नेपाल–भारत सीमामा पटक–पटक किन भइरहन्छ विवाद ? समाधान खोज्ने को ?

557 Shares

नेपाल र भारतबीचको सम्बन्ध दक्षिण एशियाकै सबैभन्दा विशिष्ट सम्बन्ध मध्ये एक हो।करिब हजार ३२ किलोमिटर खुला सीमा, शताब्दीयौँ देखि कायम सांस्कृतिक, धार्मिक, पारिवारिक तथा आर्थिक सम्बन्धले यी दुई देशलाई एक अर्कासँग गहिरो रूपमा जोडेको छ।तर विडम्बना के छ भने,यति निकट सम्बन्ध भएका दुई देशबीच सीमा विवाद भने कहिल्यै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। बेला बेलामा सीमा स्तम्भको स्थान, नदीको बहाव परिवर्तन,एकपक्षीय बाँध निर्माण,सुरक्षा निकाय बीचको तनाव तथा स्थानीय बासिन्दाको आवत जावत सम्बन्धी समस्या सतह मै आउने गरेका छन्।
विश्वमा जनसंख्या धेरै भएको देश र ठूलो देशको रुपमा पहिचान बनाएको देश भारतले  छिमेकी सँगको सीमारेखा स्पष्ट बनाउन भने अझै सफल हुन सकेको छैन। यस्तो अवस्थामा प्रश्न उठ्छ।
के समस्या समाधान गर्न चाहेको हो कि समस्या जीवित राखेर समय–समयमा राजनीतिक लाभ उठाउन खोजिएको हो ?
नेपालले बारम्बार कूटनीतिक संवादको आवश्यकता औँल्याउँदै आएको छ।तर कतिपय अवस्थामा सीमामा एकपक्षीय गतिविधि, सडक,बाँध,तटबन्ध वा अन्य संरचना निर्माणका घटनाले नेपाली नागरिकमा असन्तोष बढाएको छ। असल छिमेकी सम्बन्ध बराबरीको सम्मानमा टिक्छ, शक्ति प्रदर्शनमा होइन।
सीमा विवादको ऐतिहासिक पृष्ठभूमि
नेपाल–भारत सीमा निर्धारणको मुख्य आधार सन् १८१६ मार्च ४ को सुगौली सन्धि हो।उक्त सन्धि अनुसार काली नदीलाई पश्चिमी सीमाको आधार मानिएको थियो।तर काली नदीको वास्तविक मुहानबारे फरक–फरक व्याख्या हुँदै आएकाले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र दशकौँदेखि विवादित बनेका छन्।
पूर्वतर्फ मेची नदी र दक्षिणतर्फ विभिन्न नदीको धार परिवर्तन,सीमा स्तम्भ हराउने वा क्षति पुग्ने तथा खेतीयोग्य जमिनमा अस्पष्टता देखिनुले स्थानीय स्तरमा पनि विवाद दोहोरिने गरेको छ।नदीको प्राकृतिक बहाव परिवर्तन हुँदा सीमा व्यवस्थापन अझ जटिल बन्दै गएको छ।  भारतले नेपाल भारत सीमा क्षेत्रमा शैनिक मार्गको नाममा सडक बनाई त्यसैलाई बाँध बनाउने सीमा क्षेत्र भित्र नै संरचना बनाउने तथा शैनिक परिचालन गर्ने लगायतका काम भारतले गर्दै आएको छ ।अनाधिकृत रुपमा दशगजा क्षेत्र भित्रै भारतिय सुरक्षाकर्मीहरुले संरचना नै बनाएर अतिक्रमण गरि रहेका छन् ।
अन्तर्राष्ट्रिय कानुनले के भन्छ ?
विश्वका सार्वभौम राष्ट्रबीच सीमा निर्धारण र सम्मानका सम्बन्धमा अन्तर्राष्ट्रिय कानुनका केही आधारभूत सिद्धान्तहरू छन्।संयुक्त राष्ट्रसंघको बडापत्रले प्रत्येक राष्टूको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्ने सिद्धान्तलाई प्राथमिकता दिएको छ।अन्तर्राष्ट्रिय कानुनको मूल मान्यता अनुसार कुनै पनि सीमासम्बन्धी विवाद वार्ता,तथ्य,नक्सा, ऐतिहासिक अभिलेख र आपसी सहमतिबाट समाधान गर्नुपर्छ।अन्तर्राष्टिूय न्यायालय वा मध्यस्थताको बाटो पनि आवश्यक परे प्रयोग गर्न सकिने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ।कुनै पनि पक्षले एकपक्षीय रूपमा यथास्थिति परिवर्तन गर्ने प्रयास गर्नु विवादलाई झन् जटिल बनाउने कार्य मानिन्छ।यस अर्थमा सीमा विवादको समाधान बन्दुकले होइन, प्रमाण, संवाद र कूटनीतिले खोज्नुपर्छ।
किन दोहोरिन्छ विवाद ?
सीमा विवाद दोहोरिनुका पछाडि धेरै कारण छन्।पहिलो,सीमाका धेरै स्तम्भ समयमै मर्मत नहुनु।कतिपय स्तम्भ हराएका छन् भने कतिपय क्षतिग्रस्त भएका छन्।दोस्रो,नदीको धार परिवर्तन।नदीले आफ्नो मार्ग बदल्दा सीमारेखा निर्धारणमा अन्योल सिर्जना हुन्छ।तेस्रो,स्थानीय तहमा समन्वयको अभाव।सीमावर्ती प्रशासन र सुरक्षा निकायबीच तत्काल संवाद नहुँदा सामान्य विषय पनि तनावमा परिणत हुने गरेको छ।चौथो,राजनीतिक इच्छाशक्तिको अभाव।नेपाल र भारत दुवैतर्फ उच्चस्तरीय संयन्त्र भए पनि बैठक नियमित हुन सकेका छैनन्।पाँचौँ,सीमा क्षेत्रलाई विकास भन्दा सुरक्षा र राजनीतिका चस्माबाट मात्र हेर्ने प्रवृत्ति।
सीमावर्ती नागरिकको पीडा
सीमा विवादको सबैभन्दा ठूलो असर सीमामा बस्ने नागरिकले भोगिरहेका छन्।उनीहरूलाई कहिले खेत जोत्न समस्या हुन्छ,कहिले आवत जावतमा रोक लाग्छ।कतिपय स्थानमा विद्यालय, स्वास्थ्य सेवा र बजारसम्म पुग्न पनि प्रशासनिक जटिलता देखिन्छ।नेपालका किसानले आफ्नो जमिनमा खेती गर्न डराउनु पर्ने अवस्था आउनु कुनै पनि सार्वभौम राष्टूका लागि गौरवको विषय हुन सक्दैन।
खुला सीमाका चुनौती
नेपाल–भारत खुला सीमाले दुवै देशलाई आर्थिक र सामाजिक रूपमा धेरै फाइदा दिएको छ। तर यससँगै केही चुनौती पनि छन्। जस्तै,अवैध तस्करी,मानव बेचबिखन,लागूऔषध ओसार पसार,नक्कली मुद्रा कारोबार, वन्यजन्तु तथा प्राकृतिक स्रोतको अवैध निकासी,आपराधिक समूहको सीमा प्रयोग,यी चुनौती समाधान गर्न दुवै देशका सुरक्षा निकायबीच विश्वास र सूचना आदान प्रदान अझ प्रभावकारी हुन आवश्यक छ।
भारतप्रति केही प्रश्न
भारत विश्वकै ठूलो लोकतन्त्रिक मुलुक भएको दाबी गर्छ।यदि त्यसो हो भने छिमेकी राष्टूको सार्वभौमिकताको सम्मान पनि त्यत्तिकै गम्भीरताका साथ गर्नुपर्ने होइन र ?भारतले “पडोसी पहले” “रोटी बेटीका सम्बन्ध”“नेपाल छोटा भाई”को नारा त दिन्छ,तर कहिलेकाहीँ व्यवहार भने“पहिले सीमा,पछि मित्रता”जस्तो देखिन्छ। मित्रताको मापन सडक,रेल र व्यापारले मात्र हुँदैन।छिमेकीको आत्म सम्मानको सम्मानले पनि हुन्छ।
 यदि कुनै विवाद छ भने त्यसलाई संयुक्त प्राविधिक टोलीमार्फत समाधान गर्न सकिन्छ।तर यथास्थिति परिवर्तन गर्ने कुनै पनि गतिविधिले विश्वासको पुल कमजोर बनाउँछ।
नेपालको कमजोरी पनि कम छैन 
सीमा विवादमा दोष केवल भारतलाई दिएर नेपाल उम्किन सक्दैन।नेपालमा सरकार परिवर्तनसँगै राष्ट्रिय एजेन्डा पनि फेरिन्छ।सीमा व्यवस्थापन दीर्घकालीन नीति बन्न सकेको छैन।सीमावर्ती क्षेत्रमा प्रशासनिक उपस्थिति कमजोर छ।सीमा स्तम्भको संरक्षणमा पर्याप्त बजेट र जनशक्ति परिचालन हुन सकेको छैन।कतिपय अवस्थामा राजनीतिक दलहरू राष्ट्रिय मुद्दामा पनि विभाजित देखिन्छन्।यस्तो अवस्थामा छिमेकीसँग प्रभावकारी रूपमा वार्ता गर्ने क्षमता स्वतः कमजोर हुन्छ।
समाधानका सम्भावित उपाय
सीमा विवाद अन्त्य गर्न दुवै देशले केही ठोस कदम चाल्न आवश्यक छ।सीमा स्तम्भहरूको संयुक्त रूपमा डिजिटल अभिलेखीकरण र नियमित मर्मत।विवादित क्षेत्रको संयुक्त प्राविधिक अध्ययन। उच्चस्तरीय सीमा आयोगलाई नियमित रूपमा सक्रिय बनाउने। सीमावर्ती स्थानीय सरकारबीच प्रत्यक्ष समन्वय संयन्त्र विकास गर्ने। सीमामा हुने साना विवाद तत्काल समाधान गर्ने संयुक्त संयन्त्र स्थापना गर्ने।ऐतिहासिक नक्सा, अभिलेख र वैज्ञानिक तथ्यका आधारमा सीमा स्पष्ट गर्ने।सीमावर्ती क्षेत्रमा शिक्षा,स्वास्थ्य,सडक र रोजगारीका कार्यक्रम बढाउने। कूटनीतिक वार्तालाई निरन्तरता दिने र सार्वजनिक रूपमा प्रगति विवरण सार्वजनिक गर्ने।
अन्तत  :  नेपाल र भारत शत्रु होइनन्।उनीहरू इतिहासले जोडिएका दुई छिमेकी हुन्।त्यसैले सीमा विवादलाई राष्टिूय अहंकारको विषय होइन,साझा जिम्मेवारीका रूपमा लिनुपर्छ।भारतले आफ्नो क्षेत्रीय नेतृत्वको दाबीलाई व्यवहारबाट प्रमाणित गर्नुपर्छ। नेतृत्व भनेको शक्ति देखाउनु मात्र होइन,विश्वास जित्नु पनि हो। नेपालले पनि भावनात्मक प्रतिक्रिया भन्दा प्रमाण,कूटनीति र राष्ट्रिय एकतामा आधारित नीति अपनाउनुपर्छ।
सीमा विवाद समाधान हुन नसक्नु दुवै देशका लागि असफलता हो। यसको मूल्य सीमावर्ती नागरिकले तिर्नु अन्याय हो।यदि राजनीतिक इच्छाशक्ति,अन्तर्राष्ट्रिय कानुनको सम्मान, पारस्परिक विश्वास र नियमित संवादलाई प्राथमिकता दिइयो भने नेपाल–भारत सीमा सहयोग र मित्रताको प्रतीक बन्न सक्छ।

सम्बन्धित समाचार