मध्य पाहाडी राजमार्ग अन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा बसले कारलाई ठक्कर दिँदा तीन जनाको ज्यान गएको छ ।सोमबार बिहान करिब पौने १२ बजे काठमाडौंबाट ओखलढुङ्गार्फ जाँदै गरेको बा.प्र.०८००१ ख ०१४४ नम्बरको बसले प्र ३–०१–२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिँदा कार सुनकोसी नदीमा खस्दा तीनजना वेपक्ता भएका थिए ।बसको ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेर वेपक्ता भएका तीनै जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार कारका चालक सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का अन्दाजी ३९ वर्षीय दिलकुमार लामा,गोलन्जोर गाउँपालिका–१ का गणेश थापा र तीनपाटन गाउँपालिका–९ डाडाँखर्क का अन्दाजी १७ बर्षीय सुजन बलमपाकी मगर रहेका छन्।पहिचान खुलेको भएपनि वेपत्ता भएका व्यक्तिहरु फेला नपरेका कारण खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।कारलाई ठक्कर दिने बस र बसका चालक फिक्कल गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै,फिक्कल गाउँपालिका–२,नवलपुरस्थित सुनकोसी नदीमा कारसहित बेपत्ता भएपछि पीडित परिवार,आफन्त र स्थानीयवासीले खोजी कार्य थप प्रभावकारी बनाउन,पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दुर्घटनाका जिम्मेवारमाथि कानुनी कारबाहीको माग गर्दै मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड अवरुद्ध गरेका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखोर टोली,नेपाल प्रहरी तथा स्थानीयवासीको सहभागितामा मंगलबार पनि सुनकोसी नदीमा व्यापक खोजी अभियान सञ्चालन भइरहेको छ ।
घटनापछि आक्रोशित स्थानीयवासी र पीडितका आफन्तले गोलन्जोर र फिक्कल गाउँपालिकाको सिमानास्थित वाक्सुखोलामा टायर बालेर चक्काजाम गरेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खुर्कोट–घुर्मी सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।सडक किनारमा रोकिएको कारलाई बस चालकको लापरबाहीका कारण पछाडिबाट ठक्कर दिइएकाले दुर्घटना भएको गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष सोमप्रसाद बराल(शंकर)ले बताए ।प्रहरीले बस चालक र बसलाई सोमबार नै नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।