी १० वर्षीया कुसुम कुमारीले उक्त दृश्य देखेपछि तत्काल परिवारका सदस्यलाई जानकारी गराएकी र त्यसपछि आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए।घटनापछि प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइते चिन्ता देवीलाई उपचारका लागि बागमती मोडेल अस्पताल, कर्मैया पु¥याएको थियो।त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगंज पठाईएको प्रहरीले जनाएको छ ।
तत्कालै आरोपित बैठालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।उनका अनुसार श्रीमतीमाथि कुटपिट गरी साडीको पासो लगाएर हत्या प्रयास गरेको सूचना प्राप्त भएपछि प्रहरीले तत्काल उद्धार तथा पक्राउको प्रक्रिया अघि बढाएको हो ।घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।